काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी संकलकहरू आन्दोलनमा उत्रिएका छन् । अनधिकृत रूपमा रहेका संकलन केन्द्रहरूमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलकहरू आन्दोलित भएका हुन् । काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति उनीहरूले विरोध जनाएका छन् । हजारौंको संख्यामा भेला भएका उनीहरूले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनसहित ¥याली निकालेका थिए । उनीहरूले बुद्धनगरबाट सुन्धारासम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले केही दिनअघि काठमाडौंबाट कवाड संकलन केन्द्र नै हटाउने निर्णय गर्नुभएको थियो ।
उनीहरूले अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर्, अदालतको निर्णयको सम्मान गर्, कानुनी शासन लागू गर्, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । महानगरले आफूहरूमाथि ज्यादती गरेको उनीहरूको गुनासो थियो । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिविरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनीहरूको मुख्य माग छ ।
महानगरपालिकाले महानगर मातहतका सम्पूर्ण वडा कार्यालयहरूले कवाडी हटाउने भन्दै कसैलाई ७, १५, तथा ३५ दिनभित्र कवाडी सामग्री पसल हटाई अन्यन्त्र लैजान निर्देशन गरेको थियो । महानगरको निर्देशनपछि सम्पूर्ण कवाडी व्यवसायी र संस्था स्काप हकहित फाउन्डेसन समेतले काठमाडौं महानगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । त्यो ज्ञापनपत्रमाथि महानगरपालिकाले सुनुवाइ नगरी डोजर लिई कवाड व्यवसायीहरूलाई आतंकित पारेकाले आन्दोलन गरेको उनीहरूले बताएका छन् । कवाडी संकलक र व्यवसायीहरू अधिकांश भारतीय छन् । महानगरको यो कदम उच्च र कुलीन वर्गको पक्षमा र गरिखाने वर्गको विरुद्धमा देखिएको उनीहरूले बताएका छन् ।
यसअघि बुधबार राति सुन्धारामा महानगरले सडक व्यापारीमाथि निर्मम कुटपिट गरेको थियो । महानगरले भने आफूहरूले कुटपिट नगरेको बरु प्रतिरक्षा गरेको जिकिर गर्दै आएको छ । तर, नगर प्रहरी सामान खोस्न नभई आक्रमण गर्ने उद्देश्यले नै आएको सामाजिक सञ्जालमा व्याप्त भिडियोमा देखिन्छ । महानगरले नागरिकमाथि निर्घात कुटपिट गरेपछि मेयर साहको विरोध भइरहेको छ ।
मेयरको दम्भ बढ्यो : सिंह
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरूलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले काठमाडौं महानगरपालिका प्रमुखको दम्भ बढेको बताउनुभएको हो । उहाँले काठमाडौंले मधेशका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भए पनि मधेशका मान्छेहरूलाई अपमान गरिएको बताउनुभयो । उहाँले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताउनु भयो । उहाँले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताउनुभयो ।
महानगरमाथि संघीय सरकारले हस्तक्षेप गरोस् : पाण्डे
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताउनुभयो । उहाँले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । उहाँले मिटरब्याजपीडित, लघुवित्तपीडित र सहकारी पीडितहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै, दुग्ध किसानहरूको रकम भुक्तानी गर्न पनि माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच