![जसले क्रान्तिको नेतृत्व गर्छ, उसले नै शान्तिको महत्व बुझ्छ : प्रधानमन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Prime-Minister-Pushpakamal-Dahal-parchanda.jpg)
काठमाडौं । गत फागुन अर्थात् एक वर्षअघि राष्ट्रपतिको चुनावमा बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितका दलहरू सम्मिलित वर्तमान सत्ता गठबन्धन धर्मराएको छ । माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको चुनावमा कोशी प्रदेशमा सत्ता गठबन्धन तर्फको माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि सार्वजनिक हुन थालेको असन्तुष्टि अहिले गठबन्धन टुट्नेसम्मको अवस्थामा पुगेको छ । गत हप्ता नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आसन्न राष्ट्रियसभा अध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेसँगै सत्ता गठबन्धन संकटमा परेको आशंका सुरु भएको छ ।
चुनावअघि गठबन्धनका दलहरूबीच नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने अनौपचारिक सहमति भएको बताइएको छ । तर, कोशी प्रदेश प्रकरणले कांग्रेसप्रति रुष्ट बनेको सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष कुनै हालतमा नछोड्ने अडान राखेपछि गठबन्धनमा समस्या उत्पन्न भएको हो । विकसित घटनाक्रम, निर्णय र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति शैली हेर्दा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारकै विषयले वर्तमान गठबन्धन पूर्व–सहमतिबमोजिम अगाडि बढ्नेमा भने पर्याप्त शंका देखिएको छ । त्यति मात्र नभई राष्ट्रिय सभाको अध्यक्ष पदकै कारण गठबन्धन नै धरापमा पर्ने आशंका गर्न थालिएको छ ।
प्रधानमन्त्री प्रचण्डका पछिल्लो प्रत्येक अभिव्यक्तिमा पनि कांग्रेससँग देखिएको असन्तुष्टि प्रष्ट देखिने गरेको छ । अर्कातिर एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री प्रचण्डसँग नजिक हुँदै गएको घटनाक्रमले थप आशंका बढाएको छ । यसबीचमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पटक-पटक संवादसमेत भएको निकट स्रोतको भनाइ छ । शुक्रबार नारायणी किनारमा उद्घाटन भएको भरतपुर भ्रमण वर्ष समारोहमा ओली उपस्थित हुनु यसको पछिल्लो उदाहरण हो । सत्ता गठबन्धनमा अप्ठ्यारो पार्नेगरी माओवादी केन्द्रले निर्णय गर्नु, अनि प्रचण्डले भरतपुर पुगेर कांग्रेस महासमिति बैठकमा भएको छलफलप्रति असन्तुष्टि राख्नु र ओली चितवन जान तयार हुनु आफैँमा संयोग मात्रै मान्न सकिँदैन । एमाले नेताहरूले पनि राष्ट्रियसभा अध्यक्षलाई लिएर प्रधानमन्त्री प्रचण्डसहित माओवादी नेताहरूसँग छलफल चलिरहेको स्वीकार गरेका छन् ।
सत्ता गठबन्धनमा असन्तुष्टिका संकेतहरू देखिन थालेका बेला पृष्ठभूमिमा पुस १० ब्युँताउने प्रयास निकै अगाडि बढिसकेको नेकपा एमाले र माओवादी केन्द्रका कतिपय नेताहरूको दाबी छ । एमालेका केही नेताहरूको दाबी मान्ने हो भने कांग्रेसकै समर्थनमा राष्ट्रियसभा अध्यक्ष पाए पनि प्रचण्ड यो गठबन्धनलाई निरन्तरता दिन इच्छुक देखिनुभएको छैन ।
२०७९ पुस १० मा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । त्यो सहकार्य राष्ट्रपति निर्वाचनसम्म पुग्दा (६२ दिनमै) टुट्यो । तर, एक वर्षपछि राष्ट्रपति निर्वाचनको तीक्तता भुलेर ओली र प्रचण्ड सहमतिको नजिक पुग्नुभएको हो । प्रचण्ड-ओलीबीच भइरहेको भेटवार्ताको नतिजा राष्ट्रियसभा अध्यक्षको निर्वाचनसम्ममा प्रकट हुनसक्ने आँकलन गर्न थालिएको छ । नेपाली कांग्रेसबाट कोशी प्रदेशमा पटक–पटक पाएको धोका, सरकारलाई सुशासनका काममा गरेको असहयोग र मन्त्री फेरबदलमा सभापति शेरबहादुर देउवाको अनिच्छापछि प्रचण्डले फेरि ओलीसँग मिलेर जाने प्रयास गर्नुभएको हो । एमालेलाई पनि एक्लै हुँदा केन्द्रदेखि प्रदेशसम्मकै सत्ताबाट टाढिनुपरेको, निर्वाचनमा कांग्रेसभन्दा कमजोर हुनुपरेको, नयाँ दलले चुनौती दिएको अवस्थामा माओवादीको साथ आवश्यक छ । अन्तिममा ठूलै चमत्कार नभए राष्ट्रियसभा अध्यक्ष निर्वाचनसम्म पुग्दा वर्तमान गठबन्धन भत्किने सम्भावना प्रबल रहेको कतिपयको दाबी छ ।
माओवादी केन्द्रका नेताहरू कांग्रेससँगको गठबन्धन टुटाउने प्रयत्नमा लागिरहँदा नेपाली कांग्रेस भने गठबन्धनलाई निरन्तरता दिने प्रयासमा लागेको छ । कांग्रेसका नेताहरू गठबन्धन नटुट्ने दाबी गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं पनि गठबन्धन फेरबदल नहुनेमा विश्वस्त देखिनुभएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि सभापति देउवा गठबन्धन नटुट्नेमा ढुक्क रहनुभएको कांग्रेसका एक पदाधिकारीको भनाइ छ । पदाधिकारी बैठक बस्नु अघिल्लो दिन प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुग्नुभएका उपप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि वर्तमान गठबन्धन पाँच वर्षसम्म चल्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकै दिन सभापति देउवाले नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई दूत बनाएर बालुवाटार पठाउनुभएको थियो ।
प्रचण्डसँगको भेटमा गठबन्धन टुटाउन नहुने सर्तमा सबै विकल्पका निम्ति छलफल गर्न तयार रहेको देउवाको सन्देश कार्कीले प्रस्तुत गर्नुभएको थियो । राजनीतिक गतिविधि तीव्र भइरहँदा सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्षको चुनावका कारण गठबन्धन टुटाउनतिर नलाग्न भन्दै भेटेरै प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीले यो विषयमा औपचारिक धारणा नराखे पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि गठबन्धन टुटे प्रतिउत्पादक हुने चेतावनी दिनुभएको थियो ।
गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गर्नुभएको छ । प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औँल्याउँदै मन्त्री साउदले भन्नुभयो, ‘जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ । प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।’
गठबन्धनमा खटपट आएको छैन : मन्त्री शर्मा
नेकपा माओवादी केन्द्रकी नेतृ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेकपा माओवादी केन्द्रको कारण गठबन्धन तलमाथि नहुने दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले अध्यक्षमा दाबी गर्नु स्वाभाविक भएको जिकिर गर्दै शर्माले भन्नुभयो, ‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन । माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रूपमा पनि आयो । अहिले जति विषयहरू उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो । माओवादीका कारण गठबन्धन तलमाथि हुँदैन ।’
राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताउनुभएको छ । राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको तर्क गर्नुभएका कोइरालाले राजनीतिको उत्तारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने स्पष्ट पार्दै भन्नुभयो, ‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल । हात छ, सीप छ दिमाग छ । अप्रेसन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अप्रेसन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेसन गरेँ रिजल्ट राम्रै भयो । तर, राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन । तर, त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’
प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता
सत्ता गठबन्धनका विषयमा अनेक आशंका उब्जिरहेको अवस्थामा शनिबार प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । पछिल्लो समय राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि यही विषयले गठबन्धन फुट्न लागेको सम्मका चर्चा भइरहेका छन् । यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राख्नुभएको स्रोतको भनाइ छ । यस्तै, नेताद्वयबीच आसन्न उपचुनावका विषयमा पनि छलफल भएको बताइएको छ । यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डलाई भेटेर सहमतिमै राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार तय गर्न सुझाव दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच