
काठमाडौं । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको नेपाली कांग्रेसको महासमिति बैठकको उपलब्धिबारे चर्चा-परिचर्चा र विश्लेषण भइरहेका छन् । बैठक समापन गरेर महासमिति सदस्यहरू आ-आफ्नो दैनिकीको लागि घर पुगिसकेका छन् । पार्टीका शीर्ष एवं प्रभावशाली नेताहरूले काठमाडौंमै रहेका महासमिति सदस्यहरूको सम्मानमा चियापानका कार्यक्रमहरू आयोजना गरिरहेका छन् । पार्टीभित्र संस्थापन इतर समुहका नेता डा.शेखर कोइरालाले महासमिति बैठक सुरु हुन अघि नै चियापान आयोजना गर्नुभएको थियो । पार्टी सभापति शेरवहादुर देउवाकी पत्नी एंव कांग्रेस नेतृ डा.आरजु राणा देउवाले महासमिति बैठक सकिएको भोलिपल्ट अर्थात शुक्रबार महासमिति बैठकमा सहभागी हुन आएका महिला प्रतिनिधिहरूको लागि चियापान आयोजना गर्नुभएको थियो । शनिबार महासमिति सदस्यहरूको सम्मानमा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले चियापान आयोजना गर्नुभयो ।
नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाका सुपुत्र डा.शशांकले आयोजना गरेको चियापानमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह गोपालमान श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो जमघट भयो । महासमिति बैठकमा विभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा सबैलाई एकै स्थानमा जम्मा गर्न चियापान गरेको डा.कोइराला जानकारी दिनुभएको छ । विभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा यसअघि पनि कोइरालाले चियापान कार्यक्रम गर्दै आउनुभएको छ ।
पटक-पटक सर्दै आएको महासमिति बैठक बल्लबल्ल सम्पन्न भएसँगै कांग्रेसमा अब पार्टीको आगामी महाधिवेशन केन्द्रित जोड घटाउ सुरु हुन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीको खोजी सुरु गरिसक्नु भएको छ । पार्टी विधानअनुसार अबको २१ महिनापछि अर्थात् २०८२ मंसिरमा १५औँ महाधिवेशन हुँदै छ । पार्टीमा अत्यधिक शक्तिशाली रहनुभएका सभापति देउवा विधानतः अब सभापति बन्न पाउनुुहुने छैन । यसकारण पनि नेतृत्व हस्तान्तरणपछि पनि देउवा अझै शक्ति कायम राख्न विश्वासिलो पात्रको खोजीमा लाग्नुभएको छ । अहिलेको संस्थापन अर्थात् देउवा पक्षको सबैभन्दा बलियो नेता वर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई लिने गरिन्छ । तर, खड्कालाई पार्टी पंक्तिले रुचाएको देखिँदैन । त्यसो त खड्काको कार्यशैली राजनीतिक नेतृत्वको जस्तो नभएर कर्मचारीको जस्तो देखिने गर्दै आएको छ । १३औँ महाधिवेशनपछि खड्का मनोनीत महामन्त्री हुँदा डा.शशांक कोइराला निर्वाचित महामन्त्री हुनुहुन्थ्यो । त्यतिबेला खड्कामार्फत नै देउवाले धेरेजसो काम गराउनुभएको थियो । तर, २०७४ सालको आमनिर्वाचनमा कांग्रेस नराम्ररी पराजित भयो । हारको जिम्मा सभापति देउवाले लिनुपर्ने भन्दै तत्कालीन इतर पक्ष देउवाविरुद्ध गए पनि महामन्त्री डा.शशांकले भने देउवाको डिफेन्स गरिरहनु भएको थियो ।
पछि १४औँ महाधिवेशनमा पनि शशांकले देउवालाई नै सघाएको कांग्रेस वृत्तमा चर्चा हुने गरेको छ । १४औँ महाधिवेशनमा इतर पक्षका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले सभापतिको आकांक्षा राख्दै सोही अनुरूपका गतिविधि गरिरहनु भएको छ । १४औँ महाधिवेशनमा वाकओभर दिनुुभएका डा.शशांक पनि आगामी महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आउनुभएको छ । संस्थापनइतर पक्षबाट दुई उम्मेदवार हुने निश्चित जस्तै भएपछि सभापति देउवा पनि आफ्नो गुटबाट बलियो पात्र अघिसार्ने तयारी गरिरहनु भएको छ । गोदावरीमा सम्पन्न महासमितिबाटै देउवाले डा.शशांक आफ्नो उत्तराधिकारी बन्ने संकेत गर्नुभएको छ । चार दिनसम्म चलेको महासमितिको दौरान सभापति देउवासँग सबैभन्दा बढी डा.शशांक नै देखिनुभयो । समापनको दिन बिहीबार देउवासँगै शशांक क्याटरिङ मेसमा झण्डै दुई घण्टा बस्नुभएको थियो । मञ्चमा मर्यादाक्रमअनुसार सँगै बस्न नमिल्नेबाहेक स्थानमा शशांक सभापति देउवासँगै देखिनुभयो । सँगै बस्दा दुई नेताबीचको सौहार्दता स्पष्ट रूपले प्रकरण हुने गरेको थियो ।
सभापति देउवाले पार्टीभित्र सबैलाई मिलाएर लैजानुहुन्छ : डा.शशांक
आगामी महाधिवेशनमा संस्थापन पक्षको उम्मेदवार अर्थात देउवाको उत्तराधिकारी आफू हुने डा.शशांकले शनिबार आफैँले आयोजना गरेको चियापानमा स्पष्ट संकेत गर्नुभएको छ । साथै, उहाँले आफू र देउवाबीचको सम्बन्धबारे पनि संकेत गर्नुभएको छ । चियापानमा छोटो मन्तव्य दिँदै डा.कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि लाने बताउनुभयो । आउँदो निर्वाचनमा एकढिक्का भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गर्दै डा.कोइरालाले भन्नुभयो, ‘नेपाली कांग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीका रूपमा अघि बढाउन आवश्यक छ । आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन । महासमितिसँगै उत्साह र उमंग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ । बिपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि संघर्ष गर्नुभएको थियो, उहाँको संघर्षलाई कांग्रेसले भुल्नुहुँदैन ।’
उपलब्धि माथिको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित सूचनाको चलखेल र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको जिकिर गर्दै महामन्त्री थापाले यसको रक्षाका लागि सबै दलहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, ‘हामी एक–अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन । त्यसमा ध्यान पुर्याउनुपर्ने हुन्छ । सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सकिन्न । सबै राजनीतिक दल र नेताहरूले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्ने बारेमा छलफल गर्न जरुरी छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच