विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गर्नुभएको हो ।

उहाँको सम्बोधनपछि अन्य पार्टीका शीर्ष नेताहरुले बैठकलाई दलीय आधारमा संसद्मा धारणा राखिरहनुभएको छ । प्रधानमन्त्री दाहालले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उहाँलाई दिएको समर्थन फिर्ता गरेपछि आज संसद्बाट विश्वासको मत लिनुपरेको हो ।

थरीथरीका विचलन रोक्न विश्वासको मत दिनुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गर्नुभएको छ ।  विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।

सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताउनुभयो ।

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभएको होे ।

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री दाहालले कांग्रेसले कुनै बेला संसद्मा उभिएर राजनेता घोषणा गरेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?