खोटाङमा सम्झौता भन्दा अगाडि बने तीन पुल

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । खोटाङमा सम्झौता मितिभन्दा अगाडि पुल बनेको छ । निर्माण व्यवसायीले पुलको काम जिम्मा लिएर अलपत्र रहँदा यहाँको सोल्मा र नेर्पामा सम्झौता मितिभन्दा अगाडि पुल बनेको हो ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभन्ज्याङ खण्डको सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा २०–२० मिटर लम्बाईको मोटरेबल पुल बनेको हो । यी दुई पुल केएम इन्जिनियर्स विल्डर्स प्रालि काठमाण्डौले बनाएको हो ।

‘डिजाइन एण्ड बिल्ड’(पुलको डिजाइन निर्माण कम्पनीले नै बनाएको)दुबै पुल एक ठेक्कामा बनेको हो । अब मेवाखोला पुलमा २१५ मिटर एप्रोच रोड तथा भालुखोला पुलको स्ल्याब ढलान, २०० मिटर एप्रोच रोड, दुई पुलको रङरोगन बाँकी छ । प्रालिले २०८१ असार २२ गते दुई पुलको काम सक्नेगरी २०७९ असार २२ गते पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलसँग भ्याट बाहेक सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो ।

दुबै पुलको भौतिक र आर्थिक प्रगति ८०–८० प्रतिशत सकिएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलका सूचना अधिकारी हर्क प्रधानले बताउनुभयो। प्रधानका अनुसार अब सडक संरचना(एप्रोच रोड)को काम मात्रै बाँकी छ । दुबै पुलको एप्रोच रोड र रङरोगन बैशाखसम्म सकेर पुल जिम्मा लगाईने पुल बनाईरहेको केएम इन्जिनियर्स विल्डर्स प्रालिका प्रबन्धक निर्देशक मोहन कार्कीले बताउनुभयो ।
यस्तै, सोही खण्डको नेर्पा र सोल्माको सिमाना छेपेखोलामा २० मिटर लम्बाईको मोटरेबल पुल पनि सम्झौता म्यादभन्दा अघि निर्माण भईसकेको छ । उक्त पुल सगरमाथा सजीव जेभि खोटाङले तयार गरेको हो ।

जेभिले २०८० कार्तिक ११ गते पुल बनाईसक्नेगरी २०७८ मंसिर १४ गते पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलसँग भ्याट बाहेक तीन करोड पाँच लाख ८० हजार १३७ रुपैयाँमा सम्झौता गरेको थियो। यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला, भालुखोलाजस्तै ८० प्रतिशत सकिएको छ ।

पुल गत असारमै बनाई सकिएको हो । पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको जेभिमध्येका एकजना प्रतिनिधि कृष्ण घिमिरेले बताउनुभयो । पुल असारमै बनाई सकेर गाडी नै गुडाईसकेका छौ । एप्रोचको काम भने मेवाखोला र भालुखोलासँगै गर्नेगरी समन्वय भएको छ । त्यसो हुँदा दुबै पाटीलाई कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ । घिमिरेले भन्नुभयो,“बैशाखभरीमा सडक संरचनाको काम सक्छौ।”

यद्यपी, यो जेभिको म्याद सकेर थपको प्रक्रियामा छ । भालुखोला र मेवाखोलामा डाइभर्सन गरेर गाडी चलिरहेको छ ।
जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले चैत १३ गते तीनवटा पुलको अनुगमन तथा निरीक्षण गर्दै बाँकी काम अझै छिटो सक्न हौसला दिनुभएको छ । तोकेको समयभन्दा अगाडी पुल बनाउने निर्माण कम्पनीहरुलाई पुरस्कृत गरिने जिसस प्रमुख राईले बताउनुभयो ।
दिक्तेल–चखेवाभन्ज्याङ खण्डको बुवालुङस्थित बुवासुङ–लामिडाँडा जोड्ने पंखुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाण्डौले नगरेपछि गएको जेठ १२ गते ठेक्का तोडिएको छ । हालसम्म उक्त पुलको ठेक्का लगाउने काम नभएको पुलको काम हेरिरहेको कार्यालयले जनाएको छ ।

यसैगरी, दिक्तेल–चखेवाभन्ज्याङ खण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ(१०किलोमिटर)सडक कालोपत्रेको काम जिम्मा लिएको भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभीले काम नगरेपछि ठेक्का तोडिएको र अदालतबाट स्टे अर्डर रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले जनाएको छ

नेर्पाको मेवाखोलामा निर्माण सम्पन्न भएको मोटरेबल पुल । तस्विर चिसाङ शेर्पा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *