कमजोर डाइभर्सनका कारण राजमार्ग अवरुद्ध

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा कमजोर डाइभर्सनका कारण राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । ठुला मालबाहक ट्रक र ट्रीप्परहरु डाइभर्सनमा फस्दा राजमार्ग नै अवरुद्ध हुने गरेको हो ।

बर्दघाट नगरपालिका वडा नम्बर २ र ४ मा बनेका कतिपय डाइभर्सनमा दिनहुँ ठुला गाडीहरु फस्ने गर्दछन । जसको कारण दिनहुँ जसो राजमार्ग अवरुद्ध भइरहँदासमेत ठेकेदार कम्पनी (चाइना स्टेट कम्पनी) बेखबर जस्तै बनेको देखिन्छ ।

सडक निर्माण गर्दा बनाइएका डाइभर्सन कमजोर हुदा ठुला र मालवाहक गाडीहरु फस्ने र राजमार्ग जाम हुने गरेको बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । पटक पटक खबरदारी गरीरहे पनि कतिपय ठाउँमा एक साइडबाट मात्रै डाइर्भसन बनाएको हुँदा राजमार्ग जाम हुने र स्थानीय एवं यात्रुलाई सास्ती हुने गरेकाे नगरप्रमुख श्रेष्ठले बताउनुभयाे ।

नारायणगढ-बुटवल सडक खण्डमा स-साना पुल बन्ने क्रममा छन् । ति पुल बनाउँदा बनाइएका डाइभर्सन एकै साइड मात्रै बनाउँदा बाटोमा सवारी चाप बढी हुने गरेको छ । बर्दघाटमा अब्यवस्थित बिजुलीका पोलको ब्यवस्थापन, सडक निमार्णका क्रममा भएका खाल्टा खुल्टी, रुख कटान, नेट तथा केवुलका तारहरुको ब्यवस्थापन, हिलो, धुलो आदिका समस्या देखि निरन्तर खवरदारी गरिरहेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो । राजमार्ग जाम हुदा स्थानीय र यात्रुलाई निकै सास्ती हुने बताउदै श्रेष्ठले दुबै साइडमा डाइर्भसन बनाएर काम गर्ने बर्दघाट नगरले निर्देशन दिने उहाँले बताउनु भयो ।

राजमार्ग अवरुद्ध हुँदा बर्दघाट नगरका स्थानियवासी र ब्यापारीहरुलाई बढी सास्ती भएको बर्दघाट बजार बिकास समितिका अध्यक्ष तारा प्रसाद गौतमले बताउनु भयो । 'अहिले ब्यापारीहरु ब्यापार नभएर पिडामा छन् तेहि माथि राजमार्गको अवरुद्ध र काम ढिला सुस्तीले गर्दा झन पिडा थपेको छ। अहिले जसरी राजमार्ग निर्माण भएको छ त्यो नै गलत छ,' गौतमले भन्नुभयो ।  जति बोले पनि सुनुवाइ नभएको गौतमको भनाइ छ ।

बर्दघाट ०४ मा धेरै डाइर्भसन रहेकोले त्यसको निर्माणमा बढी समय लाग्दा राजमार्ग अवरुद्ध बढी भएको बर्दघाट ०४ का वडा अध्यक्ष बेदबिना तिवारीले बताउनु भयो । 'डाइभर्सन निर्माण कमजोर बनेको छ । पटकपटक खबर गरेका छौं । पहिला भन्दा अहिले केहि छिटो काम भइरहेको छ तर सावधानी पुर्वक भएको छैन,' तिवारीले भनुभयो ।

नारायणगढ-बुटवल सडक खण्ड पाच बर्ष पुरा हुँदासमेत ४८ दशमलव ५० प्रतिशत मात्रै काम पूरा गरेको छ । २०७५ देखी सुरु भएको आयोजना दुई पटक म्याद सकिए पछि म्याद थप गरेको थियो । थपिएको म्याद आगामी साउनमा सकिदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?