आजको पुस्ता विज्ञान सम्मत पुस्ता । आजको पुस्ता आधुनिक सभ्यता र तड्कभड्कमा रमेको पुस्ता । आजको पुस्ता जीवनलाई बाँच्न सुख खोज्ने पुस्ता । आजको पुस्ता समाजलाई केही दिन्छु भन्ने पुस्ता । आजको पुस्ता सपनाको महलमा चढेर जीवनलाई सहज तरिकाले जिउन खोज्ने पुस्ता । यही हो आजको पुस्तामा देखिएको जीवनप्रतिको लक्ष्य र भावना पनि । यही भावना र भोगाइमा रमेको छ आजको पुस्ता । यही पुस्ताले आजको समाजको सामाजिक संरचनामा परिवर्तन गरेको छ । आजको पुस्ताले आफ्ना पूर्वजलाई सम्भन खोज्छ तर सकेको छैन ।
व्यस्तताको जीवनमा हुर्केको आजको पुस्तालाई आफ्ना पुर्खाले के दिए भन्ने मात्र छ ? तर ऊ सित आफ्ना र आफन्तलाई दिने समय भने छैन । व्यस्त जीवनको भुँवरीमा बाँचेको आजको पुस्तालाई जीवन जिउने कलामा नै भ्याइ-नभ्याई छ । जीवनको यही उकुसमुकुसमा रमेको पुस्तालाई शिक्षा हो घनश्याम राकर्णिकारको सम्झनामा मेरा पुर्खा ।
जीवनको भोगाइमा आफ्ना र आफन्तलाई सम्झने व्यक्तिका रूपमा दरिएका छन् घनश्याम राजकर्णिकार । उनको भर्खर–२०८० सालमा सम्झनामा मेरा पुर्खा नामक कृति सार्वजनिक भएर बाहिर आएको छ । उनले आफ्ना पुर्खालाई वा पूर्वजलाई कृतिका माध्यमबाट सम्झेका छन् । जीवनका हरेक क्षण पुर्खाले सञ्चालन गरेको व्यवसायलाई जीवन्त दिने र नेपालको सबैभन्दा पुरानो कृष्ण पाउरोटी उद्योग सञ्चालन गर्दै आएका उनी संस्मरण र यात्रासाहित्यका सबल नक्षत्र हुन् । जीवनमा सबै सुख पाए पनि जीवनलाई भोग होइन योग मान्ने उनले साहित्यमा एउटा नयाँ कृति थपिदिएका छन् ।
घनश्याम राजकर्णिकार जिजुबुबापछि हजुरबुवा हिरामान राजकर्णिकारको दैनिकी र उद्योग सञ्चालनमा गरेको योगदानलाई गतिशील बनाउन सक्रिय देखिएका छन् । उनले आफ्नो उद्योग सञ्चालनमा देखापरेका विरोधाभासको अवस्थालाई पनि जीवन्त बनाएर राखेका छन् ।
उनको संस्मरणका रूपमा रहेको यो कृतिले उनको व्यवसाय र उक्त व्यवसायमा आएका समस्यालाई ज्वलन्त रूपमा उठाएका छन् । व्यवसायमा समस्या नआउने होइन आउँछन् । समस्याको समाधानलाई जुन तरिकाले उनले बाहिर ल्याएका छन् त्यो उनका पूर्वजमा देखापरेको एक किसिमको सुझबुझ मान्नुपर्ने अवस्था रहेको देखिन्छ । पारिवारिक रूपमा देखिएको असन्तोष र त्यो असन्तोषले व्यवसायमा पुर्याएको असरलाई समेत निर्भीकरूपमा राख्न सक्नु पनि उनको लेखनीमा देखिएको सबल पक्ष हो ।
पुर्खाप्रतिको आदरभाव
मानिस सामाजिक प्राणी होे । उसका हरेक क्रियाकलाप समाजप्रति नै जवाफदेही हुनु अनिवार्य मानिएको छ । समाज र परिवारप्रति गरिएका कर्मले नै मानिसलाई मानिस बनाउने गरेको हुन्छ । राजकर्णिकारले आफ्ना पुर्खालाई सम्झने क्रममा सबैभन्दा पहिले आफ्ना जिजुबाजे गजराज राजकर्णिकारलाई सम्झेका छन् । तत्कालीन शासक राणाहरूसित नजिकको सम्बन्धमा रहेका जिजुले जुन किसिमको भावना देखाए त्यो उनको दूरदर्शीपना नै मान्नुपर्ने देखिन्छ ।
जिजुले गरेको धर्म र उनले आफ्नो पेशालाई निरन्तरता दिन जुन किसिमको सङ्घर्ष गरेका छन् त्यसमा उनको पेशाप्रतिको इमानदारीता पूर्णरूपमा झल्केको देखिन्छ । दरवारबाट अपहेलित र उपेक्षित वीरशमशेरलाई उनले आफ्नो पसलमा जे खाए पनि व्यवस्था गरेका थिए । उनले यो वीरपछि गएर ठूलो मानिस हुन्छ यसले पसलमा जे खान्छ पैसा नलिनु भन्नुले गजराज राजकर्णिकार भविष्यद्रष्टा थिए भन्ने सन्दर्भलाई पुष्टि गरेको छ ।
घनश्याम राजकर्णिकार जिजुबुबापछि हजुरबुवा हिरामान राजकर्णिकारको दैनिकी र उद्योग सञ्चालनमा गरेको योगदानलाई गतिशील बनाउन सक्रिय देखिएका छन् । उनले आफ्नो उद्योग सञ्चालनमा देखापरेका विरोधाभासको अवस्थालाई पनि जीवन्त बनाएर राखेका छन् । उनले जिजु र हजुरबुबाले पाउरोटी उद्योगका लागि खर्चेको र सिञ्चेको समयलाई जीवन्त बनाएर यसमा राखेका छन् । हजुरबुबा हिरामान वीरशमशेरका अभिन्न मित्र थिए । आफू शासनमा आएपछि हिरामानलाई सैनिकहरू लिन पठाएपछि उनी डराएका थिए । वीरशमशेरले मित्रप्रति गरेको व्यवहारले स्वयं उनलाई अचम्ममा पारेको छ ।
तत्कालीन समयमा आठ दश सैनिक हिरामान राजकर्णिकारलाई लिन पाटनको टंगलटोलमा लिन पठाएपछि उनी डराएको घटनालाई लेखकले कति सहज तरिकाले पुस्तकमा उतारिदिएका छन् । यति सरल र सहज अभिव्यक्तिका माध्यमबाट उतारिएर आएको यो संस्मरणमा लेखक स्वयं उपस्थित भएको देखिन्छ । घनश्याम राजकर्णिकारले आफ्ना पुर्खालाई गतिलो तरिकाले मात्र होइन उनीहरूले गरेका सबै कर्मलाई पुस्तकमा राखिदिएका छन् । हजुरआमा लक्ष्मीकुमारी राजकर्णिकार मल्ल राजाकी चेली रहेको कुरालाई जीवन्तरूपमा यहाँ लेखकले उतारेका छन् । उनको लेखनीले उनका पूर्वजले गरेका राम्रा कामको मात्र फेरिहस्त यहाँ देखाएका छैनन् ।
कतिपय अवस्थामा गरिएका कामलाई उनले नराम्रो पनि मानेका छन् । हजुरबुबाले भक्तपुरबाट तरुनी भगाएर श्रीमती बनाएको प्रसङ्गलाई उनले यति सरल तरिकाले कृतिमा पोखेका छन् त्यसले घनश्याम राजकर्णिकारको साहित्यिक व्यक्तित्व निखारिएर आएको देखिन्छ । यात्रासाहित्यमा सबल मानिएका उनले जसरी संस्मरणमा आफूलाई पोखेका छन् त्यसले उनको लेखनीको पहिचान गतिलो बनेर आएको देखिन्छ । अन्ततोगत्वा एक दिन चाँजोपाँजो मिलाई त्यतैतिर दरबारस्क्वायरको आँगनमा रहेको पशुपति मन्दिरमा पूजा गर्न आएका पम्फाकी फूल जस्ती सुकोमल युवतीलाई हजुरबाले भगाएर काठमाडौँ त्याइपुर्याउनुभएछ । काठमाडौँ पुगेका दुईचार दिनपछि मात्र हजुरबा त विवाहित पुरुष भन्ने कुरा हजुरआमालाई थाहा भएछ । यो हजुरबुबाले गरेको बदमासी हो । यस्तो परिवारको गोपनीय कुरालाई पनि नढाँटीकन राख्न सक्ने खुबी घनश्याम राजकर्णिकारमा मात्र देखिन्छ ।
परिवारका सदस्य र उनीहरूले गरेका कामको लेखाजोखा पनि घनश्याम राजकर्णिकारले यो कृतिमा उल्लेख गरेका छन् । बौद्ध धर्मका अनुयायी उनका पिताले गरेको योगदानलाई उनले सजिलो तरिकाले कृतिमा समावेश गरेका छन् । पारिवारिक रूपमा कृष्णबहादुर राजकर्णिकारका जेठा छोराले कचकच गरिरहेको अवस्थामा आफ्नो पुख्र्यौली थलो पाटनको हौगलबहालमा बुबाले बुद्धको मूर्ति तत्कालीन समय २००५ मा दश–बाह्र हजार खर्च गरेको प्रसड्गले कृष्णबहादुर राजकर्णिकार धार्मिक आस्थाले भरिएका व्यक्तिका रूपमा चित्रित भएका छन् । उनले आफू र आफन्तमात्र होइन मावलीतर्फकी हजुरआमा मानकुमारी ताम्राकारलाई पनि कृतिमा गतिलो तरिकाले उतारेका छन् ।
आफू पोखरीमा ड्ुबेको घटनालाई बाहिर ल्याउने क्रममा आमाको ममतालाई सम्झँदै उनी भन्छन् कोठामा पुग्नासाथ उहाँले झटपट मेरा भिजेका कमिज र पाइन्ट फुकालिदिनुभयो । म नाड्गो भएँ । मेरो बोबोचा छर्लड्ग हुँदा लाजले भुतुक्कै भएर मैले रुँञ्चे हाँसो हाँस्न थालेँ । आमा भने कत्ति हाँस्नुभएन, उहाँले मलाई पटक्के गिज्याउनुभएन । कति निश्छल तरिकाले राजककर्णिकारले आफ्ना भावनालाई नलुकाइकन पोखेका छन् । यही निश्छलता नै घनश्याम राजकर्णिकारमा देखापरेको साहित्यिक मान्यता हो । कतिपय साहित्यकारले आफूले गरेका राम्रा कामलाई मात्र कृतिमा उतारेका हुन्छन् तर राजकर्णिकारको यो पस्काइ साहित्य लेखन आत्मिक सन्तुष्टि हो भन्ने कुरालाई प्रमाणित गर्ने अवस्थाको देखिएको छ ।
सम्मानका पर्याय राजकर्णिकार
साहित्य मनको बह हो । यात्रासाहित्यमा पनि निश्छलरूपमा प्रकट भएका घनश्याम राजकर्णिकार यो कृतिमा पनि सहज तरिकाले अभिव्यक्त भएका छन् । उनले आफ्नो परिवारका तीन पुस्तालाई कृतिमा उतारेका छन् । हलुवाईको काम गरेर जीवन चलाउने उनको परिवारबाट नै नेपालमा पहिलो पाउरोटी उद्योग आरम्भ भएको कुरालाई नेपालको इतिहासले पनि बताएको छ । उक्त पाउरोटी उद्योग सञ्चालनमा देखापरेका समस्याको समाधानमा पिता कृष्णबहादुर राजकर्णिकारको योगदान जति देखिएको छ त्यसमा उनको मिहिनेतलाई कदर गर्नुपर्ने देखिन्छ । आफू बाँचेको समाज र दरबारिया वातावरण हुर्केका उनलाई जीवन निर्वाहका लागि खाशै समस्या देखिँदैन । पिताले कलकत्ता गएर पाउरोटी बनाउन सिकेको कुरा र मेसिनबाट पाउरोटी बनेको कुरालाई समेत उनले कृतिका माध्यमबाट बाहिर ल्याएका छन् ।
उनले कृतिमा सबै राम्रा कुरामात्र राखेका छैनन् । हजुरबुबाले केटी भगाएको, दाजुले उद्योग सञ्चालनमा व्यवधान उपस्थित गरेको, कृष्ण पाउरोटी उद्योग रुग्ण प्रायः भएको अवस्थालाई कति सजिलो तरिकाले कृतिमा राखेका छन् त्यो उनमा देखापरेको सत्यप्रतिको मोह हो ।
आफ्ना पुर्खा मानिसका लागि सम्मानका पर्याय हुन् । पिता पुर्खाका कारणले आजका हामी समाजमा व्यवस्थित तरिकाले जीवन यापन गरिरहका छौँ । घनश्याम राजकर्णिकारले आफ्ना पुर्खाले गरेका कर्मलाई र उनीहरूको योगदानबाट आफ्ू यो अवस्थामा पुगेको कुरालाई यहाँ राखेका छन् । मेरा कारणबाट कृष्ण पाउरोटी उद्योगले गति लिएको हो भन्न उनले भ्याएका छैनन् । राणाको चाकरी गरेर ठूला बनेका आजका मान्छे आफूलाई राणाविरोधी माने पनि राजकर्णिकारले असत्य बोलेका छैनन् । राणहरूको सम्पर्कका कारण हाम्रो अवस्थामा परिवर्तन आएको कुरालाई राखेका छन् । उनले राणाबाट बक्सिस पाएर नभई आफ्ना पुर्खाले गरेको परिश्रमका कारण यो अवस्थामा पुगेको हो भन्ने सन्दर्भलाई गतिलो तरिकाले पुस्तकमा पस्केका छन् ।
इतिहासको झल्कोे
घनश्याम राजकर्णिकारको यो कृति इतिहासको झल्को बनेर आएको छ । इतिहास आफैँमा सत्य हुन्छ । राजकर्णिकारले इतिहास लेखेका छैनन् । तर इतिहासमा आफ्नो परिवारबाट भएका कर्म र राणाहरूको सम्पर्कले गरेको पारिवारिक प्रगतिलाई उनले नढाँटीकन कृतिमा राखिदिएका छन् । उनको पारिवारिक अवस्था र कृष्ण पाउरोटी उद्योगले भोग्नुपरेको आरोह अवरोहलाई समेत कृतिमा समावेश गरिदिएका छन् । आफ्ना पुर्खालाई सम्झेको भए पनि पुर्खासित आएको इतिहास कृतिमा सबल तरिकाले उद्घाटित भएको छ । कृतिकार घनश्याम राजकर्णिकार कृतिका सबै भागमा शुद्ध तरिकाले बाहिर आएका छन् ।
उनले कृतिमा सबै राम्रा कुरामात्र राखेका छैनन् । हजुरबुबाले केटी भगाएको, दाजुले उद्योग सञ्चालनमा व्यवधान उपस्थित गरेको, कृष्ण पाउरोटी उद्योग रुग्ण प्रायः भएको अवस्थालाई कति सजिलो तरिकाले कृतिमा राखेका छन् त्यो उनमा देखापरेको सत्यप्रतिको मोह हो । उनी एक निर्भीक मात्र होइन अनुभव र भोगाइलाई जस्ताको त्यस्तै साहित्यमा पस्किने कृतिकार हुन् । संस्मरणको मुख्य विषय आफ्ना पुर्खालाई चिनाउनु हो । पुर्खालाई सबै राम्रा काम गर्ने व्यक्ति हुन् भन्ने कुरालाई राजकर्णिकारले स्थान दिएका छैनन् । उनले जस्तो पाए र जस्तो सुने पुर्खाका बारेमा त्यसलाई निश्छल तरिकाले यहाँ पस्किदिएका छन् । चित्रहरू र प्राचीन लिपिलाई समेत स्थान दिइएको यो कृति घनश्याम राजकर्णिकारको संस्मरणमा देखिएको नौलो पाइलो हो ।
सात अध्यायमा विभाजन गरिएको यस कृतिले घनश्याम राजकर्णिकारलाई सत्य वक्ताका रूपमा चिनाएको छ । सत्य पनि पारिवारिक घटनाक्रमलाई जीवन्त बनाएर रड्गरोगन नगरी पस्किने साहित्यकारका रूपमा उभ्याएको छ । उनको लेखनीले जुन कुरालाई वा परिवारका कुरालाई जस्ताको त्यस्तै पस्केको छ त्यसले उनी उत्तरवर्ती पुस्ताका लागि प्रेरणाका स्रोत पनि हुन् । त्रियासी वर्षको उमेरमा पनि आफूलाई साहित्यमा सक्रिय बनाउने उनको लेखनीले पाठकलाई अझै उत्तमोत्तम कृति प्रदान गर्नेछ भन्ने विश्वाससहित उनको दीर्घ र सक्रिय जीवनको कामनासहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच