सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्य बिमा अन्तर्गतका बिरामीलाई उपचार गरेको झण्डै १२ लाख दाबी रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी रोकेको छ । विगत साढे १० महिनायता प्रतिष्ठानले स्वास्थ्य बिमा अन्तर्गतका ३० हजार बढी बिरामीको उपचार गरेको छ । जसमध्ये भदौयता फागुन १६ गतेसम्म उपचार सेवा लिएका बिरामीको दाबी रकम राष्ट्रिय स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी हुन बाँकी छ । भने, गत वैशाखदेखि साउन महिनासम्म उपचार सेवा लिएका दुई हजार ११५ जना बिरामीको बिलअनुसार कागजात नमिलेपछि झण्डै १२ लाख रकम भुक्तानी रोकिएको हो ।
प्रतिष्ठानले बिरामीलाई सेवा दिए पनि नियमसंगत बिलअनुसार कागजात नमिलेपछि स्वास्थ्य बिमा बोर्डले ११ लाख ९७ हजार तीन रुपैयाँ भुक्तानी रोकेको छ । उक्त बिलअनुसार प्रतिष्ठानले पठाएका सबै कागजात अस्वीकृत भई फिर्ता आएका हुन् । जसमा गत वैशाख महिनामा उपचार सेवा लिएका २११ जना बिरामी बापतको ६५ हजार २७७ रुपैयाँ र जेठ महिनामा उपचार सेवा लिएका ५२९ बिरामीको एक लाख ६० हजार ७०६ रुपैयाँ भुक्तानी दाबीका कागजात अस्वीकृत भएका छन् । त्यस्तै, बिमा बोर्डले असार महिनामा ८३४ बिरामीको चार लाख ३५ हजार ५५१ र साउन महिनामा ५४१ बिरामी बापतको पाँच लाख ३५ हजार ५१९ रुपैयाँ बराबर बिलअनुसार कागजात अस्वीकृत गरेको हो ।
प्रतिष्ठानले स्वास्थ्य बिमाअन्तर्गत बिरामीलाई सेवा दिए पनि सेवा बापतको दाबी रकम भुक्तानी माग्दा बिल अनुसारको बिमा कागजात नपठाउँदा र समयमै डकुमेन्ट समिट नहुँदा स्वास्थ्य बिमा बोर्डले दाबी रकम भुक्तानी नदिएको हो । यस्तै, बिमाभित्र नपर्ने औषधि दिएमा पनि दाबी रकम अस्वीकृत हुने गरेको छ ।
यता, प्रतिष्ठानका मेडिकल रेकर्डर मेगराज बुढाले बिमा बोर्डले अस्वीकृत गरेको कागजात र भुक्तानी रोकेको रकमबारे कार्यालयलाई कुनै जानकारी नदिएको बताउनुहुन्छ । स्वास्थ्य बिमा बोर्डको सर्भर डाउन हुने र जुम्लामा इन्टरनेट पनि स्लो हुँदा बिमित व्यक्तिको उपचारपछि बिल अनुसारको कागजात जुटाउन तथा समिट गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्भर र इन्टरनेटले काम नगर्दा पनि आएका बिरामीलाई व्यावहारिकता अपनाएर सेवा दियौँ । तर, पछि हेर्दा कसैको बिमा नवीकरण नभएको पनि पाइन्थ्यो । त्यसैले पनि बिलअनुसार कागजात छुट्ने समस्या भयो ।’
उहाँका अनुसार यसअघि प्रतिष्ठानमा कहिले कर्मचारी अभाव त कहिले इन्टरनेट जस्ता प्राविधिक समस्याका कारण स्वास्थ्य बिमाका बिरामीको उपचारपछि समयमै बिमा बोर्डमा बिल अनुसारका कागजात समिट गर्न ढिलाइ हुने समस्या थियो । तर, हाल प्रतिष्ठानले इन्टरनेटले काम नगरेको समयमा र बिमा बोर्डको सर्भर डाउन भएको समयमा स्वास्थ्य बिमाका बिरामीको सेवा रोक्ने निर्णय गरेको छ ।
यसअघि स्वास्थ्य बिमाका बिरामीको उपचारपछि सात दिनभित्र बिलअनुसार कागजात स्वास्थ्य बिमा बोर्डमा समिट गरिसक्नुपर्ने व्यवस्था थियो । तर, आगामी चैत १ गतेदेखि बिरामीलाई सेवा दिएको सोही दिनमा कागजात समिट गर्नुपर्नेछ । यो नियमले प्रतिष्ठानलाई सेवा दिन थप सकस पर्ने देखिन्छ । स्वास्थ्य बिमा कार्यालय जुम्लाको तथ्यांकअनुसार हालसम्म जुम्लाका ९० हजार दुई सय नागरिक स्वास्थ्य बिमाको पहुँचमा छन् ।
चार करोड बढी भुक्तानी गर्न बाँकी
कर्णाली प्रतिष्ठानले स्वास्थ्य बिमा बोर्डबाट चार करोड ८२ लाख ५९ हजार ७०५ रुपैयाँ भुक्तानी लिन बाँकी छ । स्वास्थ्य बिमाअन्तर्गत भदौ महिनादेखि फागुन १६ गतेसम्म उपचार गराएका २८ हजार ५१९ जना बिरामी वापत बिल अनुसारको रकम बिमा बोर्डले हालसम्म पठाएको छैन ।
जसमा भदौ महिनामा ६ हजार ४०८ जना बिमित बिरामीले उपचार लिएको ९४ लाख ९८ हजार १७४ रुपैयाँ, असोजमा चार हजार ९९० बिरामीको ९४ लाख ६६ हजार २४२ रुपैयाँ र कात्तिकमा तीन हजार ५१० जना बिरामीको ६० लाख ७७ हजार ९४५ रुपैयाँ प्रतिष्ठानले भुक्तानी पाउन बाँकी छ ।
त्यस्तै, मंसिरमा तीन हजार ५९६ बिरामीको ६४ लाख ९९ हजार १९४ रुपैयाँ, पुसमा चार हजार ५८१ बिरामीको ७७ लाख ६९ हजार १५५ रुपैयाँ, माघमा तीन हजार ५०५ जना बिरामीको ५९ लाख र फागुन १६ गते सम्मका एक हजार ९२९ जना बिरामीको ३० लाख ४८ हजार ७९८ रुपैयाँ बिमा बोर्डबाट भुक्तानी भएको छैन ।
विगत एक महिनायता बिमितले कुल उपचार खर्चको १० प्रतिशत रकम आफैँ तिर्ने व्यवस्था गरेदेखि बिमित उपचारको संख्या पनि घट्दै गएको छ । बिमाको दुरुपयोग बढेपछि १० प्रतिशत बिमितले तिर्ने व्यवस्था गरिएको हो ।
अस्पतालमा आउने बिमित बिरामीले आवश्यक औषधि तथा उपचार उपभोग गरे पनि खर्चअनुसार दाबी रकम प्राप्त नहुँदा समस्या भएको प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकातिर सीमित स्रोतले प्रतिष्ठान सञ्चालनमा चुनौती छ । अर्कोतिर बिमितको उधारो उपचार गर्न बाध्य हुँदा आर्थिक भार पनि बढ्दै गएको छ ।’
कर्णालीका १० जिल्लासहित सुदूरपश्चिमका तीन गरी १३ जिल्लामा प्रतिष्ठानले सेवा दिइरहेको छ । तर, संघीय सरकारले पर्याप्त बजेट नदिँदा, विशेषज्ञ सेवा प्रवाह, अध्ययन तथा अनुसन्धानका काम प्रभावित हुँदै आएका छन् ।
दुई/दुई महिनामा भुक्तानी गर्ने तयारी
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले यसअघि स्वास्थ्य बिमाका बिरामीको उपचार बापतको रकम स्वास्थ्य संस्थालाई भुक्तानी गर्न ढिलाइ भएको स्वीकार्दै अब दुई/दुई महिनामा भुक्तानी गर्ने तयारी गरिएको जनाएको छ । बिमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेल गत भदौ महिनादेखि मंसिरसम्मको रकम बोर्डले छिट्टै पठाउने तयारी रहेको बताउनुहुन्छ । उहाँका अनुसार मंसिरसम्मको रकम पठाइसकेपछि विस्तारै पुस महिनायताको पनि रकम पठाउने तयारी छ । ‘अब प्रत्येक दुई/दुई महिनामा स्वास्थ्य बिमाको दाबी रकम पठाउने तयारी छौँ’ उहाँले भन्नुभयो, ‘यसअघि बोर्डमा जनशक्तिको कमी हुँदा दाबी रकमका लागि प्राप्त कागजात अध्ययन गरी भ्यालुलेसन गर्न समय लाग्यो । त्यसैले भुक्तानी ढिलाइ भएको हो ।’
कर्णाली प्रतिष्ठानका यसअघि अस्वीकृत भइसकेका बिल अनुसारको रकम भुक्तानी नहुने भन्दै बाँकी महिनाका प्राप्त कागजात अध्ययन गरी भ्यालुलेसनका आधारमा रकम भुक्तानी गरिने उहाँको भनाइ छ । उहाँका अनुसार हाल स्वास्थ्य बिमा बोर्डले देशभरका ४४२ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमा उपचारको रकम भुक्तानी गर्दै आएको छ ।
बोर्डमा दैनिक ३० हजार बढी बिरामीका कागजात प्राप्त हुन्छन् । दाबी रकमअनुसार बिल तथा कागजात चेकजाँच गर्न समय लाग्छ । यसबारे त्रुटि नहोस् भनेर सातवटै प्रदेशमा अवस्था बुझ्न र आवश्यक जानकारी दिन बोर्डको टिम पनि पुगेको थियो । तर, बोर्डमा आउने कागजातमा स्वास्थ्य संस्थाले त्रुटिरहित पठाउन सकेका छैनन् । दाबी रकम भुक्तानीको कामलाई छिटो छरितो बनाउन आगामी चैत १ गतेदेखि स्वास्थ्य बिमाका बिरामीको उपचार गरेको कागजात सोही दिनभित्रै पठाउनुपर्ने व्यवस्था छ । अन्यथा रकम भुक्तानी नगर्ने बोर्डले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच