भारतीय राजनीतिमा सपनाको पहाडकासाथ उदाएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल यतिखेर इन्फोर्समेन्ट डिपार्टमेन्ट (इडी)को हिरासतमा पुगेका छन् । दिल्ली रक्सी ठेक्कामा करिब डेढ अर्ब भ्रष्टाचार भएको आरोपसहित तीन दिन पहिले इडीले उनलाई पक्राउ गरेको थियो । पक्राउप्रति व्यापक विरोध भए पनि अदालतले उनलाई छ दिनको रिमाण्डमा राख्न इडीलाई अनुमति दिएको छ । यसअघि उनका सहयोगी सम्बन्धित मन्त्री र एकजना सांसदसहित अर्को एकजना विचौलियासमेत पक्राउ परिसकेका छन् । तीमध्ये दिल्ली सरकारका मन्त्री र केजरीवालका अत्यन्त निकट सहयोगी सिसोदिया २३ महिनादेखि जेलजीवन भोगिरहेका छन् । यतिखेर उनीहरूकै भाषामा शराव घोटाला प्रकरणले भारतीय राजनीति निकै तातेको छ ।
सुशासनका पक्षधर, सामाजिक अभियन्ता, प्रख्यात व्यक्तित्व अन्ना हजारेको सहयोगीका रूपमा एक दशक पहिले उदाएका केजरीवाल दिल्लीको अत्यन्त लोकप्रिय मुख्यमन्त्री मानिन्छन् । उनले भारतीय राजनीतिमा व्याप्त अलोकतान्त्रिक संस्कृति, प्रशासनिक क्षेत्रमा व्याप्त आर्थिक भ्रष्टाचार र समाजमा रहेको भय र नैतिक विकृतिविरुद्ध सशक्त प्रहारकेन्द्रित गर्ने उद्घोष गरेका थिए । दिल्लीका नागरिकले उनका यी आक्रामक अभिव्यक्तिहरूलाई विश्वासकासाथ समर्थन गर्दै अत्यन्त विशालमतसहित उनलाई दिल्लीको गद्दी प्रदान गरेका थिए । उनको राजनीतिक प्रभाव क्रमशः पञ्जाव, हरियाणातिर पनि फैलँदो अवस्थामा छ । तर, धन देख्नासाथ महादेवका त्रिनेत्रसँग तुलना हुनेगरी केजरीवाल शराव काण्डमा मुछिएका छन् । जुन जोगी आए पनि राजनीतिमा कानै चिरेको आहान स्थापित भएको छ यो प्रकरणले । केजरीवालले दिल्लीवासीलाई निःशुल्क विद्युत् सेवादेखि महिलाहरूका लागि एक हजार प्रतिमहिना दिने निर्णय गरेका छन् । उनको सरकारले दिल्लीमा निकै राम्रा कामहरू थालनी गरेकोमा धेरैले प्रशंसासमेत गरिरहेका थिए । युवा राजनीतिकर्मी र भोलि भारतको नेतृत्व क्षमता देखाउन सक्ने नेतामा चर्चित हुँदै थिए केजरीवाल ।
तर, नियतीलाई अर्कै मञ्जुर भयो र उनी भ्रष्टाचारको गम्भीर आरोपमा पक्राउ परेका छन् । जो जति सपना देखाएर राजनीतिमा प्रवेश गर्छ त्यो त्यति नै चाँडो स्खलित हुन्छ भन्ने उदाहरण स्थापित भएको छ : शराव घोटालामा केजरीवालको संलग्नता काण्डबाट । भोलिका दिनमा अदालतले कस्तो फैसला गर्ने हो त्यो त अहिले नै भन्न सकिँदैन । तर सपना बाँड्ने, सपना देखाउन सक्ने युवा राजनीतिक नेता केजरीवालका कमिजमा लागेको भ्रष्टाचारको दाग भने भारतीय राजनीतिको यथार्थ भएर अभिलेखबद्ध हुने निश्चित छ ।
सबैभन्दा ठूलो लोकतन्त्र भारतमा अर्को महिनादेखि लोकसभाको निर्वाचन हुने घोषणा भएको छ । अप्रिल १९ देखि सुरु भएर सातचरणमा सकिने निर्वाचनले डेढ महिना पश्चात् नयाँ लोकसभा र नयाँ सरकार प्रदान गर्नेछ । विगत दश वर्षयता एकछत्र सरकारमा बसेको भारतीय जनता पार्टीको अग्नि परीक्षा जुन रूपमा हुँदैछ विपक्षी दलहरूको शक्ति परीक्षण पनि त्यही रूपमा हुने अवस्था छ । भारतीय जनता पार्टी २०१४ को निर्वाचनमा बहुमत, दोस्रो निर्वाचन २०१९ मा अत्यधिक बहुमत र अब तेस्रो कार्यकालका लागि प्रचण्ड बहुमतको अपेक्षा गरिरहेको छ । आन्तरिक अनुशासन, स्पष्ट भारतीय आध्यात्मिक सांस्कृतिक पहिचानकासाथ भारतीय जनता पार्टीले नरेन्द्र दामोदर मोदीका नाममा अत्यन्त बोल्ड नेतृत्व पाएको देखिन्छ । भारतीय जनता पार्टीले कतिपय स्थानीय र क्षेत्रीय दलहरूसंग समेत गठबन्धन गरेको छ ।
खास गरी विहारको राजनीतिलाई अत्यन्त प्रभावकारी रूपमा चलाइरहेका मुख्यमन्त्री नितिशकुमार यादवलाई भारतीय जनता पार्टीको सहयोगी बनाउने सफलता पाएको र तेलांगनादेखि महाराष्ट्रसम्मका दक्षिण भारतीय राज्यहरूमा स्थापित गठबन्धन भारतीय जनता पार्टीका लागि बलिया आधार भएका छन् । यसै पनि विगत दश वर्षमा अनेक महत्वपूर्ण कामहरू मोदी नेतृत्वले निष्पन्न गरेको देखिन्छ । ती मध्ये कश्मीरको घाउजस्तो निरन्तर चहराएको संविधानको धारा ३७० खारेज अत्यन्त साहसपूर्ण काम मोदीको उपलव्धि मानिएको छ ।
हिन्दु संस्कृतिको जगेर्नामा उनले दोखाएको चासो र अयोध्यामा राममन्दिरको पुनर्निर्माण मूर्ति प्रतिस्पथापनले समेत मोदीको लोकप्रियता हृवात्त बढाएको छ । महिला, विपन्न, अशक्तहरूका लागि उनले गरेको काम चन्द्रयानको सफल प्रक्षेपण अनेक सन्दर्भहरू छन् विजेपी नेतृत्वका । एक दशकदेखि भारतीय राजनीतिमा यसरी एक छत्र हुन पुगेको विजेपीले यो पटक लोकसभाका ५४४ स्थानमध्ये चार सय नघाउने नारा बुलन्द पारेको छ । धेरैले के भनिरहेका छन् भने केजरीवालको गिरफ्तारीले मोदी रणनीतिलाई निकै सहयोग पुग्नेछ ।
भारतीय जनता पार्टीको प्रभाव र दबाबलाई तोड्न विपक्षी गठबन्धन अत्यन्त परिश्रम गरिरहेको छ । भारतको सबैभन्दा पुरानो राजनीतिक दल कांग्रेस पार्टीको नेतृत्वमा इण्डिया नामको महागठबन्धन तयार भएको छ । यद्यपि पश्चिम बंगालमा केही वर्ष पहिले कम्युनिष्ट पार्टीलाई धुलो चटाउँदै उदाएको शक्तिशाली पार्टी तृणमूलकी नेता मुख्यमन्त्री ममता वनर्जी भने महागठबन्धनप्रति उत्साहित छैनन् । अहिले पश्चिम बंगालमात्रै होइन केरलबाहेक सबै राज्यबाट भारतमा कम्युनिष्ट पार्टी बढारिएको देखिन्छ । यसैकारण कांग्रेस आइको सहरामा राजनीतिक गठबनधनमा पुगेको छ भारतीय कम्युनिष्ट पार्टीको नेतृत्व । अर्कोतिर उत्तर प्रदेशको दलित, पिछडिएको र सीमान्तहरूको पार्टी भनेर परिचित मायावतीको दल सामेल भएको छैन । मुलायम सिंहको समाजवादी दल कांग्रेस गठबन्धनको बलियो हिस्सा देखिन्छ । केजरीवालको आमआदमी पार्टी पनि महागठबन्धनको एक हिस्सा भएको छ अहिले । केजरीवालको गिरफ्तारीविरुद्ध यसैकारण महागठबन्धन सहित अरू सबै विपक्षी राजनीतिक दलहरू भारतीय जनता पार्टीविरुद्ध गेलबद्ध हुन पुगेका छन् । केही दिन पहिलेसम्म दिल्लीको शराव घोटालामा कारबाही गर्न नसकेको भन्दै केन्द्र सरकारको तीव्र आलोचना गर्ने दलका नेताहरू भने अहिले केजरीवालका पक्षमा खुलेर लागेका छन् ।
राजनीतिमा जे पनि हुन्छ, कुन बेला कसले के बोल्छ त्यसको लेखाजोखा आवश्यक हुँदैन भन्ने यसबाट समेत स्थापित भएको छ । नेपालमा अत्यन्त आक्रामक भएर स्थापित नयाँ दल र नयाँ अनुहारले पनि आमआदमी पार्टीको नियतीबाट पाठ सिक्नु उचित हुनेछ । भारतीय राजनीतिमा भ्रष्टाचार काण्डमा मुछिएका कुनै मुख्यमन्त्री आफ्नो पदसहित हिरासतमा बसेको यो नै पहिलो घटना भएको छ । यसअघिका अरोपीहरूले पदबाट राजीनामा दिएका थिए । तर, केजरीवालले भने बन्दीगृहबाट नै सरकार चलाउने गैरराजनीतिक अडान राखेका छन् । यसले के स्पष्ट पार्दछ भने शासनको चुम्बकमा तानिएपछि त्यसबाट पृथक हुन निकै अप्ठ्येरो हुने रहेछ । कमसेकम केजरीवालले यसलाई थप प्रमाणित गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच