पत्रकार तथा साहित्यकार कुमार भट्टराईको ऐतिहासिक उपन्यास हो ‘२८ साल’ । नेपालमा भएका विभिन्न राजनीतिक घटनाहरूमध्ये नेकपा मालेद्वारा-२०२८ सालमा झापामा गरिएको हिंसात्मक घटनालाई नेपाली राजनीतिक इतिहासमा ‘झापा विद्रोह’ भन्ने गरिएको छ । त्यसबेला त्यहाँ सामन्ती सफाया अभियान चलाएर सामन्तीको अभियोगमा मालेले धर्मप्रसाद ढकाललगायतका व्यक्तिको हत्या गरेको थियो । तत्कालीन पञ्चायत सरकराले यस विद्रोहको दमन गर्ने सिलसिलामा केही व्यक्तिहरूलाई झापाबाट इलाम जेल सार्ने बाहनामा सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो । यसरी हेर्दा २०२८ साललाई नेपालको राजनीतिक इतिहासमा उल्लेख हुने वर्षका रूपमा लिइन्छ ।
यस उपन्यासले नेकपा मालेले गरेको-२०२८ सालको झापाको हिंसात्मक विद्रोहको इतिवृत्तान्तलाई औपन्यासिक ढङ्गले देखाएको छ । यस सम्बन्धमा चासो राख्नेहरूका लागि यो पुस्तक उपयोगी छँदैछ साथै अध्येता, विद्यार्थी तथा शोधकर्ताका लागिसमेत पुस्तक पठनीय र सङ्ग्रहणीय छ ।
इतिहासको विश्लेषण र मूल्याङ्कन गर्ने क्रममा एकथरी राजनीतिज्ञहरूले यसलाई राजनीतिक गौरवका रूपमा लिने गरेका छन् भने अर्काथरीले व्यक्तिहत्याको क्रूर इतिहासका रूपमा लिने गरेका छन् । साहित्यकार कुमार भट्टराईले यसैलाई विषय बनाएर राजनीतिक घटनालाई औपन्यासिक स्वरूप दिएर यो उपन्यास लेख्नुभएको छ । यसलाई ऐतिहासिक उपन्यास भन्नु उचित देखिन्छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.काठमाडौं प्रकाशक रहेको यो पुस्तक उपन्यास विधा हो । यसको प्रमुख वितरक सम्पूर्ण किताब बागबजार काठमाडौं छ, पहिलो संस्करणका रूपमा-२०८० साल पुसमा यो पुस्तक प्रकाशित भएको हो ।
नेपालमा मुद्रित भनिएको हुँदा मुद्रकको नाम अस्पष्ट रहेको छ । डिएमआई साइजको यस पुस्तकमा पहेंलो हलुकाम कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धि कमै मात्र पाइन्छन् । आवरण टाइम्स क्रिएसनले तयार गरेको छ । आवरण सेता सफा पृष्ठको छ र तल रातो रक्त प्रवाहयुक्त हिंसा जनाउने गरी प्रतीकात्मक रूप देखाइएको छ । बीचमा अङ्कमा ‘२८’ लेखिएको छ र त्यससँगै अक्षरमा ‘साल’ भनिएको छ । २८ को आठ अङ्कलाई कलात्मक ढङ्गले एकातिर चुच्चो छुरीजस्तो देखाइएको छ । त्यको चुच्चो भाग रातो छ । यो आवरण पृष्ठ यस कारण अर्थपूर्ण देखिन आएको छ ।
पुस्तकको शीर्षकसँग आवरणपृष्ठ मेल खाने खालको छ । आवरण पृष्ठको भित्रपट्टि यस उपन्यासको उपन्यासकार भट्टराईको यसपहिले प्रकाशित उपन्यास अश्वत्थामाको आवरणपृष्ठ राखिएको छ । पृष्ठ आवरण पनि सेतो सादा छ र यस उपन्यास सम्बन्धमा भनिएका केही शब्द छन् । तल प्रकाशक संस्था साङ्ग्रिला बुक्सको नाम उल्लेख छ । पृष्ठआवरणको भित्र उपन्यासकारको फोटोसहित उहाँद्वारा सिर्जना भएका पुस्तकको नाम उल्लेख छ । जसअनुसार उहाँ झापामा रहेर सञ्चार क्षेत्रमा कार्यरत रहेको थाहा हुन्छ । यस पहिले उहाँका धनबहादुर र म (उपन्यास), नमेटिएका पाइलाहरू, बकाइनो (कथासङ्ग्रह), कृष्ण (सूत्रकथा) र अश्वत्थामा (उपन्यास) प्रकाशित भएको जानकारी पाइन्छ ।
भूमिका खण्डमा उपन्यासकार भट्टराईको ‘भन्नै पर्छ’ शीर्षकमा विचार दिइएको छ । त्यसपछि ‘आरम्भ’ र ‘स्वर्ण वर्षगाँठ’ पछिमात्रै उपन्यासका अध्याय वा खण्डहरू सुरु हुन्छन् । विभिन्न पच्चीस अध्याय र बीचबीचमा उपखण्डहरू छन् र अन्त्यमा उपन्यासको ‘समापन’ पछि ‘प्रस्थान’ भनेर यसको पृष्ठभूमि दिइएको छ । यस उपन्यासले नेकपा मालेले गरेको-२०२८ सालको झापाको हिंसात्मक विद्रोहको इतिवृत्तान्तलाई औपन्यासिक ढङ्गले देखाएको छ । पुस्तको अन्तरभावना बुझ्न पाठकहरूले यो पुस्तक पढ्नैपर्छ ।
यस विषयमा चासो राख्नेहरूका लागि यो पुस्तक उपयोगी छँदैछ साथै अध्येता, विद्यार्थी तथा शोधकर्ताका लागिसमेत पुस्तक पठनीय र सङ्ग्रहणीय छ । यो साङ्केतिक टिप्पणीमा धेरै कुरा लेख्न सम्भव छैन, विस्तारमा समालोचना गर्नु आवश्यक र उपयुक्त हुन्छ । समग्रमा भन्दा यो पुस्तक पढ्नैपर्ने खालको छ । लेखकलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना । उहाँबाट यस प्रकारका अन्य पुस्तकहरू पनि आउन सकून् अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच