२३ अगष्ट १९७३ मा स्विडनको राजधानी स्टकहोममा जेन एरिक ओल्सन नामक अपराधी आफ्नो एकजना साथीसहित हातमा बन्दुक लिएर बैंकमा डकैती गर्न आए । डकैती गर्दा उनले एकजना सुरक्षा गार्डलाई घाइते बनाए । त्यसपछि बैंकमा भएका चारजनालाई बन्धक बनाएर भोल्टमा लगे । पछि प्रहरीलाई खबर गरियो । प्रहरी आएपछि ओल्सनले आफ्नो माग राखे, उनको साथी सोलमेट क्लर्कलाई रिहा गरियोस्, दोस्रो माग तीन मिलियन स्विडिस क्रोनर, तेस्रो दुई कार, दुईवटा बन्दुक, बुलेट प्रुफ भेष्ट र त्यहाँबाट निस्कने सुरक्षित बाटो । ओल्सनले ती चारजना जसमा एउटी महिला पनि थिइन्, बन्दी बनाए पनि कुनै यातना दिएका थिएनन्, बरु भोल्टभित्रकी महिलालाई जाडो लागेपछि उनले आफ्नो कोट झिकेर लगाउन दिए ।
त्यसपछि ती महिलाले उनलाई भनिन्, मलाई छटपटी भइरहेको छ, उनले उनलाई बडो शान्तिपूर्वक सम्झाएर शान्त पारे र बन्दुकबाट एउटा गोली झिकेर उनलाई दिँदै भने, यो राख, पछि तिमीलाई यो घटनाको सम्झना रहने छ । एउटा अर्को बन्धकले भन्यो, मलाई घरमा कुरा गर्नु छ । ओल्सनले उनलाई फोन दिए तर फोन लागेन । उनले भने फेरि कोसिस गर, फोन लाग्नेछ । उनले चारै बन्धकको राम्रोसँग हेरविचार गरे ताकि उनीहरूलाई कुनै कष्ट नहोस् । यी सबै दृश्य टेलिभिजनबाट प्रसारण भइरहेका थिए ।
संसारमा यस्ता पनि मानिस छन् जो पीडित भएर पनि पीडकलाई माया गर्छन् । यसलाई स्टकहोम सिन्डम भनिन्छ । यो एउटा मनोरोग हो जसमा पीडितले पीडकलाई माया गर्छ, उसलाई बचाउन हरसम्भव कोसिस गर्छ । पीडकसँग बस्दाबस्दै पीडितलाई पीडकसँग माया बस्छ ।
यसरी एक दिन बित्यो, भोलिपल्ट स्थानीय प्रहरीको एकजना अधिकृत त्यहाँको अवस्था हेर्न आए । त्यहाँको अवस्था हेरेर उनी दङ्ग परे । उनले देखे कि बन्धकहरू ओल्सनसँग दूधमा चिनी मिस्सिए झैँ मेलजोल भइसकेका छन् । ती अधिकृत बाहिर आएर जनतालाई भने ओल्सनले बन्धकहरूलाई मार्ने छैनन्, किनकि उनीहरूबीच राम्रो मित्रता भइसकेको छ, बरू बन्धक प्रहरीसँग डराइरहेका छन् । यसैबीच एउटा बन्धकले स्विडेनका तत्कालीन प्रधानमन्त्री ओलोफ पाल्मेलाई फोन गरेर भने, ओल्सनले एकजना बन्धकलाई आफूसँग लग्न चाहेका छन् । म उनीसँग जान चाहन्छु, किनकि मलाई ओल्सनसँग डर लाग्दैन, बरू प्रहरीले हामीलाई बचाउन कुनै अपरेसन नगरोस् जसले ओल्सनको ज्यान जान सक्छ ।
२८ अगष्ट १९७३ का दिन प्रहरीले भोल्टभित्र अश्रुग्यास छोड्यो । जबकि ओल्सन यस्तो कुनै हर्कत नगर्न भनिरहेका थिए । अश्रुग्यास छोडेको एक घण्टाभित्र ओल्सनले आफूलाई समर्पण गर्छ । बन्धकहरूले ओल्सनको प्रतिरक्षा गरेको देखेर प्रहरी आश्चर्यचकित भयो । प्रहरीले पहिला बन्धकहरूलाई बाहिर आउन भनिरहेका थिए तर बन्धकहरू मानिरहेका थिएनन् । उनीहरूलाई डर थियो कि उनीहरू बाहिर आएपछि प्रहरीले ओल्सनलाई मार्नेछन् । ओल्सनलाई प्रहरीले लग्ने बेलामा बन्धकहरूले उनलाई अंकमाल गर्दै भने, हामी तपाईंको सम्पर्कमा रहिरहने छौँ । जब प्रहरीले ओल्सनलाई लिएर जान थाले तब बन्धकहरूले भने, कृपया ओल्सनलाई कुनै यातना नदिनुहोला किनकि उनले हामीले कति पनि कष्ट दिएका थिएनन् । बन्धकहरूले ओल्सनको मुद्दा लड्न पैसा जम्मा गरे र उनीहरू नियमित रूपमा उनलाई भेट्न गइरहन्थे ।
अर्को घटना १९ मे १९७७ को हो । एउटी २० वर्षीया अमेरिकी केटी कोलिन जे स्टेन पार्टीमा जान घरबाट निस्किइन् । सडकमा उनले एउटा भ्यानमा लिफ्ट लिइन् । भ्यानमा क्यामरुन हुकर र उनकी पत्नी जेनिस बसेका थिए साथमा उनीहरूको नानी पनि थियो । भ्यान हिँडेपछि ती दम्पत्तिले कोलिनलाई भने, तिमीलाई अपहरण गरिएको छ तर उनले सहयोग गरे उनलाई कुनै नोक्सानी हुने छैन । कोलिनले आफ्नो ज्यान बचाउन उनीहरूसँग समझदारी गरिन् । बाटामा एउटा पेट्रोल पम्पमा उनीहरू तेल भर्न रोके । कोलिन पिसाब फेर्न ट्वाइलेट पनि गइन् । त्यहाँ धेरै मान्छेहरू थिए तर उनी पिसाब फेरेपछि सरासर गाडीमा गएर बसिन्, कसैलाई केही भनिनन् ।
उनीहरूले उनलाई आफ्नो घर ल्याए र आफ्नो पलङमुनिको एउटा काठको बाकसमा बन्द गरिदिए । त्यो बाकसमा उनी सुत्नेभरिको ठाउँ थियो । भोलिपल्ट अपहरणकारीहरूले उनलाई बाहिर निकाले र बलात्कार गरे । बलात्कारपछि फेरि उनलाई बाकसमा राखियो । यसरी दिनमा २३ घण्टा उनी बाकसमा हुन्थिन् र एक घण्टा बाहिर । बाहिर भएको बेला उनलाई बलात्कार गर्थे । यसरी यो घटना सात महिनासम्म चल्यो । जनबरी १९७८ मा अपहरणकारीहरूले उनीसँग अनुबन्ध गरे, जसमा लेखेको थियो उनी आजीवन उनीहरूकी यौनदासी भएर रहनेछिन् । सट्टामा उनलाई कुनै नोक्सानी गरिने छैन ।
अपहरणकर्ता दम्पत्ति उनको राम्रो हेरविचार गर्थे । दिनमा तीन चोटि खान दिन्थे, शौचका लागि बाकसमा प्यान राखिदिएका थिए र अनुबन्धअनुसार उनीसँग पेनिट्रेसन सेक्स गर्दैनथे । यसरी चार वर्ष बित्यो । अपहरणकर्ताहरूले आफ्नो घर फेरेर मोटर होममा स्थान्तरण भए । अब अपहरणकारीले उनलाई बाकसबाट निस्केर घुम्नफिर्न दिन थाले । उनलाई भाग्ने मौका थियो, घरमा भएको फोनबाट प्रहरीलाई खबर गर्न सक्थिन् तर उजले केही गरिनन् । एक पटक अपहरणकारीले उनका मातापितासँग भेट गराउन उनलाई उनको घर पनि लगे । त्यहाँ उनले आफ्ना मातापितालाई म एउटा आश्रममा बस्छु, जहाँ म निकै खुशी छु र यिनी मेरो ब्वाय फ्रेन्ड हुन् भनिन् ।
यो सिलसिला थप तीन वर्षसम्म अझै चलिराख्यो । यसरी उनले एउटी यौनदासी भएर सात वर्ष बिताइन् । एकदिन अपहर्ता हुकरले आफ्नी पत्नीसँग झगडा गर्दै भने, तिमीभन्दा त यी यौनदासी राम्री छिन् । कम्तीमा भनेको त मान्छिन्, दुर्भाग्य, तिमीसँग विवाह नभएर मेरो विवाह यिनीसँग हुनुपर्ने । यस कुराबाट आहत भएर हुकरकी पत्नीले कोलिनलाई स्वतन्त्र गरिदिइन् । उनी बस समातेर घर फर्किन् । बसमा बस्नुअगाडि उनले हुकरलाई फोन गर्दै भनिन् म तिमीलाई छोडेर जाँदैछु । घर पुगेर उनले न त प्रहरीलाई फोन गरिन् न त कसैसँग गुनासो पोखिन् । अन्ततः तीन महिनापछि हुकरपत्नी जेनिस आफैँले प्रहरीमा उजुरी गरेर आफ्नो पति हुकरलाई गिरफ्तार गराइन् ।
देश र जनतालाई पीडा दिने पीडकहरूप्रतिको जनताको माया स्टकहोम सिन्ड्रमजस्तै मनोरोग हो । कहिलेसम्म यिनीहरूप्रति स्टकहोम सिन्ड्रमबाट पीडित भई सहानुभूति राख्ने ? स्टकहोम सिन्डमबाट पीडित जनताले चाँडै नै स्टकहोम सिन्ड्रम रोगको उपचार नखोजे नेपाल र नेपालीको सुरक्षा हुनेछैन ।
उनी सरकारी साक्षी बनिन् र हुकरको अर्को अपराध पनि खोलिन् । हुकरले यस अगाडि पनि अपहरण गरेर हत्या गरेका थिए । त्यस हत्याको छानबिनको कुरा कोलिनले थाहा पाएपछि क्यामरुन हुकरको पक्षमा बयान दिँदै हुकर एउटा असल मानिस हो भनिन् । तर, हत्या र अपहरणको सजायमा हुकरलाई सय वर्षको कारावासको सजाय भयो । कोलिनले हुकरलाई छुटाउन कानुनी सहयोगको व्यवस्था पनि गरेकी थिइन् । उनी उनलाई भेट्न जेलमा जान्थिन्, उनीसँग फोनमा कुरा गर्थिन् । उनले हुकरबाट स्वतन्त्र भएपछि आफ्नो पढाइ पूरा गरिन्, विवाह गरिन् र उनले छोरी जन्माइन् ।
माथिका उदाहरणबाट के देखिन्छ भने संसारमा यस्ता पनि मानिस छन् जो पीडित भएर पनि पीडकलाई माया गर्छन् । यसलाई स्टकहोम सिन्डम भनिन्छ । यो एउटा मनोरोग हो जसमा पीडितले पीडकलाई माया गर्छ, उसलाई बचाउन हरसम्भव कोसिस गर्छ । पीडकसँग बस्दाबस्दै पीडितलाई पीडकसँग माया बस्छ । यो एउटा मनोवैज्ञानिक बन्धन हो । अधिकांश नेपालीहरू आज स्टकहोम सिन्डमको शिकार भएका छौँ । यो विधर्मी राज्यसत्ता, यो व्यवस्थाले आमनेपालीलाई सहज रूपमा बाँच्न गाह्रो पारेको छ । भ्रष्टाचार, राष्ट्रद्रोह त नेताहरूका लागि आमकुरा भइसक्यो । को शासक वर्ग, को बिचौलिया, को माफिया, को अपराधी चिन्नै गाह्रो भइसकेको अवस्था छ ।
यी सबै राष्ट्रघाती तत्वहरू अहिले एकाकार भइसकेका छन् । आमजनताको जीवन दयनीय भइसकेको अवस्था छ । घरहरू सुनसान हुँदै गइरहेका छन् । आप्रवसासीहरू यस देशको नागरिकमात्र होइन शासनसत्ताका भागीदार भइसकेका छन् । सनातन धर्मको जन्मस्थलीमा सनातन धर्म बचाउन आन्दोलित हुनुपरेको छ, यसको संस्कृति र मौलिकतालाई फर्काउनु पहाड भइसकेको अवस्था छ । काकाकुलजस्ता जनता स्वाति नक्षत्रको आशमा आकाशतिर हेरेर बसिरहेका छन् । कहिले आउने हो स्वाति नक्षत्र र जनताको तृष्णा मेटिने हो ? हामी नेपाली जनता यो देश र हामीलाई पीडा दिनेहरूका पछाडि भागिरहेका छौँ । चुनाव आउँदा यिनै राष्ट्रद्रोहीहरूलाई हाम्रा शासक बनाउन तँछाड मछाड गर्ने गर्छौं ।
देश र जनतालाई पीडा दिने पीडकहरूप्रतिको जनताको माया स्टकहोम सिन्ड्रमजस्तै मनोरोग हो । कहिलेसम्म यिनीहरूप्रति स्टकहोम सिन्ड्रमबाट पीडित भई सहानुभूति राख्ने ? कहिलेसम्म ? स्टकहोम सिन्डमबाट पीडित जनताले चाँडै नै स्टकहोम सिन्डम रोगको उपचार नखोजे नेपाल र नेपालीको सुरक्षा हुनेछैन ।
यो देश रानीमौरीविनाको मौरीको चाका भएको छ । रानीमौरीविना मौरीहरू छिन्नभिन्न हुन्छन्, न मौरीको चाका रहन्छ न त मह नै पाइन्छ । युधिष्ठिरको प्रश्नको उत्तरमा भीष्म भन्छन्-राष्ट्रस्यैतत् कृत्यतमं राज्ञ एवाभिषेचनम् । अनिन्द्रमबलं राष्ट्र दस्यवोअ्भिभवन्त्युत ।। । राष्ट्र अथवा राष्ट्रवासी प्रजावर्गको सबैभन्दा प्रधानकार्य कुनै योग्य राजाको अभिषेक गर्ने हो । अराजकेषु राष्ट्रेषु धर्मो न व्यवतिष्ठते । परस्परं च खादन्ति सर्वथा धिगराजकम् ।। जुन देशमा कुनै राजा हुँदैनन् त्यहाँ धर्मको पनि स्थिति रहँदैन । अतः त्यहाँका मानिस एकअर्कालाई लूट्न थाल्दछन्, जहाँ अराजकता हुन्छ त्यस देशलाई सर्वथा धिक्कार छ । हाम्रा धर्मग्रन्थहरूले पनि राजाविनाको देश कस्तो हुन्छ भनेर स्पष्ट पारेका छन् । के अब पनि स्टकहोम सिन्डमको शिकार भएर बस्ने कि यसबाट मुक्त हुने ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच