✍️ नन्दकृष्ण जोशी
समय बितेको पत्तै भएन । समाज सुधारक देवीचन्द्र जोशी बितेको ६ महिना पूरा भइसकेछ । प्राणघातक रोग क्यान्सरका कारण ७५ वर्षको उमेरमा गत भदौ १६ गते काठमाडौं निजी निवास बूढानीलकण्ठमा जोशीको दुःखद् निधन भयो । सहोदर कान्छो भाइका नाताले मात्र नभएर उहाँको व्यक्तित्वदेखि प्रभावित भएर यसबेला यतिमात्र भन्न सक्छु दाजुको अभावमा बझाङ तलकोट अहिले शिक्षाका क्षेत्रमा टुहुरोजस्तै देखिएको छ । फोक्सोमा क्यान्सर लागेको थाहा भएको एक वर्षभित्र बडो कष्टका साथ उहाँको निधन भयो ।
क्यान्सर लागेको थाहा हुने बित्तिकै भारतको दिल्ली मेडिकल कलेजमा भर्ना गरे, छोरीहरू कञ्चन, सुमन र परिवारजनले पटक-पटक काठमाडौं दिल्लीको यात्रा, उहाँलाई बचाउनका लागि गरेको खर्च र मेहनत आखिर काम लागेन । त्यहाँका डाक्टरले निको नहुने थाहा पाएर होला सायद ललितपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा फिर्ता पठायो । यहाँ पनि हरघडी परिवारजनले प्राण बचाउनका लागि ठूलो प्रयत्न गरे । हृष्टपुष्ट शरीर गल्दै गएर अन्तमा छाला र हड्डी मात्र बाँकी रहेर प्राण गयो । मानिस जन्मिएपछि अवश्य मर्छ । प्रकृतिको नियम हो यो तर नेपालजस्तो स्वच्छ, हराभरा, हरेक हावापानी र रहनसहनका लागि उपयुक्त मुलुकमा क्यान्सरजस्तो प्राणघातक रोगका बिरामी प्रत्येक दिन बढिरहेका छन् ।
हालको तलकोट गाउँपालिका पन्ध्रबीस दरा र हालको साईपाल विशेष गाउँपालिका आठबीस दराअन्तर्गत पर्दछ । पन्ध्रबीस र आठबीस दरामा हाइस्कुल स्थापना गरी त्यसभेगका हजारौं जनताका लागि शिक्षाको दियो जलाउने देवीचन्द्र जोशी पहिलो व्यक्तित्व हुनुहुन्थ्यो ।
यस्तो किन भइरहेको छ ? राष्ट्रका लागि चिन्ताको विषय हो । कति छिटो क्यान्सरका जीवाणुहरू शरीरमा फैलिँदारहेछन्, जानिनसक्नुको विषय बनेको छ । देश, विदेशमा डाक्टरका लागि पनि चुनौतीको विषय बनेको छ । चार वर्षपहिले ठूलो दाइ शुकदेव उपाध्यायलाई पनि यो रोगले छुनमात्र लागेको रहेछ । शंका लागेर आफैंले भक्तपुरस्थित क्यान्सर अस्पतालमा दाजुलाई जचाउँदा रोग पत्ता लाग्यो । तुरुन्त भर्ना गरेर उपचार गराउँदा छिट्टै निको भयो । अहिले उहाँ सकुशल हुनुहुन्छ तर विडम्बना तर देवीचन्द्र दनाइलाई रोगले पक्रेको थाहा नपाउँदा यो दुर्नियत परिवारका सबै सदस्यले भोग्नु पर्यो ।
उहाँको अभावले केवल परिवारजनमात्र नभएर बझाङ जिल्लाको उत्तरी सीमामा रहेको तलकोट गाउँपालिकाका जनताले एकजना शिक्षाका अगुवा गुमाउनुप¥यो भने जिल्लाले एकजना बौद्धिक व्यक्तित्व र प्रजातन्त्रवादी नेता गुमाउनुपर्यो । सदरमुकाम चैनपुरबाट भीर र चट्टानहरू पार गर्दै दश घण्टाको पैदल यात्रा गरेर तलकोट पुगिन्थ्यो ७० को दशकसम्म । हाल कच्ची सडकमा गाडीमा जोखिमयुक्त यात्रा गरेर दुई घण्टामा पुगिन्छ तलकोट । दक्षिणमा हिमनदी सेती, उत्तरतिर डरलाग्दा चट्टानयुक्त डाँडा र बीचमा साँघुरो कच्ची सडकबाट त्यस भेगका नरनारीहरू कुल देवता ‘मस्टो’ को नाम जप्दै गाडीको यात्रा गर्ने गर्दछन् ।
तलकोटबासी जनताको भोगाइमात्र नभएर बझाङका १० वटै पालिका र दुईवटा नगरपालिकाका जनताको साझा समस्या बनेको छ गाडीको यात्रा । सडक दुर्घटनामा कैयौंको ज्यान गए तापनि दोस्रो विकल्प नहुँदा बझांगी जनता जोखिममय यात्रा गर्न विवश छन्, अहिले पनि । तलकोट उत्तरी क्षेत्रको ठूलो ‘दरा’ हो । जिल्लालाई प्रशासनिक क्षेत्रमा छुट्याइएको थियो पञ्चायतकालमा जसलाई ‘दरा’ भनिन्थ्यो । तिनै दराका नामबाट अहिले पनि पुराना गाउँबस्तीहरूको सम्झना गरिन्छ । एउटा दरामा ५०/६० वटा ठूला साना गाउँबस्ती अटाएका छन् । २०१७ सालपछि तिनै दराहरू गाउँ पञ्चायतमा परिणत भए । लोकतान्त्रिक गणतन्त्र नेपालको शासनशैलीपछि तिनै गाउँपञ्चायतहरू पालिकामा परिणत भए ।
हालको तलकोट गाउँपालिका पन्ध्रबीस दरा र हालको साइपाल विशेष गाउँपालिका आठबीस दराअन्तर्गत पर्दछ । पन्ध्रबीस र आठबीस दरामा हाइस्कुल स्थापना गरी त्यसभेगका हजारौं जनताका लागि शिक्षाको दियो जलाउने देवीचन्द्र जोशी पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । थलारा प्राइमरी स्कुललाई उहाँले २०३१ सालमा निमाविमा परिणत गर्नुभयो । त्यसबेला दुर्गाभवानी निमाविका रूपमा रहेको विद्यालयलाई विसं २०४० सालमा दुर्गा भवानी माविमा रूपान्तरण गर्नुभयो । मावि स्तरमा विद्यालयलाई पुर्याउनका लागि यस पंक्तिकारले पनि अहमभूमिका खेलेकाले वर्तमान अवस्थासम्म स्थानीय जनताले हामी दाजुभाइलाई शिक्षाका अगुवा र गुरुका रूपमा सम्मानको दृष्टिले हेर्ने गर्दछन् ।
पञ्चायतकालमा विद्यालयमा कोटा पाउनु फलामको चिउरा चपाउनुजस्तै थियो । दाजुले तत्कालीन राजा वीरेन्द्रलाई विद्यालयका तर्फबाट त्यस दराका हजारौं जनताको हस्ताक्षर र ल्याप्चे जम्मा गराई नारायणहिटी राजदरबारमा मावि कोटा पाउनका लागि बिन्तीपत्र दर्ता गराउनुभयो । हालको सो दुर्गा भवानी उच्च माविको गौरवमय अतीतमा त्यही बिन्तीपत्रका आधारमा कोटा प्राप्त गरेको शैक्षिक इतिहास सम्झना लायक छ ।
समग्र बझाङ जिल्लालाई शिक्षाको उज्यालो घाम दिलाउने सत्यवादी हाइस्कुल भोपुरका तत्कालीन प्रधानअध्यापक रामदत्त अवस्थीका सच्चा चेला हुनुहुन्थ्यो स्व.देवीचन्द्र जोशी । गुरु रामदत्तले बझाङमा मात्र नभएर अछाम, बैतडी, बाजुराका हजारौं विद्यार्थीलाई शिक्षादान गर्नुभयो । रामदत्त अवस्थी प्रशासनमा कडा र अनुशासित हुनुहुन्थ्यो । आफ्ना गुरुजस्तै प्रशासन र शिक्षामा पनि लगनशील र अनुशासित रहेका कारण दाजुका सयौं विद्यार्थीहरू हालसम्म जिल्ला र जिल्लाबाहिर उच्च पदमा रही देशको सेवा इमानदार भएर गरेको देख्दा गर्वको अनुभूति हुन्छ । दुर्गाभवानी माविको माटो, ढुंगोसँग शिक्षाप्रेमी दाजुको जिन्दगी बित्यो । घर, परिवारको जस्तै विद्यालयसँगको नाता पनि रगतको जस्तै थियो ।
त्यसबेला छोरीहरूलाई पढाउने चलन गाउँघरमा पटक्कै थिएन । छोराहरू गाईबस्तु चराउने काममा व्यस्त हुन्थे । अभिभावकका घरघरमा पुगी ससाना बालबालिकालाई विद्यालय पठाउने कामको थालनी गरेकाले जिल्लाभरी उहाँको नाम शिक्षाका क्षेत्रमा अग्रपंक्तिमा रहन गयो । पञ्चायतको रजगज रहेको त्यसबेला ब्राहृमण कुलमा जन्मेका उहाँले निडरतापूर्वक पञ्चहरूका अगाडि शैक्षका क्षेत्रमा आमूल परिवर्तन गर्नु साहसिक कदम थियो । जुन कदमको तत्कालीन तलकोटी रजबार जंगबहादुर सिंह, जिपंस कल्कीबहादुर सिंह, तत्कालीन प्रधानपञ्च हरिलाल विष्ट, जोगमल विष्ट, आफिलाल विष्टलगायत हजारौं गाउँवासीले खुलेर प्रशंसा गरेका थिए ।
विसं २०४३ सालमा विद्यालयमा प्रअ पदबाट राजीनामा दिएपछि उहाँ काठमाडौं फर्किनुभयो । ‘वामदेव टेक्सटाइल’ नामक कपडा कारखाना ललितपुरको लुभुमा स्थापना गर्नुभयो । २०५२ सालपछि तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको चन्दा आतंकपछि सो कारखानाबाट हात झिक्नुभयो ।
शिक्षाका क्षेत्रमा मात्र नभएर बौद्धिक र समाजसेवाका फाँटमा उहाँ तलकोट, मष्टा र साइपाल गाउँपालिकाका जनताको साझा अभिभावक हुनुहुन्थ्यो । समाजसुधारकै लागि काठमाडौंमा आई २०२९ सालदेखि २०३४ सालसम्म सानोठिमी भक्तपुर क्याम्पसबाट आइएस्सी र बिएस्सीएजी उत्तीर्ण गर्नुभयो । गाउँ फर्केर दुर्गाभवानी माविको प्रअका रूपमा १२ वर्षसम्म सेवा गर्नुभयो । त्यसबेला दुर्गम गाउँ तलकोटबाट राजधानीमा उच्च शिक्षा हासिल गर्नु आफैंमा कठिन कार्य थियो । पैदल हिँडेर १२ दिनमा कैलालीको धनगढी पुग्नुभयो । भारतको रेलको यात्रा गर्दै राजधानी प्रवेश गर्नुका पछाडि चुनौती र सम्भावना दुवै थिए ।
दाजुको पदचाप अँगाल्दै २०३४ सालमा पंक्तिकार पनि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं प्रवेश गरेको हुँ । मैले यहाँ बस्दा जे जति प्रगति गरेँ दाजुहरू शुकदेव, देवीचन्द्र, जयकृष्णको आशीर्वाद र जीवनसाथी प्रार्थना खनालको मायाले गरेँ । काठमाडौं अध्ययन गर्दा दाजुले आर्थिक संकट धेरै झेल्नुभएछ । काठमाडौंको उत्तरपूर्वमा रहेको गोकर्णेश्वरस्थित सहयोगी माविका तत्कालीन प्रअ स्व.वासुदेवप्रसाद पौडेलले अध्ययनको सिलसिलामा आर्थिक रूपमा सहयोग गर्नुभएछ । रहँदा, बस्दा पौडेलकी जेठो छोरी सुजना पौडेलसँग दाजुको विसं २०३३ सालमा मागी विवाह भएछ । जहाँ सियो, त्यहाँ धागो भने झैँ भाउजू सुजनाले पनि तलकोटको दुर्गा भवानी माविमा रही नौ वर्षसम्म शिक्षासेवा गर्नुभयो ।
काठमाडौंमा पञ्चायतका विरुद्ध तत्कालीन रापंसमा हरिबोल भट्टराई, नानीमैयाँ दाहाललाई कांग्रेसले विद्रोही उम्मेदवार उठाएझैं, बझाङ जिल्लामा पनि देवीचन्द्र जोशी, ऐनबहादुर सिंह, प्रयागराज जोशीलगायत युवाहरू पञ्चायतका उम्मेदवार बनेर पूर्ववनमन्त्री गगनजंगबहादुर सिंहका विरुद्ध खडा भए तर सबैजना पराजित भए । सन्देश भने जिल्लाभरी फैलियो । यो घटना हो पञ्चायतको अन्तिम चुनाव विसं २०४३ सालको । शिक्षा क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा दाजुको गहिरो अभिरुचि थियो । २०३५/०३६ सालको विद्यार्थी आन्दोलन, २०३९ सालको सडक सफाइ आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलनतामा पंक्तिकार कारागारमा थुनिँदा भाइको नाताले मात्र नभएर राजनीतिक बन्दीका रूपमा भेट गर्न आउनुभएको मैले भुलेको छैन ।
जिल्लामा नेपाली कांग्रेसका नेताका रूपमा परिचित भएका कारण पनि होला उहाँ गिरिजाप्रसाद कोइरालाको नजिक हुनुहुन्थ्यो । हाम्रो परिवार जन्मजात कांग्रेस परिवार भएकोले जिल्लादेखि राजधानीसम्म कांग्रेसजनसँग हाम्रो सम्बन्ध हार्दिक रूपमा थियो । उहाँले गिरिजाबाबुलाई छोड्नुभएन । मैले शेरबहादुर देउवा दाइको लाइन छोडिन । पार्टी २०५९ सालमा दुई समूहमा विभाजित हुँदा पंक्तिकार प्रजातान्त्रिक कांग्रेसमा लागिरहँदा दाजुलाई चित्त बुझेको थिएन । यो कुरा पटक-पटक उहाँ पछिसम्म पंक्तिकारलाई सुनाइरहनुहुन्थ्यो ।
विसं २०४३ सालमा विद्यालयमा प्रअ पदबाट राजीनामा दिएपछि उहाँ काठमाडौं फर्किनुभयो । ‘वामदेव टेक्सटाइल’ नामक कपडा कारखाना ललितपुरको लुभुमा स्थापना गर्नुभयो । २०५२ सालपछि तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको चन्दा आतंकपछि सो कारखानाबाट हात झिक्नुभयो । मध्यमाञ्चल बस व्यवसायी संघ काठमाडौंको सात वर्षसम्म अध्यक्षका रूपमा काम गर्नुभयो । शिक्षासेवामा लामो अवधि काम गरेबापत स्व.राजा वीरेन्द्रबाट विसं २०५६ सालमा गोदबा मानपदवीद्वारा विभूषित हुनुभयो । विसं २००५ साल चैत १७ गते तलकोटको वेदकाली गाउँमा पिता जगदीश जोशी तिमिल्सिना र आमा गंगमतीदेवीका कोखबाट सामान्य परिवारमा जन्मनुभएका उहाँ हरेक क्षेत्रमा विकास गर्नुपर्छ, विदेशमा होइन स्वदेशमा नै रोजगारी दिलाउन सकिन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।
चारजना दिदीबहिनी र चारजना दाजुभाइमध्येका माइला दाजुको निधनले हामीलाई रिक्तता बोध गराएको छ । एउटा अभिभावक गुमाउँदाको चोट शब्दमा व्यक्त गर्न सकिँदैन । छोराहरू पवन, मिलन र दुईजना भाउजूहरूलाई क्यान्सरका कारण दुःखद् निधन हुन पुगेका दाजु देवीचन्द्रको पुण्यआत्माले शान्ति पाउनेछ भन्ने कामनाबाहेक थप सान्त्वना यो मनले दिन सकेको छैन । पशुपति आर्यघाटमा उहाँको चिता जलिरहँदा उपस्थित मलामीहरू बझाङको शिक्षा सेवाको एउटा दरिलो खम्बा ढलेको अनुभूति गरेर निरास बनेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच