प्रतिनिधि सभा बैठक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल लगायतका प्रतिपक्ष दलहरुले प्रतिनिधि सभा बैठक अवरोध गरेका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा सांसदहरुले आ-आफ्नो कुरा राख्दै गर्दा आपत्ति जनाउँदै प्रतिपक्ष दलहरुले प्रतिनिधि सभा बैठक अवरोध गरेका हुन् । आकस्मिक समयमा बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीवार विधेयक प्रश्तुत गर्ने क्रममा प्रतिपक्षी दलहरुले गणपूरक संख्या नपुगोस् भनेर सांसद निकालेको आरोप लगाएसँगै एमालेले आपत्ति जनाएको थियो । सांसद केसीले विधेयक पारित गर्ने जिम्मा सत्तापक्षको मात्रै हो भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभएको थियो - ‘हिजो राजनीतक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा प्रतिपक्षको अनौठो, अचम्मको नाटक मञ्चन देखियो कि ठ्याक्क गणपूरक संख्या पुग्छ कि भनेर १०/१५ जना सांसदहरु बाहिर जानुभयो । अत्यन्त दुःखका साथ म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, यो केवल सत्तापक्षको मात्रै विधेयक पास गर्ने हो कि अथवा प्रतिपक्षको मात्रै हो सभामुख महोदय ? एक वर्षमा एउटा मात्र विधेयक पेश गर्‍यो भनेर आज सर्वत्र आचोलना छ ।’

सांसद केसीको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) लगायतका प्रतिपक्षी दलहरुले उठेर बिरोध जनाएका थिए । लगत्तै सभामुख देवराज घिमिरेले सांसद केसीलाई बोल्न रोक्दै प्रतिपक्षका कुनै सांसद बोल्नुस् भनेसँगै सभामुखको निर्देशनको बिरोध गर्दै सत्तापक्षिय सांसदहरु पनि उठेका थिए । लगत्तै सभामुखले पुन सांसद केसीलाई बोल्न दिनुभयो । तत्पश्चात बोल्दै सांसद केसीले प्रतिपक्षले जानीजानी विधेयकलाई असफल पार्ने प्रयत्न गरेको बताउनु भयो ।

त्यसपछि बोल्न समय पाएका नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले आफूहरुले संसद रोक्न र प्रभावित पार्न नचाहेको बताउनु भयो । उहाँले सत्तापक्षले प्रतिपक्षीलाई हिलो छ्यापेर भ्रम सिर्जना गर्न खोजेको बताउनु भयो । उहाँले प्रतिपक्षले विधेयक संसदमा पेश गर्न र कानून निर्माणको लागि कहाँ बाधा पुर्‍यायो भनेर प्रश्नसमेत गर्नुभयो । उहाँले बहुमतको सरकारले संसदबाट विधेयक पास गर्ने आँट देखाउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो - ‘सरकारले रोष्टमबाट सरकारलाई जवाफ दिन होइन सत्तापक्षकै माननीयहरुलाई लगाएर प्रतिपक्षमाथि हिलो छ्याप्ने, भ्रम सिर्जना हुने खालको गरी जुन खालको व्यवहार गरिँदैछ यसप्रति आपत्ति व्यक्त गर्न चाहन्छौँ । प्रतिपक्षको कारणले आज कहाँनिर विधेयक संसदमा पेश गर्न र कानून निर्माणको लागि कहाँनिर बाधा पुग्यो ? यदि बहुमतको सरकारसँग छ भने आफूले प्रश्तुत गर्ने विधेयक संसदबाट पास गर्ने आँट सरकारसँग छ कि छैन । छैन भने राजीनामा दिनुपर्छ ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले गठबन्धनमा प्वाल परेको टिप्पणी गर्नुभयो । प्रतिपक्षले सरकारलाई रचनात्मक सहयोग गरिरहेको भन्दै क्यालेण्डर हेरेर बैठकमा आउनुपर्दैन ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो - ‘पार्टी देशको लागि कि देश पार्टीका लागि ? संसद चल्ने भनेको सत्तापक्षको बहुमतले हो । उहाँहरुले विधेयक ल्याएपछि चलाउने हो । के गठबन्धनमा प्वाल परेको हो सभामुख महोदय ? हामी प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग दिने पूरै कोशिस पनि गरिरहेका छौँ । यो क्यालेण्डर के हो ? यो क्यालेण्डर थिएन उहाँहरुको हातमा ? कार्यव्यवस्था समिति जोकर संस्था हो ? महासमिति भए जानकारी दिनुपर्दैन ?’

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कार्यव्यवस्था समितिमा जानकारी नदिइ गोदावरीमा पार्टीको कार्यक्रममा रुमल्लिएका भनेर टिप्पणी गर्नुभयो । उहाँले बालकुमारी घटनाको हत्यारालाई पक्राउ नगरेको भन्दै रोष्टमबाट प्रधानमन्त्री अथवा गृहमन्त्रीले जवाफ नदिए संसद नचल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘म सोध्न चाहन्छु, क्यालेण्डर बनाएको छ हेर्नुस् । कार्यव्यवस्था समिति छ । तपाईहरु गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहीँ रुमल्लिने । संसदमा नआउने । आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो ? हत्यारालाई किन पक्राउ नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ होइन भने संसद आज चल्दैन ।’

त्यसपछि नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सभामुखले आकस्मिक समयको समय निर्धारण नगरी आफ्नो तजबिजको आधारमा समय निर्धारण गरेको बताउनु भयो । उहाँले सांसद शाहीलाई जवाफ दिँदै सांसद पदबाट राजीनामा गरेर सडकमा जान सुझाव दिनुभयो । संसद चल्न नदिएर अराजकता र उश्रृङ्खलता नदेखाउन उहाँले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो - ‘संक्षिप्त भनेको कति समय हो ? सभामुखको तजबिजको आधारमा हो ? प्रमुख प्रतिपक्षीसँग आज संख्या बढी छ । तपाईहरुसँग संख्याको बल छ भन्नेबित्तिकै बेस्सरी ढ्यापढ्याप गरेर हाम्रा स्वरहरुलाई कुण्ठित गर्ने ? भर्खरै माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो संसद चल्दैन । नचलाउनोस् केही छैन । संसद बन्द गर्न हुलहुज्जत गर्न अराजकता प्रश्तुत गर्न मनलागि गर्नका लागि जनताबाट निर्वाचित भएर आएको हो ? तपाईहरु शासन व्यवस्थाका कुरा पनि गर्नुहुन्छ । तपाईहरुलाई अधिकार छ भने, तपाईहरुलाई लाग्दैछ यो शासन व्यवस्था गलत छ भने तपाईहरु सांसदको पद राजीनामा गरेर जानुस् न सडकमा । तपाईहरु विद्रोह गर्नुस् न । त्यो अधिकार तपाईहरुलाई छ नि । तर यही संसदमा बस्ने । संसद चल्न नदिने । अराजक हुने । उश्रृङ्खल हुने यो के तरिका हो ? म भन्न चाहन्छु प्रतिपक्षलाई संसदका महासचिवका तीनवटा नागरिकता र दुईवटा पासपोर्ट पनि तपाईहरुले उठाएका कुरा पनि थप्नुस् न ।’

त्यसपछि, सभामुखले केही सांसदहरुलाई आकस्मिक समयमै बोल्न दिनुभयो । सांसदहरुले बोलिसकेपछि पुनः प्रतिपक्षले बैठक अवरोध गरेपछि बैठक आजै १५ मिनेटको लागि स्थगित गरिएको छ । -न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?