प्रधानमन्त्रीको पद र कुर्सी व्यक्तिगत सम्पत्ति कि संसद्को अर्थात् जनताको सम्पत्ति हो ? कुनै एक दलले निर्वाचनमा बहुमत नल्याउँदा अन्य दल र दलहरूको समर्थनमा सरकार बनाउनुपर्ने बाध्यतालाई नेपालका राजनीतिका गिनेचुने ठेकेदारहरूले चरम दुरुपयोग गरेका अनगिन्ती उदाहरणको सिकार बेलाबेला संसद् बन्दै आएको छ । राजनीतिका खेलाडीहरूले सत्ता, शक्तिको दुरुपयोगमा गरेको मिहिनेत र लगानीको एक प्रतिशत मात्रै काम पनि विकास, निर्माण र समृद्धिको क्षेत्रमा भएको भए नेपालीहरूको आर्थिकसामाजिक अवस्थाले पक्कै काँचुली फेथ्र्यो ।
वर्तमान संविधानले एउटा ठूलो रोगलाई स्थायी रूपमा भित्र्याएको छ, त्यो हो बहुमत कुनै पनि दलले ल्याउन नसक्ने संवैधानिक व्यवस्था । यस्तो अवस्थामा सरकार बनाउन गठबन्धनको विकल्प हुँदैन । यो संविधानअन्तर्गत भएको संसद्को प्रथम र दोस्रो निर्वाचनको परिणामले पुष्टि गरेको छ । गठबन्धनको रोग हाम्रो लागि नियमित आकस्मिकता जस्तै भयो तर गठबन्धनप्रति दलहरूको दृष्टिकोण आफू र आफ्नो पार्टीमात्रै सत्तामा बस्न कसरी सकिन्छ भन्ने कसरत, टिकडम, जालझेल, फट्याइँबाहेक रचनात्मक काममा कुनै दलका ठेकेदारहरू लागेनन् । जिम्मेवार पदमा हुने सबै प्रधानमन्त्रीहरू नै पदको पछिपछि दगुर्दा देशमा अनियमितता, कुशासन र भ्रष्टाचारको जग बलियो बन्यो । गठबन्धनको उपहार नै विभिन्न भ्रष्टाचारका काण्ड हुन्भन्दा अत्युक्ति हुँदैन ।
अहिलेको गठबन्धन निम्न कारणले अनुपयुक्त भएको हुँदा वर्तमान गठबन्धनबाट प्राप्त भएको प्रधानमन्त्रीको पद आजका मितिदेखि सदनलाई फिर्ता गरेको छु नभनीकन फेरि प्रधानमन्त्रीकै हैसियतले अन्य दलहरूसँग गठबन्धन गरेर सत्ता र पदीय स्वार्थको खेती प्रजातान्त्रिक पद्धतिमा अशोभनीय हुन्छ ?
वर्तमान संविधान र भ्रष्टाचारलाई ठूला दलका नेताहरूले पर्यायवाची शब्द बनाए । राज्य सञ्चालनको जिम्मेवारीमा हुनेहरूले बारम्बार गठबन्धनको काँध फेर्ने कामले सम्बन्धित व्यक्तिको पदप्रतिको आशक्तिलाई पुष्टि गर्छ भने गठबन्धन गर्न मरिहत्ते गर्ने दलका ठेकेदारहरूले दलको मर्यादा, प्रतिष्ठा र विश्वसनीयतालाई लिलाम गरे । गठबन्धन बारम्बार परिवर्तन गर्दै गर्दा गठबन्धनबाट बन्ने प्रधानमन्त्रीहरू र गठबन्धन गर्ने दलका नेताहरू जनताको दृष्टिमा नांगिएका छन् । ठूलाठूला पदमा हुनेहरू भ्रष्टाचार, पदलोलुपता, भाइभतिजावाद, छोराछोरीवादमा लुटपुटिएका कारण पदको गरिमा, मर्यादा, प्रतिष्ठालाई सबैले लिलामी गर्दा समाजमा दल र नेताप्रति घृणा चुलिएको छ ।
गठबन्धन केटाकेटीको मट्यांग्राको खेल हो कि संसदीय अभ्यास वा वैधानिक प्रक्रिया ? प्रधानमन्त्रीले आफ्नो सरकारको म्याद थप्नका लागि गर्ने गठबन्धनको सुरुवात एउटा गठबन्धनमा रहँदारहँदै अर्को गठबन्धनका लागि षड्यन्त्रपूर्ण गृहकार्य आफँंमा अनैतिक काम हो । देशको प्रधानमन्त्रीले र जिम्मेवार दलका नेताहरूले व्यक्तिगत कारणले गठबन्धनमा फेरबदल भनेको देश र जनताप्रतिको अपराध हो भने स्थिरता विकासको चरम अवहेलना हो । गठबन्धनको फेरबदल एमाले, माओवादी र कांग्रेसका नेताहरूको सत्ता मोह हो ।
सांसदहरूका माध्यमले जनताले दिएको प्रधानमन्त्रीको पदलाई संसद्लाई थाहै नदिइकन व्यक्तिले प्रधानमन्त्रीको पद अर्को गठबन्धनलाई बुझाउन पाइन्छ ? सरकार सञ्चालन गर्ने पार्टीहरूबीचको गठबन्धन पनि बिरालाले छाउरा सार्दा झैँ वर्षमा तीन-तीन पटक सार्न हुन्छ ? यो फोहोरी खेल खेल्नेलाई भन्दा हेर्नेलाई लाज भएको छ । पदलोलुपहरूलाई गठबन्धन गर्न र गठबन्धनलाई अकारण तोड्न रत्तिभर लाज नभएको विषयले लाज नै लजाउने अवस्था छ । एउटा गठबन्धनलाई मैले वर्तमान गठबन्धन परित्याग गरेँ भन्ने सदनलाई कारणसहितको जानकारी नगरीकन प्रधानमन्त्रीको पद आफ्नो स्वर्थका लागि प्रयोग गर्न अन्य दलहरूको शरणमा गठबन्धनको याचना गर्न जान कसरी मिल्छ ?
अहिलेको गठबन्धन निम्न कारणले अनुपयुक्त भएको हुँदा वर्तमान गठबन्धनबाट प्राप्त भएको प्रधानमन्त्रीको पद आजका मितिदेखि सदनलाई फिर्ता गरेको छु नभनीकन फेरि प्रधानमन्त्रीकै हैसियतले अन्य दलहरूसँग गठबन्धन गरेर सत्ता र पदीय स्वार्थको खेती प्रजातान्त्रिक पद्धतिमा अशोभनीय हुन्छ ? यदि यो समस्याका विषयमा कानुन मौन छ भने पनि त्यसको नाजायज फाइदा लिने काम प्रधानमन्त्री जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले गर्नु हुन्छ ? नैतिकता, इमानदारी, इन्टिग्रिटीलाई राजीनामा गरेर प्रधानमन्त्रीको कुर्सीमा बस्ने र राख्ने काम जो जसले गरे पनि यो क्रियाकलाप चरम लज्जाको विषय हो । गठबन्धनलाई ठगबन्धनको संस्कृति हो भन्दै आएको एमालेले फेरि आफैंले उनीहरूकै शब्दमा ठगबन्धनका नाइकेसँग नै गठबन्धन गर्न मिल्छ ?
आफैंले ठगबन्धनको उपाधिबाट विभूषित गरेको व्यक्तिलाई फेरि प्रधानमन्त्री स्वीकार्ने विषयलाई अन्य दलहरूले कसरी व्याख्या गर्ने ? आफूले गठबन्धन गर्दा गठबन्धन र अरूले गठबन्धन गर्दा ठगबन्धन भन्ने द्वैध चरित्र भनेको नैतिकता र इमानदारीको राजीनाम हो । जिम्मेवार पार्टीहरूले नै गैरजिम्मेवार काम गर्छन् भने पार्टी व्यवस्था असफल भएको भन्ने जनताले बुझे भने के हुन्छ ? हिजो अरू पार्टीहरूसँग भएको गठबन्धनलाई एमालेका अध्यक्षदेखि भुरेभारेसमेतले ठगबन्धन भनेर व्यंग्य गर्दथे । गठबन्धनका नेताहरूको उछित्तो काढ्थे । सिद्धान्ततः गठबन्धन ठगबन्धन नभएको भए पक्कै पनि एमालेजस्तो जिम्मेवार पार्टीको अध्यक्ष र नेताहरूले गठबन्धनलाई ठगबन्धन भन्दैनथे ।
यदि गठबन्धन एमालेको सिद्धान्तले ठगबन्धन भनेर प्रमाणित नै गरेको अवस्थामा एकाएक एमाले गठबन्धनको प्रमुख घटक किन बन्यो ? हिजो जनतालाई गठबन्धन वास्तवमा ठगबन्धन हो भन्ने एमालेले गठबन्धनको प्रमुख घटक बनेर ठगबन्धनको नेतृत्व गर्दैछ भनेर भन्यो भने के एमालेलाई स्वीकार्य हुन्छ ? अरूले गर्दा गठबन्धन ठगबन्धन हुने आफूले गर्दा त्यही गठबन्धन ठगबन्धन किन नहुने ? यसको उचित जवाफ के एमालेसँग छ ? संसदीय गणितको आधारमा निर्वाचित भएको प्रधानमन्त्रीले गठबन्धनको काँध फेर्न पाउँछ तर उसले प्रधानमन्त्रीको पद अधिल्लो गठबन्धनलाई बुझाएर अर्थात् प्रधानमन्त्रीको पदबाट राजीनामा गरेर स्वतन्त्र माननीयको हैसियतमा अर्को घटकसँग गठबन्धनको काँध थाप्न सक्छ ।
दुई महिनाअघि बेठीक भनेर परिवर्तन गरेको दलसँग दुई महिनापछि पुनःगठबन्धन ठीक भन्ने आधार के ? कारण र रहस्य के हो ? प्रधानमन्त्रीको पद लिएर जता काफल पाक्यो उतै चरी नाच्यो गर्न मिल्छ ? यदि संविधानमा त्यो कमजोरी छ भने अबका दिनमा त्यस कमजोरीको वैधानिक उपचार खोज्नुपर्छ । प्रधानमन्त्रीको पद जनताको नासो हो । साथै गठबन्धन घटकका दलहरूको विश्वास हो । त्यो गठबन्धनको विश्वासलाई फेरि जनताको अर्थात् ती गठबन्धनका दलहरूलाई प्रधानमन्त्रीको पदको जिम्मा नलगाइकन प्रधानमन्त्रीको हैसियतमा नै अन्य दल, दलहरूसँग भए गरेको गठबन्धन वास्तवमा सैद्धान्तिक र व्यावहारिक रूपमा ठगबन्धन हुन्छ भनेर कसैले भन्छ भने त्यो किमार्थ अन्यथा हुँदैन ।
प्रधानमन्त्री पद नै बोकेर अर्को गठबन्धन बनाउन जान हुँदैन । गठबन्धन छोड्नुपूर्व गठबन्धनमा सामेल भएका दलहरू र तिनका मतदाताहरूलाई कारणसहित जानकारी र स्पष्टीकरण नदिइकन रातारात झुक्याएर काँध फेर्ने काम प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहने व्यक्तिको र गठबन्धनका घटक दलहरूको गैरजिम्मेवार निर्णय हो । गठबन्धनबाट प्रधानमन्त्री भएपछि गठबन्धन त्याग्दा उसको प्रधानमन्त्रीको पद स्वतः जानुपर्छ । जुनजुन दलले प्रधानमन्त्री बनाए ती ती दलहरूलाई प्रधानमन्त्रीको पद फिर्ता गरेरमात्रै उसले अर्को गठबन्धन बनाउन सक्छ । यदि कानुनमा छिद्रहरू छन् भने अब आइन्दा कुनै दलविशेष वा दलहरूले बनाएको प्रधानमन्त्रीको पद अर्को गठबन्धन बनाउन प्रयोग गर्नु हुँदैन भन्ने कानुन बन्नुपर्छ ।
राजनीतिमा नैतिकता, इमानदारी, बोलीप्रतिको प्रतिबद्धता, स्थिरता नभएको व्यक्तिले नेतृत्व गरेको पार्टीको नेतालाई बारम्बार विश्वास गर्ने, धोखा खाने फेरि विश्वास गर्ने फेरि धोखा खाने कांग्रेस, एमालेको लोभिपापी चरित्र पनि निन्दनीय र घृणाको विषय भएको छ ।
प्रधानमन्त्रीको पदबाट राजीनामा गरेर अन्य दल वा दलहरूसँग गठबन्धन गरेर पुनः प्रधानमन्त्री बन्न सक्छ न कि प्रधानमन्त्रीको पदसमेत लिएर पोइल जाने अवस्था सर्वथा गलत हो । पोइल पनि अकारण कति पटक जाने ? किन जाने ? स्वीकार गर्नेहरूले पनि किन स्वीकार गर्ने ? कांग्रेस, एमाले र माओवादी नेताहरूको चरम सत्तालिप्साको नांगो नाँच भोलिका दिनहरूमा पनि आलोचना हुने निश्चित हुँदाहुँदै पनि माओवादी, एमाले र कांग्रेसजस्ता दलहरू किन आलोचनाको भारी बोक्छन् ? गठबन्धनका दलहरूको समर्थन पोइल जाने प्रधानमन्त्रीसँगै किमार्थ जाँदैन र जानु हुँदैन ।
जुनसुकै पार्टीसँग गठबन्धन गरेर प्राप्त भएको प्रधानमन्त्रीको पदलाई सम्बन्धित दल र दलहरूलाई फिर्ता गरेको जानकारी सदनलाई नगरीकन प्रधानमन्त्रीको हैसियतले नै अर्को गठबन्धनको चाँखे थाप्ने काम वास्तवमा राजनीतिक अनैतिकता हो । मैले गर्दा सबै ठीक त्यही काम अरूले गर्दा बेठीक भन्ने सिद्धान्तले राज्य व्यवस्था सञ्चालन गर्न प्रजातान्त्रिक पद्धतिमा किमार्थ पाइँदैन । अब एउटा गठबन्धनबाट अर्को गठबन्धनमा पोइल जान उसले पहिलेको गठबन्धनबाट प्राप्त पदलाई पारपाचुके गर्नुपर्छ । फेरि राज्यको प्रधानमन्त्री तेह्र महिनामा तीन पटक पोइल जाँदा यसले स्थिरताको दृष्टिकोणबाट के सन्देश जान्छ ? यसबारे शक्ति र सत्ताका लागि गठबन्धनमा सामेल हुने दलहरू र तिनका नेताहरूले आफ्नो आत्ममूल्यांकन र आत्मसमीक्षा गर्नुपर्ने कि नपर्ने ?
यसमा माओवादीमात्रै होइन तीनैवटा पार्टीहरू सत्ता लोलुप हुन् भन्ने प्रमाणित गरेको छ । गठबन्धन र ठगबन्धनको राजनीतिले जनता प्रजातान्त्रिक पद्धतिसँग फेरि निराश भएका छन् । जनताको निराशालाई बेवास्ता गर्दै गठबन्धन र ठगबन्धनको राजनीतिमा जिम्मेवार पार्टीहरू लुटुपुटु हुने अवस्था भनेको देश र देशवासीहरूको दुर्भाग्य हो । कांग्रेस र एमालेजस्ता पुराना पार्टीहरूलाई पुष्पकमल दाहालले प्रयोग गरे र मिल्काऊ भन्ने सिद्धान्तमा बनेका चिनियाँ सामान बनाएका छन् । सत्ताकेन्द्रित, स्वार्थकेन्द्रित, परिवारकेन्द्रित, कार्यकर्ताकेन्द्रित, गठबन्धन भनेको अन्ततः भ्रष्टाचार केन्द्रित हुन्छ ।
यस्तो गठबन्धनले सरकारका स्रोतसाधनको चरम दुरुपयोग गर्छ । देश र जनताकेन्द्रित गठबन्धनको आवश्यकतालाई यसले व्यवहारमा बेवास्ता गर्छ । उथलपुथल विज्ञलाई सरकारको जिम्मा दिने अनि स्थायित्व र विकासका कुरा गर्ने राजनीति नै देशलाई असफल बनाउन जिम्मेवार छ । एक वर्षमा कहिले यता कहिले उता ओहरदोहरको खेललाई संवैधानिक विकल्प भन्ने कि विकृतिको प्रहसन ? गठबन्धनलाई नेपाली जनताले राजनीतिक वेश्यावृत्तिका रूपमा बुझ्ने अवस्था भनेको नेपाल र नेपालीहरूकै दुर्भाग्य भन्नुपर्छ । गठबन्धनको सिद्धान्त, आचरण, प्रकृति, शैली आदिप्रति नेपाली जनताको असन्तुष्टिलाई सत्तारुढ दल र गठबन्धनका टाउकेहरूले कहिले बुझ्ने ?
राजनीतिमा नैतिकता, इमानदारी, बोलीप्रतिको प्रतिबद्धता, स्थिरता नभएको व्यक्तिले नेतृत्व गरेको पार्टीको नेतालाई बारम्बार विश्वास गर्ने, धोखा खाने फेरि विश्वास गर्ने फेरि धोखा खाने कांग्रेस–एमालेको लोभिपापी चरित्र पनि निन्दनीय र घृणाको विषय भएको छ । अस्थिर र इमानदारीमा बारम्बार प्रश्नचिहृन लागेका पार्टी, व्यक्तिसँग सत्ताको लोभ र लालचमा गठबन्धन गर्ने कांग्रेस, एमालेको नेतृत्व अस्थिरता निम्त्याउने, विकास, समृद्धिलाई बेवास्ता गर्नेहरूले परिचालन गर्दासम्म राजनीतिक स्थिरता, विकास र समृद्धि बाख्रालाई खोरमा थुन्न देखाएको घाँसको डालोजस्तै हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच