सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 6 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको वर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल वर्ष खेलाडी पुरुष र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

संजीवनी अस्पताल वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा पर्नुभएको छ । पार्कीले ९औं राष्ट्रिय खेलकुदमा एक सय मिटरमा २३ वर्ष पुरानो किर्तिमान भंग गर्दै तीन स्वर्ण र एक रजत पदक जित्नुभएको थियो ।

नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी बनेका उनले एक सय मिटर दुई सय मिटर र चारगुणा रिलेमा स्वर्ण पदक जित्नुभएको थियो । दीपेन्द्रले नेपाली क्रिकेट टोलीलाई विश्वकप क्वालिफारमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । वर्ष २०७९ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बन्नुभएको थियो । उहाँले एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्दा एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बन्नुभएको थियो । गिरीले जुनियर कबड्डी च्याम्पीयनसिपमा नेपालले ऐतिहासिक कास्य पदक जित्दा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । सुदुरपश्चिमका तीनजना खेलाडीमध्ये नेपाललाई सेमिफाइनलसम्म पुर्‍याउन उहाँले सानदार प्रदर्शन गर्नुभएको थियो ।

हिमालयन गौरीशंकर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा पर्नुभएको छ । रावलको कप्तानीले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमा भएको क्रसकन्टी म्याराथुनमा राजपुराले रजत पदक जित्नुभयो । वर्षाले नेपाललाई पहिलो पटक साफ यु १५ महिला च्याम्पीयनसीपको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।

यसअघि चार विधाको मनोनय सार्वजनिक गरिसकिएको छ । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा पर्नुभएको छ ।

सुदूरपश्चिम आइकन पुरुष विधामा फेस्निंगका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दीपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा पर्नुभएको छ । ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकाले कार्यक्रमकै दिन विजेताको घोषणा गर्नुभएको छ ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?