काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को लगानीमा चितवनको जुगेडीमा ओम मेगाश्री फर्मास्युटिकल्स औषधि उद्योग सञ्चालनमा आएको छ । सवा एक अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको उद्योगको काठमाडौंमा एक कार्यक्रमबीच प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले औपचारिक शुभारम्भ गर्नुभएको थियो । औषधि व्यवस्था विभागबाट ५३ थरी औषधि उत्पादनको अनुमति पाएको यो उद्योगले २७ थरी उत्पादन बजारमा ल्याएर औपचारिक रूपमा उद्योग सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।
नेपालमा युरोपियन मापदण्डका औषधि उत्पादन गर्ने उद्देश्यले ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्ने उद्देश्य पनि रहेको बताउनुभयो । उद्योग २०७५ मा स्थापना भए पनि कोरोनाका कारण संरचना निर्माण समयमै सम्पन्न हुन सकेको थिएन ।
उद्योगका कार्यकारी निर्देशक नेत्रलाल पौडेलले नेपाल अझै पनि औषधि उत्पादनमा आत्मनिर्भर भइनसकेको बताउनुभयो । अहिले नेपालको औषधि क्षेत्रमा ४७ प्रतिशत अंश मात्रै नेपाली उत्पादनको रहेको भन्दै उहाँले भन्नुभयो, ‘आयातित औषधिको अंश ठूलो रहेको अवस्थामा व्यापारघाटा बढाउन यसको योगदान छ । व्यापारघाटा कम गरेर निकट भविष्यमै निर्यात पनि गर्ने योजना उद्योगको छ ।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको भन्दै ओम मेगाश्री फर्मास्युटिकल्सलाई शुभकामना दिनुभएको थियो । उद्योगले सर्वसाधारणमा सेयरसमेत बिक्री गर्ने तयारी गरेको जानकारी दिएको छ । सेयर बिक्रीका लागि कम्पनीले बिक्री प्रबन्धकसँग सम्झौता गरिसकेको छ । चितवनको जुगेडीमा कारखाना रहेको यो उद्योगमा एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठसहित मेडिकल क्षेत्रका विशेषज्ञ व्यवसायीहरूको लगानी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच