काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई नेपालीहरुले नै रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने बताउनु भयो । उहाँले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुयाउन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल वास्तवमा अहिले जियोपोलिटिक्स सिच्वेशनका कारणले गम्भीर र जटिल पेचिलो अवस्थामा गएको छ । यो नेपाल नेपालीहरुको हो । नेपाललाई रक्षा नेपालीहरुले गर्दछन् । त्यसमा बाटो देखाउने काम राजनीतिक पार्टीहरुको हो । राजनीतिक पार्टीले इतिहासको यो आवाजलाई बुझ्न सकेनन् भने उनीहरु पनि पछि पर्दछन् । मान्छेहरु भन्छन् नि, यो सधैँ स्वतन्त्र भइरहेको छ । एकदिन त्यस्तो बिन्दु आउन सक्छ । जुन दिन सदाका लागि हामी सिद्धिने दिन आउँछ । तर नेपाली जनतालाई ठिक ढंगले गाइड गर्ने हो भने धर्तीको कुनै तागतले हामीलाई सिध्याउन सक्दैनन् । आवश्यकता हामी जनतामा भर पर्नुपर्छ । आत्मनिर्भर हुनुपर्छ ।’
उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताउनु भयो । उहाँले कतिपय प्रियतावादीहरुलाई राजनीति चटकबाजी लागिरहेको बताउनु भयो ।
-न्युज एजेन्सी नेपाल