बजेट कटौतीले सम्पन्न योजनाको भुक्तानीमा समस्या

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीका स्थानीय तह पनि बजेट कटौतीले अप्ठयारोमा परेका छन् । संघीय सरकारले तेस्रो चौमासिकमा स्थानीय तहको बजेट कटौती गर्दा योजनाको भुक्तानीमा समस्या भएको हो ।

तेस्रो चौमासिकको वित्तीय समानीकरण अनुदानबाट आउने रकमबाट ५० प्रतिशत बजेट कटौती गर्दा चालू बर्ष सम्पन्न भएका योजनालाई अन्तिममा भुक्तानी दिन समस्या भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । उहाँले निर्माण सम्पन्न भइसकेकै योजनाको भुक्तानी दिन समस्या भएको बताउनुभयो ।

“बजेट अनुसार योजना निर्माण गरी कार्यान्वयन गरौँ। आर्थिक वर्षको अन्तिममा तेस्रो चौमासिकमा बजेट कटौतीले समस्या निम्त्याएको छ ।”- उहाँले भन्नुभयो। “यस बर्ष कार्यान्वयन भएका योजनाका भुक्तानी दिनका लागि आगामी बर्षमा बजेट विनियोजन गर्नुपर्ने समस्या सृजना भएको छ।”

नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुङ्गानालाई कार्यालयमा स्वागत गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले तेस्रो चौमासिकमा भएको बजेट कटौतीले कार्यान्वयन रहेका योजनालाई भुक्तानी दिन समस्या भएकोे उल्लेख गर्नुभयो । उहाँले आगामी बर्षमा यसरी बजेट कटौती गर्ने समस्या रोक्नलाई नेपाल नगरपालिका संघले दवाव सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।

संघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले योजना निर्माण धमाधम भईरहेको बेला बजेट कटौती गर्ने प्रक्रियालाई आगामी आर्थिक बर्षमा रोक्नका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संघ र प्रदेशमार्फत हुने बजेट कटौती गर्ने समस्यालाई रोक्न संघले दबाव सिर्जना गर्ने बताउनुभयो । “स्थानीय तहको आन्तरिक आम्दानी कम हुदाँ बजेट कटौतीले समस्या उत्पन्न भएको छ । आम्दानीका स्रोत बढाउनतर्फ नगरपालिकाले सोच्नुपर्ने भएको छ।”- उहाँले भन्नुभयो ।

स्वागत तथा भेटघाट कार्यक्रममा नगरपालिका उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र प्रमुख प्रशासकिय अधिकृत ढकाल उपस्थित हुनुहुन्थ्याे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?