नवमांश विचार

डा. नारायणप्रसाद निरौला
Read Time = 16 mins

नवमांश भनेको राशिको नवौं भागको समय हो । हाम्रा हरेक कार्यको साइत जुराउँदा नवमांशको विचार गरिन्छ । विवाह, व्रतबन्ध, चूडाजस्ता कार्यमा नवमांशको विचार अनिवार्य हुने गर्दछ । एक राशिमा ३० अंश हुन्छ । यही ३० अंशको एक लग्न पनि हुने गर्दछ । क्रान्तिवृत्त (सूर्य हिँड्ने बाटो) को जुन भाग हाम्रो उदय क्षितिजमा लाग्छ त्यो त्यही राशिको लग्न हुन्छ । यसरी एक राशिभित्र पनि विभाग गरी नवमांशको व्यवस्था निर्धारण गरिएको छ । ३० अंशलाई ९ ले भागगर्दा ३ अंश २० कला हुन्छ । एक राशिभित्रको ३ । २० अंशादि काल वा समय नै एक नवमांशको हुने गर्दछ । सामान्यतः विशेष कार्यमा शुभ लग्नको समय लिइन्छ । एक दिनमा १२ वटा लग्न हुन्छन् । सामान्य गणित गर्दा दुई घण्टाको एक लग्न हुने गर्दछ ।

यसरी मध्यम मानले लग्नलाई दुई घण्टाको लिँदा १३ मिनेट २० सेकेन्डको समयसम्म एक राशिको नवमांशको समय हुने गर्दछ । लग्नभित्रको पनि अझ उत्तम समयका रूपमा नवमांशलाई लिने गरिन्छ । यसैले हाम्रा विवाह, व्रतबन्ध आदि विशेष कार्यमा लग्न सँगसँगै नवमांशको पनि विचार हुने गर्दछ । नवमांशको गणामा त्रिकोणको विशेष सम्बन्ध रहने गर्दछ । मेष, सिंह र धनु लग्नको राशि भए मेषबाट नवमांश गणना गरिन्छ । यहाँ मेष सिंह र धनुले १, ५ र ९औं राशिलाई प्रतिनिधित्व गर्दछन् । लग्न यी राशिको भए मेषबाट नवमांशको गणना गर्नुपर्दछ । यहाँ मेषबाट गणना गर्नुको तात्पर्य मेषले केन्द्रलाई प्रतिनिधित्व गर्दछ ।

मूल केन्द्रको परिधिभित्रको समय उत्तम रहने भएकाले यसरी उत्तमभित्रको अत्युत्तम समय निर्धारण गर्नेकार्य नवमांशको गणनाअन्तर्गत पर्ने गर्दछ । मेषादि, मकरादि, तुलादि र कर्कादिको गणना व्यवस्था पनि दायाँवर्तले केन्द्रस्थानलई आधार बनाएर उत्तम समयको चयन गर्न निर्धारित गरिएको छ । राशिसँग ग्रहको अन्तरसम्बन्ध हुन्छ । मेष र वृश्चिकलाई मङ्गलले प्रतिनिधित्व गर्दछन् । वृष र तुलाका स्वामी शुक्र हुन् । मिथुन र कन्यलाई बुधले प्रतिनिधित्व गर्दछन् । यसैगरी धनु र मीनलाई बृहस्पतिले, मकर र कुम्भलाई शनिले, कर्कटलाई चन्द्रमाले र सिंहलाई सूर्यले प्रतिनिधित्व गर्दछन् । काल गतिका क्रममा कुन ग्रहले प्रतिनिधित्व गर्ने समय पर्छ सोही आधारमा तत् कार्यसम्बद्ध विषयवस्तुको उत्तम समयको व्यवस्था ज्योतिषशास्त्रमा गरिएको छ । सोही आधारमा कार्यप्रकृति अनुसार ग्रहले प्रतिनिधित्व गर्ने समय (नवमांश) को विवचार गरिन्छ ।

चिना कुण्डलीमा नवमांशबाट दाम्पत्यसुखका विषयमा विचार गरिन्छ भनी बृहत्पाराशर होराशास्त्रमा बताइएको छ । प्रेम सम्बन्ध, दाम्पत्य सुख आदि विषयवस्तुका सूक्ष्म विश्लेषणमा पनि नवमांशको विचार गरिन्छ । ग्रहको स्थिति अनुसार शुभाशुभ फलादेश गर्ने व्यवस्था फलितका ग्रन्थमा पाइन्छ । अशुभ ग्रहको नवमांश सर्वथा त्याज्य रहन्छ ।

चिना कुण्डलीमा नवमांशबाट दाम्पत्यसुखका विषयमा विचार गरिन्छ भनी बृहत्पाराशर होराशास्त्रमा बताइएको छ । प्रेम सम्बन्ध, दाम्पत्य सुख आदि विषयवस्तुका सूक्ष्म विश्लेषणमा पनि नवमांशको विचार गरिन्छ । ग्रहको स्थिति अनुसार शुभाशुभ फलादेश गर्ने व्यवस्था फलितका ग्रन्थमा पाइन्छ । अशुभ ग्रहको नवमांश सर्वथा त्याज्य रहन्छ । सोही कुरा मुहुर्तचिन्तामणिमा यसरी बताइएको छ ः चन्द्रमा र पापग्रह (सूर्य, मङ्गल, शनि, राहु, केतु र पापयुक्त बुध) युक्त लग्न र नवमांश, मध्यरात्रि र मध्यदिन (दिन र रात्रिको ठीक १२ बजे) मा घटी (६० पला) को तृतीयांश (६०÷३=२० पला) पूर्व र पश्चात् (अर्थात् ठीक मध्यरातबाट १० पला अर्थात् ४ मिनेट पहिले र पछि), पापग्रहको नवमांश, सूर्यग्रहण र चन्द्रग्रहणको ३ दिन पहिले (ग्रहण लाग्नुभन्दा ७२ घण्टापूर्व), उत्पातभएको ग्रहबाट ७ दिन अर्थात् १६८ घण्टासम्म, शुभद उत्पातबाट दूषित पूरै दिन सबै शुभकार्यमा त्याज्य छन् । (मुहुर्तचिन्तामणि, १।३२) ।

चन्द्रमा जलचर राशि (४।१०।११।१२) को नवमांशमा होस्, शुक्र र चन्द्रमा पूर्णबली (उच्च, स्वगृह, मित्रगृह, स्वनवमांश, स्वमूलत्रिकोण, वर्गोत्तम राशिमा, शुभ ग्रहले दृष्ट र युक्त भएको) होस्, लग्नमा बृहस्पति बसेको मुहूत्र्तमा पहिलोपटक हलो जोत्न आरम्भ गर्नु शुभ रहन्छ । (मुहुर्तनिचन्तामणि, २।२८) । वर्गोत्तम नवमांशको सयम उत्तम मानिन्छ । लग्नबाट ३।६।१०।११ स्थानलाई उपचय भाव भनिन्छ । यी बाहेकका १,२,४,५,७,८,९,१२ भावलाई अनुपचय भनिन्छ । चरराशिको प्रथम, स्थिर राशिको मध्यम (पाँचौँ) र द्विस्भाव राशिको अन्तिम अर्थात् नवौँ राशि वर्गोत्तम हुन्छ । ‘वर्गोत्तमा नवमांशाश्चरादिषु प्रथममध्यान्त्याः ।।’ (लघुजातकम्, राशिप्रभेदाध्याय, श्लो. १९) कुनै पनि राशिको आफ्नै नवमांश वर्गोत्तम हुन्छ । जस्तै मेषादि चरराशिको प्रथम नवमांश जस्तै मेषको मेष, कर्कटको कर्कट, तुलाको तुला नवमांश, मकरको मकरादि हुन्छ ।

यसैगरी स्थिर राशि वृषको नवमांश मकरबाट आरम्भ हुन्छ । मकरबाट वृष पाँचौँ नवमांश पर्ने भएकाले आफ्नै नवमांशमा परेको हो । यसैगरी सिंहको मेषादि नवमांश हुन्छ । मेषबाट सिंह पाँचौँ पर्ने भएकाले आफ्नो नवमांश वर्गोत्तम भनिएको हो । यसैगरी मिथुनको तुलाबाट नवमांश आरम्भ हुन्छ । तुलाबाट नवौँ मिथुन आफ्नै नवमांशमा परेकाले वर्गोत्तम भएको हो । वर्गोत्तम शुभ फलदायी रहन्छ । गर्भाधानको समय निर्धारणमा पनि नवमांशको स्थान रहने गर्दछ ।

हाम्रा षोडशसंस्कार, यात्रा, वास्तु, गृहप्रवेशलगायतका अन्य शुभकार्यमा पनि नवमांशलाई विशेष ख्याल गर्नुपर्ने कुरा शास्त्रमा उल्लेख पाइन्छ । शुभग्रहको नवमांशको समयमा नै पार्नुको तात्पर्य तत् कार्यको सफलता प्राप्तिको कामना हो । गरिएका कार्य शुभ फलदायी हुन्, उद्देश्यले शुभसमयको निर्धारणार्थ नवमांश साधनको व्यवस्था गरिएको हो ।

केन्द्र (१।४।७।१०) र त्रिकोण (९।५) मा शुभग्रह (पूर्णचन्द्रमा, बुध, बृहस्पति र शुक्र) बसेका हुन्, ३।६।११ स्थानमा पाप (क्षीणचन्द्रमा, सूर्य, मङ्गल, शनि, राहु र केतु) ग्रह हुन्, आधानकालिक लग्नलाई पुरुषग्रह सूर्य, मङ्गल, बृहस्पतिले देखेका हुन्, ओज (विषम १।३।५।७।९।११) राशिको नवमांशमा चन्द्रमा बसेका हुन्, रजस्वला भएको ४।६।८।१०।१२।१४।१६) रात्रिमा गर्भाधान सन्तान प्राप्तिका निम्ति उत्तम रहन्छ । (मुहुर्तचिन्तामणि, ५।७)

अन्नप्राशनमा पनि जन्मराशि एवं जन्मलग्नबाट आठौँ राशिको लग्न र नवमांशका साथै मीन, मेष, वृश्चिक छोडी छ महिनादेखि सम महिना (६, ८, १० महिनामा) मा छोराको अन्नप्राशन शुभ हुन्छ । यसैगरी छोरीको पाँचौँ महिनादेखि उता विषम महिनामा अर्थात् ५, ७, ९ महिनामा अन्नप्राशन गराउनुपर्दछ (मुहुर्तचिन्तामणि, ५।१७) । यसैगरी छेवर वा क्षौरकर्म गर्दा पनि नवमांशको विचार गर्नुपर्ने प्रावधान पाइन्छ । बुध, सोम, शुक्र र बिहीबार र यी ग्रहका राशि वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु र मीन राशिको लग्न र नवमांशमा चूडाकर्म (छेवर) शुभ हुन्छ (मुहुर्तचिन्तामणि, ५।३०) यसअवसरमा पनि जन्मलग्न र जन्मराशिबाट अठौँ राशिको लग्न र नवमांश भने त्यग्नुपर्दछ ।

व्रतबन्धको शुभ समय निर्धारणमा पनि नवमांशको विशेष विचार गरिन्छ । २,३,६,७,९,१२ नवमांशमा वतबन्ध शुभ हुन्छ । व्रतबन्धमा सूर्यको (सिंह) नवमांश भए बालक क्रूर स्वभावको हुन्छ । चन्द्रमाको (कर्क) नवमांश भए जड केही कुरा नबुझ्ने हुन्छ । मङ्गलको (१।८) नवमांश भए पापकर्म गर्नेवाला हुन्छ । बुधको नवमांश (३।६) भए पटु (सबै कार्यमा दक्ष) हुन्छ । बृहस्पतिको नवमांश (९।१२) भए षट्कर्म (यज्ञ गर्ने गराउने, दान दिने लिने, पढ्ने र पढाउने यी ६ काम) गर्नेवाल हुन्छ । शुक्रको नवमांश (२।७) भए यज्ञकर्ता र धनवान् हुन्छ । शनिको नवमांश (१०।११) भए बालक मूर्ख हुन्छ । यसैले २,३,६,७,९,१२ नवमांश शुभ मानिएको छ (मुहुर्तचिन्तामणि, ५।४९) ।

विवाहका मुहूत्र्तनिर्धारणमा पनि नवमांशको विशेष भूमिका रहनेगर्दछ । वर वधूको जन्मसमयमा आठौं राशिको नवमांश तथा उक्त राशिको स्वामी विवाहलग्नकुण्डलीको लग्नभावमा मा बसेको छ भने अशुभ फलदायक रहन्छ । जन्मलग्नदेखि बाह्रौँ राशिको नवमांश अथवा बाह्रौँ राशिको स्वामी विवाहलग्नमा छ भने वरवधूमा सधैँ कलह भइरहन्छ (मुहुर्तचिन्तामणि, ६।४८) । विवाह समयमा यदि सूर्य र चन्द्रमा दुवै बलवान् (आफ्नो उच्च राशि, आफ्नो राशि, मित्रको राशि, स्वमूलत्रिकोण, स्वनवमांश, मित्रदृष्ट, वर्गोत्तम) भएको लग्न छ भने एकार्गल, उपग्रह, पात, लत्ता, जामित्र, कर्तरी, उदयास्त आदि सबै दोष सूर्यको प्रकाशले अन्धकारलाई नष्ट गरेजस्तै गरी नष्ट हुन्छन् (मुहुर्तचिन्तामणि, ६।६८) । कुनै पनि लग्नमा धनु, तुला, कन्या, मिथुन अथवा मीनको नवमांशमा यदि कन्याको विवाह हुन्छ भने कन्या अवश्य सती (पतिव्रता) हुन्छिन् (मुहुर्तचिन्तामणि, ६।८४) ।

यात्रा आरम्भमा पनि नवमांशको विचार गर्नुपर्ने बताइएको छ । मीन लग्नमा र मीन नवमांशमा यात्रा गर्नेवाला व्यक्तिको बाटो वक्र (अप्ठ्यारो) हुन्छ (मुहुर्तचिन्तामणि, ११।४४) । यात्राको समयमा लग्न अथवा चन्द्रमा आफ्नो वर्गोत्तम नवमांशमा छ भने यात्रा मनले चिताएको कार्यसिद्धि गर्नेवाला हुन्छ । (मुहुर्तचिन्तामणि, ११।४६) । घर बनाउन आरम्भका साथै गृहप्रवेश गर्दा पनि नवमांशको विचार गरिन्छ । आफ्नो शत्रुग्रहको नवमांशमा परेको एक ग्रह पनि यदि गृहारम्भकालिक लग्नबाट सातौँ वा दशौँ स्थानमा बसेको छ र घर मूलीको वर्णको स्वामी निर्बल छ भने उक्त स्थितिमा निर्माण गरिएको घर एकवर्षभित्र अर्काको हातमा जान्छ ।

अर्थात् उक्त घरको मालिक अर्कै हुन्छ वा फेरिन्छ (मुहुर्तचिन्तामणि, वास्तुप्रकरणम् श्लो. २५) । वृष, मिथुन, सिंह, कन्या, धनु, कुम्भ राशिलको लग्नमा, चतुर्थ र अष्टमस्थान शुद्ध गरी ३।६।११ स्थानमा पाप र २।३।५।७।९।१०।११ भावमा शुभग्रह भएको समयमा जन्मलग्न र जन्मलग्नबाट अठौँ राशिको लग्न र नवमांश नपारी गृहप्रवेश गर्नुपर्दछ (मुहुर्तचिन्तामणि, गृहप्रवेश प्रकरणम्, श्लो.४) यसरी वास्तुको विचारमा पनि नवमांशको मूल भूमिका हुने गर्दछ ।

यसरी हाम्रा षोडशसंस्कार, यात्रा, वास्तु, गृहप्रवेशलगायतका अन्य शुभकार्यमा पनि नवमांशलाई विशेष ख्याल गर्नुपर्ने कुरा शास्त्रमा उल्लेख पाइन्छ । शुभग्रहको नवमांशको समयमा नै पार्नुको तात्पर्य तत् कार्यको सफलता प्राप्तिको कामना हो । गरिएका कार्य शुभ फलदायी हुन्, कल्याणदायी हुन् भन्ने उद्देश्यले नै शुभ समयको निर्धारणार्थ नवमांश साधनको व्यवस्था गरिएको हो । यस्तै शुभ समय मध्येको एक लगभग दुई घण्टाको समय लग्नको हुन्छ । यही लग्नको नौभागको एकभाग अर्थात् १३ मिनेटको समय नवमांशको हुने गर्दछ । यसैले शुभलग्नभित्रको पनि उत्तम समय निर्धारण गर्न नवमांशको व्यवस्था गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?