✍️ भूपप्रसाद धमला
पहाडी पाखाको एउटा फुस्रो गाउँमा झुरुप्प बाक्ला घरहरू देखिन्छन् । बस्तीमुनिको बारीका पाटामा एक हलो गोरु नारिएको अवस्थामा छन् । एकाबिहानै मनवीर बारी जोत्ने तयारी गर्दैछ । बारीमा उसँग बोल्ने अर्को कोही छैन । एकान्तस्थलमा बाल्यकालका स्वर्णिम सपनाहरू एकपछि अर्को गर्दै उसको मानसपटलमा लठारिएर आउँछन् । अनि मनभित्रै उकुसमुकुसिएर विष्फोट हुँदै बाहिर निस्केर बेपत्ता हुन्छन् ।
ती सपनाहरूलाई मनवीरले पक्डेर साँच्न कहिले सकेन । उम्किएर गएका ती सपनाहरूलाई बिबश भएर उसले टुलुटुलु हेरेको छ । आज पनि उसले ती सपनाहरू अनायास सम्झिन्छ किन्तु एक निमेषमै ती हावामा विलीन हुन्छन् । मनवीर विचार गर्छ सपना भनेको के हो ? के यो कहिल्यै विपना हुन सक्दैन ? विचरा एउटा सोझो किसानलाई के थाहा सपनाहरू क्षणभंगुर हुन्छन् । केवल मान्छेको मनमस्तिष्कमा एक छिन आउँछन् अनि फुत्त उडेर गइहाल्छन् । यो अपार ब्रहृमाण्डमा सपनाको कुनै भौतिक अस्तित्व छैन ।
सानो छँदा मनवीरको सपना एउटा थियो । आज उसको सपना अर्कै छ । उस बेला मनवीरको सपना स्कुल जाने थियो । धेरै पढेर जागिर खाने थियो । जागिर खाएर पैसा कमाउने, राम्रो घर बनाउने, बिहे गर्ने, अनि आनन्दपूर्वक जीवन बिताउने सपना थियो । गाउँको परिवेशले गर्दा उसले त्यसो गर्न सकेन । प्रारब्धले हो कि उसले मन पराएकी केटीसँग बिहे पनि हुन सकेन । यसो भनौं कि उसले चिताएको केही पनि भएन तर मनवीरले जीवनदेखि हरेश खाएन ।
मनवीरको एक मनले भन्छ ‘बसी खाने साहुलाई म अब धान चामल दिन्न । काम गर्ने कालु बसी खाने भालु ।’ अर्को मनले तुरुन्त भन्छ ‘हत्तेरिका विद्रोह गर्नै पो कहाँ सकिन्छ र ? विद्रोह गर्नु पनि त एउटा सपना नै त हो ।
गाउँमै कुटो कोदालो गर्ने केटीसँग उसको बिहे भयो । सँगै घाँस दाउरा गर्ने श्रीमती पायो । एक किसिमले ठीकै पनि भयो । सँगै बस्ने सँगै मर्ने सपना साँचेर उसले बिहे गरेको थियो । एक छोरा र एक छोरी जन्मिए । अब त उनीहरूको भविष्य सुन्दर बनाउनु पर्ने हो । मनवीरको मनमा अहिले अर्कै सुदूर सपना आयो ।
अहिले मनवीरले राम्रो खेती गर्ने सपना बोकेको छ । एउटा पर्याप्त खेतबारी, एक हल गोरु, एउटा गाई, एउटा आरामदायक घर, वर्षभरि खान लाउन पुग्ने अन्नपात यति भए उसलाई आफू र आफ्नी श्रीमतीका लागि पुग्छ तर सन्तानका बारे उसको सपना अर्कै छ । आफूले लेखपढ गर्न नपाए पनि आफना सन्तानलाई स्कुल पठाउनु पर्नेछ । कलेजमा समेत पढाएर ज्ञानी बनाउनुछ । राम्रो जागिरमा लगाउनुछ । उनीहरूको कमाइबाट आफ्नो पनि दुःख घटाउनुछ । मनवीरका सन्तानले क्या प्रगति गरे है भनेर गाउँलेले चर्चा गरेको सुन्नुछ । यस्तै-यस्तै सपना छन् उसका । मनवीरका यी सपनाहरू अस्वभाविक पनि होइनन् । खासमा यस्ता सपना जो कोही गाउँलेका हुन्छन् ।
सोच्दा सोच्दै मनवीर आफैँभित्र हराउँछ । हलगोरुतिर फर्केर हेर्छ । विचरा ती अञ्जान पशु जमिनमा गाडिएको हलो तान्न तम्तयार भएर बसेका जस्ता देखिन्छन् । रहले होइन बानी परेर हलो तान्छन ती हलगोरु । मनवीर एक तमासले तिनलाई हेरेर गुन्गुनाउँछ, ‘यी गोरुका पनि मेरा जस्तै सपना होलान् त ? अहँ, यी त पशु हुन् नि साँच्ची ! यिनलाई भगवानले सोच्ने शक्ति दिएका छैनन् । त्यसो भएको भए यिनले मेरो हलो किन तान्थे होलान् ? मान्छे र पशुको बीच यही त फरक होला नि !’
सोचमग्न मनवीर विस्मित अनुहारमा खिसिक्क हाँसिदिन्छ । बुझेर वा नबुझेर मान्छे हुनुको गर्व बोध गर्छ । पशु हुनुको पीडामा संवेदना प्रकट गर्छ । के थाहा बिचरा ऊ आफैंलाई पनि अरू कसैले गोरुजस्तै जोताएको छ । उसको श्रमले कमाएको धान चामल घरमै बसी बसी धनीमानीले खान पाएको छ । उसको ऐश आराम मनवीरको श्रममा अडेको छ । बलियाले निर्धालाई काबुमा राख्ने कुरा प्रकृति र समाजमा एकनासाले नै चलेको हुन्छ ।
मनवीरका सपनाहरू चन्द्रमा छुने रहरका होइनन् । ब्रहृमाण्ड नाघेर अर्को जगतमा जाने रहरका पनि होइनन् । एउटा किसानका स्वभाविक सपना हुन् । उसका सपना आज उस्तै छन् जस्ता हिजो थिए । ऊ सबै सपनाहरू एक-एक गरी सम्झिन्छ ।
मनवीरको एक मनले भन्छ ‘बसी खाने साहुलाई म अब धान चामल दिन्न । काम गर्ने कालु बसी खाने भालु ।’ अर्को मनले तुरुन्त भन्छ ‘हत्तेरिका विद्रोह गर्नै पो कहाँ सकिन्छ र ? विद्रोह गर्नु सत्ता पल्टाउनु पनि त एउटा सपना नै त हो । त्यस्तो विद्रोह गर्नु पनि हुँदैन । पुस्तौंदेखि बाउबाजेले गर्दै आएको चलन छोड्नु हुँदैन ।’ चलन र विद्रोहको दोसाँधमा मनवीर अल्झिन्छ । कुन कुरा ठीक कुन कुरा बेठीक छुट्याउन नसकेर अवाक हुन्छ । अन्यमनस्क मनवीर सोच्दा सोच्दै बिहान बिताउँछ ।
अन्ततः मनवीर हलगोरु धपाएर बारी जोत्न थाल्छ । त्यसरी नै जोत्छ जसरी उसका पूर्खाले जोतेथे । लौरो लिएर हलगोरु धपाउँछ । गोरुले पनि बुझेझैँ गरी खुरुखुरु हलो तान्छ । त्यसरी नै जसरी अरू गोरुले तान्छन् । मनवीर सोच्छ ‘म यो बारी जोतेर अन्न फलाउँछु । खान पुगेर बाँकी रहेको अन्न बेचेर केही पैसा कमाउँछु । सो पैसाले छोराछोरी पढाउँछु । पढिसकेपछि उनीहरूले जागिर भेट्नेछन् । उनीहरूले कमाएको पैसाले हामीलाई पनि सुख शान्ति हुनेछ ।’ मनवीरका सपना यस्तै यस्तै हुन्छन् ।
आखिर हरेक मनवीर कुनै न कुनै किसिमले धनवीर हुन खोज्छ । आफ्नै दृृष्टिकोणको धनवीर । आफ्नै परिभाषाको धनवीर । आफ्नै परिवेशको धनवीर । ‘मनवीर र धनवीर एक अर्काका पूरक नै हुन् कि त ¤’ मनवीर मनमनै भन्छ । बारी जोत्दाजोत्दै दिन बित्छ । गोधुली साँझमा मनवीरले हलगोरु जुवाबाट फुकाउँछ । गोरु पनि साँझ बेला लुरुलुरु मनवीरको घरतिर लाग्छन् । त्यस दिनको दिनचर्या अन्त्य हुन्छ । भोलिपल्ट पनि मनवीर सधैँझैँ गोरु लिएर बारीतिर लाग्छ । उसैगरी जुवामुनि गोरु नार्छ । विचरा हलगोरु लुरुलुरु जुवामुनि काँध थाप्छन् मानौं कि त्यो उनीहरूको धर्म हो । मानौं कि त्यो उनीहरूको नियति हो । नियतिले हो कि धर्मले हो कि संसारको रीत यसै गरी चल्दै आएको छ । फेरि पनि यसै गरी चल्दै जानेछ ।
मनवीरका सपनाहरू चन्द्रमा छुने रहरका होइनन् । ब्रहृमाण्ड नाघेर अर्को जगतमा जाने रहरका पनि होइनन् । एउटा किसानका स्वभाविक सपना हुन् । उसका सपना आज उस्तै छन् जस्ता हिजो थिए । ऊ सबै सपनाहरू एक–एक गरी सम्झिन्छ । आफ्नो बालापनको सपना, युवावस्थाको सपना, अधबैंसे बेलाको सपना, आफ्नो उत्तरवयी जीवनमा सुख शान्तिको सपना । हरेक मान्छेको सपनाको प्रकृति आखिर उस्तै–उस्तै हुन्छ । स्थान, समय र परिवेश अनुसार सपनाको आकार प्रकारमा केही फरक होला ।
दिनभरि हलो जोतेर थकित मनवीर लामो सास फेर्दै हलो जुवा फुकाउँछ । फेरि उसैगरी हलगोरु अघि लगाएर मनवीर आफ्नो घरतिर लाग्छ । मनवीरको दिनचर्या उही । सपना उही । रहर उही । काम उही । बारी उही । वनजंगल उही । हलगोरु उही । गाउँबस्ती उही । समाज उही । यसरी नै उसको आयु छोटिँदैछ । किन्तु मनवीरको सपना कहिल्यै हरियो भएन । उसको जीवनभर हरियो हुने छाँट छैन । मनवीरको मनभरि फुस्रो गाउँको फोस्रो सपना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच