सिद्धबाबाले मनायो ३८ औं वार्षिकोत्सब

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी । देशकै सामुदायिक विद्यालयतर्फ अग्रणी सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीले ३८ औं वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । 'संस्कारसहितको गुणस्तरीय शिक्षा सिद्धबाबाको ईच्छा' भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको विद्यालयले सोमबार ३८ औं वार्षिकोत्सब मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरको प्रमुख आतिथ्यता, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकिय हरिप्रसाद अर्याल, सामाजिक विकास समिति संयोजक लिलाधर आचार्य, सो वडाका वडाअध्यक्ष निञ्जन काउछालगायतका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थीहरुको उल्लेखनीय सहभागितामा वार्षिकोत्सब मनाइएको थियो ।

वार्षिकोत्सबको अवसरमा विद्यालयको मुखपत्र ‘आवाज’ पुस्तकको विमोचन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । सो अवसरमा विद्यालयका लागि ५० हजार रुपियाँ भन्दा बढी सहयोग गर्ने मानार्थ सदस्य १२ जना, नयाँ अध्यक्ष कोष स्थापना गर्ने ८ जना तथा अक्षयकोषमा रकम थप गर्ने ६ जनालाई सम्मान गरिएको थियो । विद्यालयमा रहेका ५० जना महानुभावहरुद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त छात्रवृति प्रदान, चार जना जेष्ठ सदस्य सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

त्यस अवसरमा पत्रकारहरु अनिल खत्री, मनु सुनार र हुमाकान्त पोखरेललाई विद्यालयको शैक्षिक गतिविधिलाई विभिन्न छापा तथा विद्युतीय माध्यममा प्रचार(प्रसार गराई विद्यालयको ख्याति वृद्धि गर्न पत्रकारको रुपमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले सो अवसरमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

रेसुङ्गा नगरपालिका-८, तत्कालीन तम्घास गाउँपञ्चायत खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो । विद्यालय स्थापनाका लागि समुदायको अग्रसरतालाई भर्खर भारतीय सेनाबाट अवकास प्राप्त स्थानीय तिलबहादुर थापाको नेतृत्वमा विद्यालय स्थापनाको क्रममा केही विद्यार्थी र दुई जना शिक्षकबाट शैक्षिक यात्रा सुरु गरेको यो विद्यालय यहाँका समुदायद्वारा तम्घासमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्थापना गरिएको थियो ।

यो विद्यालय अहिले करिब ६ रोपनी ११ आना जग्गामा विद्यालयका चार वटा पक्की भवनमा ५७ वटा कोठाहरु रहेका छन् । जसबाट ११ वटा विषयगत ल्याब तथा विभिन्न पुस्तकसहितको पुस्तकालय सञ्चालन गरिएको छ । २०६२ सालमा कक्षा १२ सुरु गरिएको यो विद्यालयमा हाल एक हजार ६३१ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका विद्यालयका प्रधानाध्यापक श्रीसले बताउनुभयो ।

यस विद्यालयमा कक्षा ९ देखि साधारण र प्राविधिक धारको अध्यापन हुन्छ । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ र साधारण धारतर्फ मानविकी, शिक्षा, व्यवस्थापन, कानुन, विज्ञान र होटल म्यानेजमेन्टकोसमेत पढाइ हुँदै आएको प्रधानाध्यापक श्रीसले बताउनुभयो । यस विद्यालयले दुई वटा स्कूल बस, आफ्नै चमेनागृह सुविधा सम्पन्न कम्प्यूटर ल्याब, विज्ञान ल्याबसमेत सञ्चालन गरेको छ ।

यस विद्यालय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भएको छ । विद्यालयका लागि पर्याप्त जग्गा नहुँदा खरिदका लागि अहिले अभियान पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो । यस अभियानमा जोडिन शिक्षाप्रेमी सबैमा आग्रहसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?