पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु

फाईल तस्बिर

रासस
Read Time = 3 mins

पर्वत । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोक-धाइरिङ-घाहाखेत-धारापानी-ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ ।

सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्ल्यानबाट मिलनचोकतर्फ कालोपत्र गर्न सुरु गरिएको जनाएको छ । निर्माण कम्पनीका आयोजना व्यवस्थापक दीपेन्द्र श्रेष्ठले मिलनचोकबाट सल्यानसम्म तीन दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न लागिएको बताउनुभयो । उहाँकाअनुसार यो खण्डमा एक साताभित्रै कालोपत्रको काम पूरा हुनेछ ।

धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत-ठोट्नेरीतर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । मिलनचोकबाट ठोड्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकरले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्र हुने सडक सात मिटर फराकिलो र पानी निकासको नाली निर्माणले गत मङ्सिरदेखि तीव्रता पाएको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी हर्षित भएका बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधिसमेत रहनुभएका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत चुनौती सामना गर्दै जिम्मेवारी पूरा गर्न लागेको बताउनुभयो । यो सडक धाइरिङका एक हजारभन्दा बढी स्थानीयले नियमित रूपमा प्रयोग गर्दै आएका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?