नवलपरासी । बर्दघाटमा हुने भनिएको मेला नगरको निर्देशन पछि मेला स्थगन हुने भएको छ । बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्ने भनिएको मेला बर्दघाट नगरपालिकाले स्थगन गरिदिएको छ ।
विभिन्न कारण र धारणा सहित असन्तुष्ट व्यवसायीहरूले मेला लगाउन हुँदैन भन्ने पक्षका सात सय व्यवसायीको हस्ताक्षर सहित बर्दघाट नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका पछि मेला स्थगन गरिएको हो । नगरभित्रका विद्यालयहरूमा कक्षा ८ को आन्तरिक परीक्षा चलिरहेको र एसइई समेत नजिकै आइरहेको अवस्थामा मेलाले विद्यार्थीको ध्यान मेलातर्फ आकृष्ट हुने हुँदा पठनपाठनमा असर पर्ने भन्दै सामुदायिक विद्यालय महासङ्घ बर्दघाट नगर समितिले समेत ज्ञापनपत्र बुझाएको थियो । आर्थिक मन्दीको अवस्थामा स्थनिय पुजी समेत पलायन हुने भन्दै मेला सञ्चालनको उपयुक्त समय नभएको व्यवसायीहरूले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
व्यवसायीको ज्ञापन-पत्र बुझेपछि बर्दघाट नगरपालिकाले मेला सञ्चालनका लागि भएका निर्णय र क्रियाकलापहरूको लिखित कागजात माग गर्दै मेलाको तयारीलाई स्थगित गर्न बर्दघाट उद्योग वाणिज्य सङ्घलाई पत्राचार गरेको थियो । शुक्रबार असन्तुष्ट व्यवसायीबिच नगरपालिकामा भएको छलफल पछि नगरपालिकाले मेला स्थगन गर्नका लागि बर्दघाट उद्योग वाणिज्य सङ्घलाई पत्राचार गरेको छ ।
बर्दघाट नगरपालिकाकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले हजारौँ विद्यार्थीको परीक्षालाई असर गर्ने भएको हुँदा र आर्थिक मन्दीको अवस्थामा उपयुक्त समय नभएको व्यवसायीको भावनालाई महसुस गरी मेला स्थगन गर्ने निर्णयमा पुगिएको बताउनु भयो । "व्यवसायीकै कुरा सुनेर सबै कुरालाई मध्यनजर गर्दै मेला स्थगन गरेका हौ,यो निर्णयमा हाम्रो कुनै आग्रह पूर्वाग्रह छैन । ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
छलफलमा नगरउपप्रमुख रुद्रप्रकाश उपाध्यायले वाणिज्य संघ सँग मागिएको कागजातमा सबै व्यापारीको सहमति सहितको मेला लगाउने भन्ने निर्णय समेत नभेटिएको बताउनु भयो । "सबै व्यवसायीको समन्वय पनि देखिएन र उपयुक्त समय पनि भएन भन्ने कुरा आयो,मेला नै नलगाउने भन्ने कुरा होइन तर समयानुकूल भएन भन्ने मात्र हो । ” उपाध्यायले भन्नुभयो ।
"हामी स्थानीय सरकार भन्दा माथि त रहेनौ,स्थानीय सरकारको निर्णय माथि रहेर अब मेला लगाउने कुरा पनि सम्भव नहोला। अझै पनि हामी छलफलमै छौ,हेरौँ । " बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच