✍️खिमानन्द आचार्य
क्रमशः
एक दिनको कुरा हो । काम विशेषले बाहिर गएको थिएँ । घरमा फर्केर आउँदा ढोका बन्द रहेछ । आँगनमा उभिएको मात्र के थिएँ–
रमिलाः ‘कहाँ जानुभएको थियो ?’
‘काम विशेषले पल्लो गाउँतिर गएको थिएँ घर बन्द छ । कता गइछ कुन्नि... ?’
‘हेर्नुस् न, के भयो त्यसलाई त्यो उमेरमा के बात लागेको हो । के-के भन्दै थिई । मलाई त सुन्न पनि मन लागेन । घर–परिवार, छरछिमेक केही नचाहिने किन यति भ्रष्ट भएकी हो । छोरा पढ्न गएको छ, फर्केर आउँदा के भन्ला । आमा हिँडी रे भन्दा छोरीलाई के भन्लान् । समाजका अगाडि इज्जतका खातिर पनि सोच्नुपर्छ । अब ऊ आउँदिन रे !’
जीवन एउटा यात्रा हो, यात्रामा कति साथी भेटिन्छन्-सबैले यात्रामा साथ दिन्छन् भन्ने त छैन । भगवान् रामचन्द्रले पनि आखिर जीवन एक्लै बिताउनुपरेको थियो भने, म त मानिस । त्यो गएकोमा मलाई दुःख पनि छैन, सुख पनि । किन भन्नुहुन्छ भने जसको बारेमा मैले केही लेखेँ भने रामायण तयार हुन्छ । न छोरी, न छोरा, न श्रीमान्-उसलाई कसैको चिन्ता थिएन.....। घरमा आयो कि दिन-रात झगडा-फगत कलह । छोरी घर गएपछि एक दिन फर्केर आइन । बिचरा छोरालाई केही थाहा छैन-यसको भ्रष्ट मति देखेर नै मैले सकीनसकी बोर्डस राखेको हुँ । पर्सी छोरो भेट्न जाने हो । अब के भन्ने उसले सोध्ने होला ।
हेर, यो संसारमा आफ्नो भन्ने कोही छैन । कोही कसैका लागि अभिनय पनि गर्न सक्दैन । ‘सङ्गत अनुसारको फल’ भन्ने कुरा साँच्चै रहेछ । मलाई जे कुरा मनमा लागेको थियो, त्यो भएरै छाड्यो । किन मैले त्यस्तो सोचेँ सहधर्मिणीप्रति, मलाई थाहा छैन । फगत उसको मप्रतिको व्यवहारलाई मात्र विश्लेषण गरेको थिएँ-ऊ सत्यको धरातलमा छैन भनेर ।
म अनपढ गँवार साबित भएँ । मैले उसको अन्तरआत्मा बुझ्न सकिनँ । कामवासनालाई महत्व दिनु मेरो भूल भयो । मैले सम्झेँ-अब ऊ मैले जे भन्छु त्यही मान्छ । मेरो यो एकोहोरो सोचको काँचको महल एकैछिनमा ढलेर धूलो भयो ।
‘आखिर काका, उहाँ त अहिले माइतीमा हुनुहुन्छ रे त । माइतीको घर धानेर बस्नुभन्दा त आफ्नै घर बेस हुनुपर्ने ।’
‘हेर बाबु, ‘भाग्यले दिए पनि बेहोराले दिँदैन’ भनेको यही हो । पछि रमिलासँग भेट हुँदा भन्थी रे-पहिले जोसँग हेलमेल भयो, उसले मलाई यसरी मोहित पा¥यो, मैले ऊविनाको जिन्दगी कल्पना गर्न पनि सकिनँ । घर गएपछि झगडा मात्र गरेँ । उसको सज्जनतालाई मैले कमजोरी ठानेँ । दिउँसै सपना देखाउनेसँगको जिन्दगी नै सुखद् लाग्न थाल्यो । उसको परिवारको बारेमा सोच्ने फुर्सतसमेत भएन । म मूर्ख हुँ । छोरा पढ्न गएको छ, छोरी घर गएकी छ, ती कुराहरूले मलाई । कहिले छोएन । आखिर ऊ पनि छोराछोरीको बाबु रहेछ ।
म अनपढ गँवार साबित भएँ । मैले उसको अन्तरआत्मा बुझ्न सकिनँ । कामवासनालाई महत्व दिनु मेरो भूल भयो । मैले सम्झेँ-अब ऊ मैले जे भन्छु त्यही मान्छ । मेरो यो एकोहोरो सोचको काँचको महल एकैछिनमा ढलेर धूलो भयो-जब म घरबाट सदाका लागि निक्लेर उसलाई भेट्न गएँ ।’
‘म परिवार बिनाको नागा होइन-एक्कासि तिम्रो पछाडि लागेर लुरुलुरु हिँडूँ । मैले कहिले भनेँ तिमीलाई जीवनसाथी बनाउँछु भनेर । उत्तेजनामा गरिएका सबै कुरा सत्य हुँदैनन् । मनको लड्डू घिउसँग खाएर हुन्छ ? कतै तिमी पागल त भइनौ-त्यस्तो सुन्दर घर आफसेआफ एकै छिनमा आवेशमा आएर भत्काउने ? हेर, तिमी सही अर्थमा निरोगी छैनौ । तिमी पागल पागल पागल ! जुन निर्णय यति सजिलै लियौ–त्यो सामान्य मनस्थिति भएको मानिसबाट सम्भव छैन । असामान्य मनस्थितिको उपज । म तिमीले जस्तै मेरो सुन्दर भविष्य र घरपरिवारको आस्था, विश्वासको महल भत्काउन सक्दिनँ । मेरा श्रीमती छोराछोरी सबै छन् । सामाजिक इज्जत प्रतिष्ठा म तिम्रो लागि धूलो बनाउन कहाँ सक्छु र ?
यति सजिलै भएको घर भत्काउँदै हिँड्नेको के आधारमा म सजिलै चिप्लेर बगूँ ? कामवासनाको आवेशमय भावोक्ति यथार्थ हुन सक्दैन । मैले त केवल तिम्रो आशयलाई तत्काल साथ दिएको हुँ । यति कमजोर, निष्ठुर, ममताहीनसँग मैले कसरी सुखद् भविष्यको कल्पना गर्न सक्छु । हो, केही हदसम्म मेरो गल्ती होला । कहिले गुलियो वचन बोलेँ हुँला । यसको मतलब भइरहेको सुन्दर घर भत्काउन भनेको होइन । त्यही नै तिम्रो कमजोरी । फेरि यो एकल निर्णय । बिनासल्लाह, सोच । काम पाउन यति गाह्रो छ, भएको जागिर छोडेर म तिम्रो पागलपनको लागि बेखर्ची बनूँ ? मेरो परिवार, छोराछोरी भोकै मर्दैनन् ? त्यो बहुलठ्ठीपनको शिकार म बन्न सक्दिनँ ।’
‘अब म के गरूँ त ? कहाँ जाने ? म त घरमा आउँदिन भनेर-खबरसमेत दिएर आएँ । तिम्रो विश्वासले गर्दा मलाई तिम्रो घर परिवार, छोराछोरी छन् भन्ने नै भएन । भूल भयो । मैले सोच्नुपर्ने । म त खत्तम भएँ नि त ! कहाँ जाने !’
‘त्यस्तो निर्णय लिँदा कसैलाई सोध्यौ ? सोधिनौ । सबै कुरा आफैँले सोचेजस्तो हुन्छ ? नाबालक होइनौ त्यति पनि सोच्न नसक्ने । हो लौ- लोग्नेको त माया लागेन, आफूले जन्म दिएका सन्तानप्रतिको कर्तव्य कता हरायो ? लाग्छ, तिमी पागल हौ । म तिम्रो कल्पनाको सागर हुन सक्दिनँ । न त पहाड बनेर तिम्रो दुष्कर्महरू टुलुटुलु हेरिरहन सक्छु । किनकि, जुन धोका तिमीले उसलाई दियौ भोलि मलाई दिँदैनौ भन्ने विश्वास गर्ने आधार तिमीमा छैनन् । यदि भावाभिव्यक्तिको भरोसामा परेर निर्णय लिएको हो भने म क्षमा चाहन्छु, तिमी जहाँबाट आएकी हौ, उहीँ जानु कल्याण हुन्छ ।’
हेर बाबु, यो संसार विचित्रको छ । हाँस्ने, हँसाउने, रुने, रुवाउने सबै कर्महरू आफ्नै मनभित्रबाट सिर्जना हुने कुरा रहेछन् । विश्वासको सगरमाथा चुल्याउने र निमिट्यान्नै पारेर मरुभूमिको यात्रामा लाग्ने पनि आफैँ रहेछ । प्राप्त भएको चिजलाई मूल्यहीन ठान्ने कमजोर मनस्थितिको उपजले मानिसलाई दोबाटोमा पुग्नुपर्दछ । मन हो, एकैछिनमा बेगवान् गतिमा बग्छ, मनमा उत्पन्न हुने एकपछि अर्को सोच, सबैले असल मार्गमा पुयाउनसक्छ भन्ने होइन, त्यसको सत् पक्ष र असत् पक्ष छुट्याउनसक्नु बुद्धिमानी हो । त्यसले मानिसलाई मानिस बन्न प्रेरित गर्छ ।
रिस र आवेशको निर्णय कहिले असल हुनसक्दैन । तन घरमा, मन अन्यत्रै भएर हुँदैन । दुवै एकै ठाउँमा छैनन् भने स्वरूप राम्रो भएर हुँदैन । न त कुलीनताले काम दिन्छ । कुलीनताले मान्छेलाई डोयाउने होइन, कुलीनतालाई मानिसको असल सोचले लगाम लगाउनसक्यो भने मात्र ऊ असल बन्न सक्छ । पूर्वजको कमाइ सही मानेमा सहयोगी साबित हुन्छ । सबै मनका तरंगहरू जीवनको मार्गदर्शक हुनसक्दैनन् ।
कुरा के भने म पनि ज्यादै पीडाको महसुस गर्न पुगेछु । उसको व्यवहारको नीचताको पराकाष्ठा केही बाँकी रहेन । उसका मधुर स्वररूपी तीखा बाणहरू-जो कुनै शब्द-सागर निर्माणकर्ताले पनि आफ्नो शब्दकोषमा स्थान दिनसक्दैन र दिएको पनि छैन-त्यस्तो मर्मभेदन गर्ने प्रवृत्ति बारम्बार दोहोरियो । परिणामतः एक दिन आत्महत्या गर्ने इच्छा जागृत भयो । संसार शून्य देखेँ । कोही पनि आफ्नो देखिएन । मर्नु र बाँच्नुमा कुनै फरकको अनुभव भएन.....।
त्यस्तो कहाँ हुन्छ-आत्महत्या गर्नु भनेको कमजोर मनस्थितिको उपज होइन र ? जीवन त आफ्नो हो, अरू कसैको होइन । यसको मालिक मन हो, जब मालिकरूपी मनले बाटो बिराउँछ तब सुन्दर जीवन न्धकारमा धकेलिन्छ वा समाप्त हुन्छ । फेरि अर्को पक्ष के छ भने, भावावेशमा आएर मृत्युवरण गर्दा पनि आत्माले शान्ति पाउँदैन भन्छन् । त्यो कुरा भन्नेहरू जानून् । असहज परिस्थितिमा देहबाट आत्मा अलग हुनसक्दैन-त्यो ध्रुवसत्य हो । आत्मा अमर छ ।
यसले पुरानो घर छोड्ने र नयाँ वरण गर्ने शाश्वत सत्य कुरा हो । तिमीलाई थाहा छ कि छैन, रिसको आवेश, पारिवारिक कलहले घर जंगलसमान हुन्छ-त्यसैले पनि मृत्युवरण गर्न इच्छुक भएँ । अनि बाटो नलागेको होइन-बीच बाटोमा पुग्दा-नपुग्दै मनले भन्यो-के तँलाई तेरो जीवन तेरो श्रीमतीले दिएको हो ? जसले तँप्रति अनास्था, अनादर गर्छे, अर्को सुन्दर संसार निर्माण गर्न लागेकी छ भन्ने कुरामा तँ विश्वस्त छस्-अनि तँ कसका लागि आत्महत्या गर्छस् ?
आखिर तेरो कमजोरीको कारण अर्को आत्माले सदैव तड्पिनुपर्ने हुन्छ । तेरा सन्ततिहरू के कारणले दुःखी हुनु । आत्महत्या नीचताको पराकाष्ठा, जीवनप्रतिको निराशाबोध, कर्तव्यबाट च्यूत प्राप्त उपलब्धिप्रति असन्तुष्टि, जीवनरूपी यात्रामा प्राप्त हुने-सफल र असफलताबाट प्राप्त हुने गलत निष्कर्षले गर्दा मानिसले आत्महत्या गर्छ भन्ने विचारको स्फूरणले गर्दा म बाटोबाटै फर्केर आएँ । त्यस्तैमा अनायासै उसले घर छोडेको कुराको खबर प्राप्त भयो-यदि मैले त्यो गलत निर्णय कार्यान्वयन गरेको भए .... ? समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच