आशिष धनगढी एफसीका मार्की खेलाडी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा साबिक उपविजेता धनगढी एफसीमा मार्की खेलाडीका रूपमा अनुबन्ध हुनुभएको छ । धनगढी एफसीका अध्यक्ष सुवास शाही र आशिषबीच मार्की खेलाडीका लागि सम्झौता भएको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढी पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण भूमिकामा एनएसएलको उपविजेता बनेको थियो । धनगढी एफसीले विशालको अनुपस्थितिमा आशिषलाई मार्कीका रूपमा अनुबन्ध गरेको हो ।

नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसक्नुभएका २३ वर्षीय आशिष शहीद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्वाइज युनाइटेडबाट खेल्ने गर्नुहुन्छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजलाई जिताउन आशिषले महत्वपूर्ण प्रदर्शन गर्नुभएको थियो । त्यसअघि चर्च ब्वाइज बी डिभिजन लिग च्याम्पियन हुँदा आशिषले मष्ट भ्यालुएबल प्लेयरको अवार्डसमेत पाउनुभएको थियो ।

सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गर्नुभएका आशिषले ६ क्याप जित्नुभएको छ । बेंगलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले १-० को जित हात पार्दा आशिषले नै नेपालका तर्फबाट विजयी गोल गर्नुभएको थियो । मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताउनुभएको छ । ‘पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियौँ । यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौँ । अक्सनबाट टोलीका लागि आवश्यक पर्ने खेलाडीहरूलाई लिने र थप खेलाडीलाई विदेशबाट भित्र्याउने आन्तरिक तयारी पनि गरिरहेका छौँ,’ आशिषले भन्नुभयो ।

यस्तै, धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यस सिजनमा पनि आशिष चौधरीलाई सम्झौता गर्दा एकदमै उत्साहित भएको बताउनुभयो । नेपाली फुटबलका प्रतिभावान् खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको ऊर्जा झनै बढेको महसुस भएको छ । धनगढी एफसीलाई गत सिजनमा तपाईंहरू सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दछौँ । यस सिजनमा पनि यहाँहरूको अपार मायाको अपेक्षा राखेका छौँ,’ शाहीले भन्नुभयो । पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्स एफसीसँग १-० ले पराजित भएको थियो । एनएसएलको अक्सन शनिबार हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?