
संस्कृतमा एउटा उक्ति छ अनायक विनश्यन्ति, नश्यन्ति बहुनायका नायक भएन भने नाश हुन्छ धेरै नायक भए पनि नाश हुन्छ । घर, समाज र राष्ट्र यही रूपमा चलेको हु्न्छ । प्रजातान्त्रिक व्यवस्था पार्टीगत रूपमा चल्ने शासकीय पद्यति हो । यो व्यवस्था पार्टीको निर्णयले शासनलाई गति दिने किसिमका हुन्छ । पार्टीका माध्यमबाट सञ्चालनमा आउने शासकीय पद्यति प्रजातान्त्रिक व्यवस्थामा गतिशील बनेको हुन्छ । यही व्यवस्थाका माध्यमबाट जनताका आशा, भरोसा र आवश्यकताहरू पूर्ति हुने गरेका हुन्छन् । अतः यो व्यवस्थाका सञ्चालक धीर, स्थिर र आफ्नो दुनो सोझो गर्ने खालको हुनुहुँदैन । शासकीय व्यवस्थाका आधारमा चल्ने देश र देशको प्रणाली गतिशील बनेर संसारमा आफूलाई उभ्याएका हुन्छन् । संसारको शासकीय पद्यतिमा प्रजातान्त्रिक व्यवस्था नै उत्तम व्यवस्था मानिएको छ ।
नेपाल त्यही शासकीय व्यवस्थामा चलेको गणतान्त्रिक मुलुक हो । यो मुलुकको आफ्नै संविधान र शासकीयस्वरुप रहेको छ । निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई समावेश गरिँदाका अवस्थासम्म कुनै दलको बहुमत आउने अवस्था देखिँदैन । शासकीय पद्यति होइन निर्वाचन प्रणाली नै फेर्नुपर्ने अवस्था नआएसम्म नेपालको राजनीति सदा शक्तिसम्पन्न मुलुकका वरिपरि घुमेको देख्न सकिन्छ । यही परिवेशको चित्रण हो वर्तमान सत्ता समीकरण पनि । बाहिरी देशले गरिदिएको सत्ताको मोह कहिलेसम्म टिक्छ होला र ?
प्रचण्ड आफैँमा सत्ता लिप्सामा रम्ने व्यक्ति हुन् । उनको व्यक्तित्व नेपालको राजनीतिमा कहिले पनि विश्वास योग्य बनेर देखिएन । आफूबाहेक अरूलाई कहिल्यै पनि विश्वास नगर्ने उनलाई पालैपालो नेपाली काङ्ग्रेस र नेकपा एमालेले साथ दिइरहेका छन् ।
सत्तामा प्रचण्ड
दोस्रो प्रतिनिधिसभाको निर्वाचनमा तेस्रो दलका रूपमा उदाएको माओवादी नेपाली राजनीतिमा सत्ता केन्द्रित बनेर देखियो । माओवादीको मूल अभिलाषा देशको कायापलट वा विकास कदापि होइन । जनताका समस्याको समाधान पनि होइन । सत्तामा रमाउनु र देशको अवस्थाका बारेमा अनभिज्ञ रहनु पनि हो । त्यसो नभएको भए देशको प्रधानमन्त्री म रहेसम्म राजनीतिमा उथलपुथल भइरहन्छ भनेर भन्न सक्दैनने प्रधानमन्त्रीले । देशको प्रधानमन्त्री नै देशमा अस्थिरता निम्त्याउने नायकका रूपमा देखिनुले पनि राष्ट्रले विकासलाई द्रुतरूपमा गति दिन नसकेको प्रमाणित भएको छ ।
प्रचण्ड आफैँमा सत्ता लिप्सामा रम्ने व्यक्ति हुन् । उनको व्यक्तित्व नेपालको राजनीतिमा कहिले पनि विश्वास योग्य बनेर देखिएन । आफूबाहेक अरूलाई कहिल्यै पनि विश्वास नगर्ने उनलाई पालैपालो नेपाली काङ्ग्रेस र नेकपा एमालेले साथ दिइरहेका छन् । यसैगरी प्रचण्डले नेपालको राजनीतिमा कुनै कायाापलट नभए पाँच वर्षसम्म नेपालका प्रधानमन्त्री भएर सत्ताको स्वाद चाखिरहनेछन् ।
आजसम्म काङ्ग्रेसको सहयोगमा प्रधानमन्त्री भएका उनी एक्कासी एमालेको पोल्टाभा पुगे र मन्त्रिपरिषद पुनर्गठन गरे । सत्ता साझेदार काङ्ग्रेस हेरेको हेर्यै भयो, प्रचण्डको चर्तिकला देखेर । आफूलाई सहयोग नगर्नेलाई लात्तीले हानेर हिँडिन्छ भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्री कति गैरजिम्मेवार छन् भन्ने कुरालाई अभिव्यक्त गर्दैन र ? आफ्नो हैसियतमा एक सिट पनि जित्न नसक्ने र जनताको समर्थन गुम्दै गएको माओवादी बुई चढेरमात्र चुनावी नैयालाई पार लगाउने पार्टी बनेको छ । माओवादीप्रति जनसमर्थन घट्दो छ बढ्दो होइन । उसका क्रियाकलाप र अडान फेरिरहने प्रवृत्तिले उसलाई अप्ठ्यारोमा पारेको छ । राजनीतिमा अडान नहुनु आफैँमा राम्रो पक्ष होइन ।
राजनीतिमा नेताले लिने अडानले उसलाई र उसको पार्टीलाई जनसमर्थन रहने गरेको हुन्छ । जनताबाट तिरष्कृत भएको, जनताले नपताएको र आफ्ना कार्यकर्तालाई पनि सुरक्षा दिन नसकेको माओवादी पार्र्टीका नायक सत्ता बाहिर रहे समाप्त भइन्छ भन्ने मानसिक प्रताडनाले घेरिएका मानिस हुन् । त्यस अवस्थामा उनलाई पाँच वर्ष प्रधानमन्त्री भइरहन मन छ । उनी प्रधानमन्त्री पद कसै गरे पनि छोड्न सक्ने अवस्थामा छैनन् । प्रचण्डमा पलाएको सत्ता मोहले उनलाई र उनको पार्टीलाई खलाँतीको काम गरिरहेको देखिन्छ ।
सत्ता साझेदारसित रहेको असन्तुष्टिलाई छलफल गर्नुभन्दा अर्कोतिर गएर आफू सत्ताको शिखरमा रहनु उनको उद्देश्य नै बनेको छ । यही उद्देश्यपूर्तिमा मरिमेट्ने व्यक्तिका रूपमा प्रचण्डलाई लिन सकिन्छ । सकेसम्म सत्ताबाहिर नबस्नु र सत्ताको केन्द्र ताकिरहने प्रचण्ड नेपाली राजनीतिका शिखरपुरुष बन्नसक्ने क्षमताका व्यक्ति भने होइनन् । अवसर परस्त र सत्तामोहले च्यापेका व्यक्तिका रूपमा उनलाई नेपालको राजनीति इतिहासले सदा चिनिरहनेछ । आशा, भरोसा र समझदारी नभएका व्यक्तिका रूपमा उनलाई लिन सकिन्छ ।
काङ्ग्रेसको बाटो
नेपाली काङ्ग्रेस इतिहास हो । नेपालको राजनीतिमा सदा प्रजातन्त्रका लागि लडिरहने पार्टी हो । यसको आफ्नो इतिहास छ । त्यो इतिहास नेपाली राजनीतिमा सुरक्षित रहेको छ । यति लामो र सङ्घर्षको पर्याय बनेको काङ्ग्रेस आज अत्तालिएको छ । नेपालको राजनीतिमा वामपन्थीलाई सदा पछि लगाएर र सङ्घर्षमा दोस्रो दर्जामा राख्ने काङ्ग्रेस अत्तालिनुपर्ने अवस्थाको पार्र्टी होइन । उसका कार्यकर्ता आफ्ना छन् । उसले कार्यकर्तालाई संरक्षण नदिएको मात्र हो । लगभग एक दशक भयो काङ्ग्रेसका भातृसङ्गठनको अधिवेशन हुन नसकेको । ती सबै सङ्गठन तदर्थवाद तथा टीकेप्रथामा चलिरहेका छन् । अब काङ्ग्रेस प्रतिपक्षी बनेको छ ।
उसले भर्खर महासमितिको बैठकबाट केही दस्तावेज पारित गरेको छ । काङ्ग्रेसले सबै भ्रातृ सङ्गठनको अधिवेशन सम्पन्न गरेर नेतृत्वमा स्वच्छ प्रतिष्पर्धा गराउन आवश्यक देखिएको छ । विद्यार्थीका माझमा सक्रिय रहेको नेपाल विद्यार्थी सङ्घ, युवाहरूमा सक्रिय तरुणदल, महिलामा भिजेको महिला सङ्घको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वको आगमनलाई काङ्ग्रेसले पहिलो प्राथमिकतामा राख्नु आवश्यक छ ।
सत्ताबाट बाहिरिएको काङ्ग्रेसले अब २०८४ सम्म सत्ताको मोहलाई छोड्नु अनिवार्य छ । सत्तामोहमा टाक्सिएको काङ्ग्रेस सत्ताबिना बाँच्न सक्दैन भन्ने भ्रमलाई चिर्नु आवश्यक देखिएको छ । यसलाई चिर्न सकियो भने नेपालको राजनीतिमा काङ्ग्रेस एक सबल पार्टी बनेर आउनेछ । नेपाली काङ्ग्रेसमा देखिएको गुटलाई चिर्नु आवश्यक छ । पार्टी एउटै पार्टीका अवधारणा र सिद्धान्त एउटै तर कार्यकर्तालाई विभाजन गर्ने प्रवृत्तिको अन्त्य आवश्यक देखिएको छ । पार्टीका कार्यकर्ता विभाजन रहेसम्म कुनै पनि पार्टीको भविष्य राजनीतिमा सुरक्षित रहन सक्दैन ।
राजनीतिक सिद्धान्तलाई बाहिर ल्याउने र बाहिरबाट कार्यलाई जीवन्तता दिनु आवश्यक मानिएको छ । जनताको घरघरमा काङ्ग्रेस पुग्नु आवश्यक छ । जिल्लामा गएर पार्टीप्यालेसमा गरिने कार्यक्रमले कार्यकर्ता र नेता त प्रशन्न होलान् तर गाउँमा सधैँ रूखमा मतदान गर्ने काङ्ग्रेसी कार्यकर्ता आज टाढिएका छन् । तिनलाई नजिक ल्याउन काङ्ग्रेस सक्रिय हुनु आवश्यक मानिएको छ । काङ्ग्रेस अब जाग्नुपर्छ सुत्ने होइन ।
नेपालको राजनीतिमा सदा आफूलाई देशको मेरुदण्ड मान्ने काङ्ग्रेसका सबै क्षेत्रमा शुद्धीकरणको आवश्यकता छ । यस आवश्यकतालाई सत्ताबाहिर रहेको काङ्ग्रेसले पूर्ण गर्न सक्छ सत्तामा रहेको काङ्ग्रेसले होइन । अबको काङ्ग्रेसको बाटो सत्ता नभई सङ्गठन हो ।
आउने निर्वाचनमा काङ्ग्रेसले आफ्नो सिद्धान्त र विकासको भावलाई लिएर जानु आवश्यक छ । यो सानो मुलुकलाई सङ्घीयता आवश्यक छैन । सङ्घीयताले आर्थिक बोझ देशमा बढाएको छ । आर्थिक समुन्नतिका लागि देशको चौतर्फी विकास आवश्यक छ । सङ्घीयताले विकास गर्दैन भन्ने कुरालाई आजको सत्ताले र व्यवस्थाले प्रमाणित गरिदिएको छ । काङ्ग्रेसको केन्द्रीय समितिको बैठक र महासमितिमा समेत धर्म निरपेक्षका बारेमा सोच्न नेतृत्वलाई दबाब नआएको होइन । नेतृत्वले पनि धर्ममा जनमत सङ्ग्रहको आवश्यकता नेपालीले चाहेका छन् भन्ने नीतिलाई लिएर जानु आवश्यक देखिएको छ । नेपाली जनता प्रदेश र धर्मका बारेमा जनमत सङ्ग्रह चाहेका छन् । जनमतलाई कदर गर्नु सबैभन्दा ठूलो दल र देशको राजनीतिमा इतिहास बोकेको काङ्ग्रेसको दायित्त्व होइन र ?
आज वर्षेनी सात लाख नेपाली बाहिरिएका छन् । ती नेपाली विद्यार्थी वा श्रमिक किन नहुन् ती युवालाई नेपालमै रोक्नु आवश्यक छ । नेपाली बाहिरिनुमा हामीले गर्व गर्ने ठाउँ छैन । विदेशमा भौँतारिएका नेपालीलाई स्वदेशमा श्रम र पसिना बगाउन आग्रह गर्नु पनि काङ्ग्रेसको कर्तव्य होइन र ? मिसन २०८४ भन्दै भाषण र सञ्चारमा छाउने राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सत्ताको स्वादमा डुब्न लागिसकेको छ । उक्त पार्टी पनि जनहित र नेपाली राजनीतिलाई गति दिन सक्ने खालको होइन भन्ने कुरा प्रमाणित भएको छ । ठूला र परिवर्तनकारी दलहरूप्रतिको वितृष्णा त्यहाँ गएर पोखिएको हो । काङ्ग्रेस भएर पनि भड्केका युवालाई सम्बोधन गर्नु आवश्यक छ ।
भ्रष्टाचार र दाग लागेका नेतालाई सदा बाहिर राख्नु पहिलो दायित्व हो । यो दायित्वलाई पूर्णरूपमा अवलम्बन गर्नु पनि काङ्ग्रेसको औपचारिक दायित्व बनेर आएको छ । शहर, पार्टी प्यालेस र होटलमा गरिएका भाषणले आजका युवा पुस्ता आकर्षित हुँदैनन् । आजका युवालाई विश्वास दिने नेता चाहिएको छ । आजका युवालाई रोजगारी दिने नेता चाहिएको छ । आजको युवालाई राम्रो काम गरे वापत धाप मार्ने नेता चाहिएको छ । आज काङ्ग्रेसका नेता र कार्यकर्ताका बीचमा ठूलो अन्तराल छ । कार्यकर्तालाई आफ्ना बनाउने प्रयासमा काङ्ग्रेसका नेता लाग्नु आवश्यक छ । आफ्नालाई कार्यकर्ता होइन ।
नेपाली काङ्ग्रेसप्रति आज पनि जनविश्वास घटेको छैन । आफ्नालाई मात्र कार्यकर्ता र काङ्ग्रेस मान्ने नेताको सोचमा परिवर्तन आउनु आवश्यक छ । सबै भ्रातृ सङ्गठनको अधिवेशनलाई सम्पन्न गरेर नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने हो भने त्यही नेतृत्व नै काङ्ग्रेसको विकास र सङ््गठनप्रति प्रतिबद्ध बनेर रहने छ । यी सङ्गठनका अधिवेशनमा तेरो र मेरोको भावनालाई समाप्त पारौँ । कार्यकर्ताका बीचमा जो लोकप्रिय छ त्यही व्यक्ति नै चुनिएर आउँछ ।
नेपालको राजनीतिमा सदा आफूलाई देशको मेरुदण्ड मान्ने काङ्ग्रेसका सबै क्षेत्रमा शुद्धीकरणको आवश्यकता छ । यस आवश्यकतालाई सत्ताबाहिर रहेको काङ्ग्रेसले पूर्ण गर्न सक्छ सत्तामा रहेको काङ्ग्रेसले होइन । अबको काङ्ग्रेसको बाटो सत्ता नभई सङ्गठन हो । कार्यकर्ताको संरक्षण हो । सत्ताले गरेका नराम्रा कामको भण्डाफोर हो । भ्रष्टाचारको विरोध हो । आफूलाई जनताका माझ लैजाने अवसर हो । यी कुरामा काङ्ग्रेस नचुकोस् । यही शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच