काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादव महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार, २०८० बाट सम्मानित हुनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान समारोहमा यादवलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गर्नुभएको हो । वर्तमान संविधान निर्माणका क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान सभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्याएबापत प्रथम राष्ट्रपति यादवलाई पुरस्कार प्रदान गर्नेे महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको निर्णयअनुसार उहाँलाई सम्मान गरिएको हो ।
यस्तै, महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ संगीत साधक सरिता मिश्रलाई सो अवसरमा राष्ट्रपति पौडेलले अर्पण गर्नुभयो ।
एबिसी नेपालका संस्थापक अध्यक्ष घिमिरेले विगत चार दशकदेखि निरन्तर महिला बालबालिकाको हक तथा मानव अधिकारका लागि सक्रिय तथा लोकतान्त्रिक आन्दोलनमा समेत योगदान दिनुभएको छ । यस्तै, शास्त्रीय संगीतमा साधनारत, प्रथम नेपाली महिला तबलावादक हुनुहुन्छ मिश्र ।
पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘परिवर्तनको अनुभूति वास्तविक रूपमा गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गले पाउन नसक्दासम्म संविधान र गणतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुन सक्दैन ।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा आएको हो कि भनेर पनि यतिबेला चिन्ता प्रकट भइरहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । उहाँले कतिपय सन्दर्भमा कतै हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले त यस्तो अवस्था आएको होइन ? भन्दै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? भन्ने प्रश्न गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर, हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखापर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रूपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनहरूमा अग्रपंक्तिमा रहेर सदैव सक्रिय रहेका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धिवादी नेता हुनुहुन्थ्यो, निधिजीको स्मृति दिवसमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु ।’
उहाँले भन्नुभयो, ‘करिब पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भावका पक्षमा, सामाजिक न्यायका पक्षमा निधिले गरेको काम हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत हो, राजनीतिमा सिद्धान्त तथा निष्ठाप्रतिको समर्पण भाव तथा व्यावहारिक जीवनमा सादगी र उच्च विचार अनुकरणीय र प्रेरणादायी पक्ष हुन् भन्ने मलाई लाग्दछ ।’ अग्रज र आदरणीय व्यक्तिको स्मृति र सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले उहाँको योगदानलाई चीरस्थायी र जीवन्त बनाउन रचनात्मक काम गरेकोमा राष्ट्रपति पौडेलले सरहाना व्यक्त गर्नुभयो ।
विसं. २०५८ मा मानार्थ अध्यक्ष विमलेन्द्र निधि र संस्थापक अध्यक्ष भानुभक्त ढकाल भई नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विसं. २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले बुवाको अनुकरणीय योगदानका बारेमा चर्चा गर्नुभएको थियो । सम्मानित प्रथम राष्ट्रपति डा. यादवले महेन्द्रनारायण निधिको राजनीतिक योगदानको स्मरण गर्नुभयो । ‘प्रजातन्त्रको दियो बाल्ने महेन्द्रनारायण निधिको त्याग तपस्या र बलिदानको पछिपछि हामी लागेका हौँ । उहाँको आचरण, निष्ठा र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले हामीलाई मार्गनिर्देश ग¥यो’, उहाँले भन्नुभयो ।
यस्तै, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित दुर्गा घिमिरेले पुरस्कारका लागि प्रतिष्ठानप्रति आभार प्रकट गर्दै प्रजातन्त्रका लागि आन्दोलनदेखि जेलजीवनको भोगाइको स्मरण गर्नुभयो । उहाँले बेचबिखनमा परेका महिलाको उद्धार र आर्थिक सशक्तिकरणको अभियानमा अझ बढी दृढ संकल्पित भएर अघि बढने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष भानुभक्त ढकाल र डा. विमल कोइरालाले पनि मन्तव्य राख्नुभएको थियो ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रा. पुरुषोत्तम दाहालका अनुसार केही वर्षयता पुरस्कार राशीमा थप गरी प्रत्येक पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ बनाइएको छ । यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू पुरस्कारद्वारा सम्मानित भइसकेका छन् । यस वर्षको पुरस्कार चयनका लागि नेपाल सरकारका पूर्व-मुख्यसचिव डा. विमल कोइरालाको संयोजकत्वमा पूर्व-राजदूत डा. दिनेश भट्टराई, प्राडा. कुमार कोइराला, प्रा. नवेन्द्र निधि सदस्य रहनुभएको थियो ।
जनकपुरधाममा पनि मनाइयो निधि जयन्ती
स्व. महेन्द्रनारायण निधिको १०३औँ जन्मजयन्ती उहाँको पैतृक सहर जनकपुरधाममा पनि मनाइएको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीको आयोजनामा उहाँकै नामबाट स्थापित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा वक्ताहरूले नेपाली कांग्रेसले आफ्ना अभिभावकहरूको अनुहार मात्र नभई विचार र सिद्धान्त पनि बिर्संदै जाँदा पार्टी कमजोर हुन पुगेको टिप्पणी गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भन्नुभयो, ‘म उहाँसँगै जेलमा थिएँ, म भन्थेँ पहिला तपाईं खाना खाइहाल्नोस् बुढापाका हुनुहुन्छ, उहाँले भन्नुहुन्थ्यो हैन तिमी जवान युवा पहिला खानुपर्छ शरीरको माग र अझै धेरै लड्नु पनि छ, हामी त नखाए पनि हुन्छ ।’ सो भनाइ स्मरण गर्दै प्रदेश प्रमुख मिश्रले उहिलेको कांग्रेसमा आपसी माया र सदभाव रहेको बताउँदै अहिलेको कांग्रेसमा त्यो हुन नसकेका कारण पार्टी यस्तो हुँदै गएको बताउनुभयो ।
अर्का प्रदेश सांसद कुमरकान्त झाले कांग्रेसलाई कांग्रेसीले नै हराएर के फाइदा हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । ‘स्व. निधि देशको प्रधानमन्त्री बन्न सक्नुभएन त के भयो ?’ भन्दै उहाँले कुनै पनि प्रधानमन्त्रीभन्दा कम सम्मान निधिको नरहेको जिकिर गर्नुभयो । सो अवसरमा पार्टी धनुषा सभापति योगेन्द्र पजियारले ‘महेन्द्रनारायण जस्ता अभिभावकको जन्मजयन्ती कार्यक्रममा कुन वडा र पालिकाबाट कतिजना आउनुभएको छ ?’ भन्ने प्रश्न गर्दै हात उठाउन आग्रह गर्दै टिकटका लागि मात्र होइन पार्टीको कार्यक्रममा आउन आग्रह गर्नुभएको थियो ।
सो अवसरमा पार्टीको महोत्तरी सभापति नागेन्द्रप्रसाद यादव, जनकपुरधामका नगरसभापति तथा मेयर मनोजकुमार साह, जिल्ला कार्यसमितिका पदाधिकारीहरू, पूर्व-सांसदहरूसहित विभिन्न पालिकाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच