काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई बुधबार बिहान ७ बजेर ५८ मिनेटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय युएसजिएसले जनाएको बिबिसीले उल्लेख गरेको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउनसक्ने चेतावनी जारी गरिएको भए पनि पछि त्यो चेतावनी फिर्ता गरिएको थियो । भूकम्पमा परेर बुधबार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको बताइएको छ भने नौ सयभन्दा बढी मानिस घाइते भएका छन् । यस्तै, ८८२ जना मानिस बेपत्ता छन् ।
भूकम्प गएपछि ताइवान र छिमेकी देशहरूमा सुनामी आउनसक्ने डर उत्पन्न भएको थियो । स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी पनि जारी गरेका थिए । जापानको दक्षिण पश्चिमी क्षेत्रको ठूलो भागमा तीन मिटर अग्ला छाल भएको सुनामी आउनसक्ने चेतावनी त्यहाँको जापान मौसम विज्ञानसम्बन्धी एजेन्सी निकायले दिएको थियो । यद्यपि, पछि चेतावनीको तह घटाउँदै उक्त निकायले स्थानीयवासीहरूलाई ‘त्यति नै शक्तिशाली परकम्प’ जानसक्ने भएकाले एक सातासम्म सतर्क रहन आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । ताइवानमा भूकम्प गएको केहीबेरमै फिलिपिन्सको भूकम्प मापन निकायले पनि फिलिपिन्समा सुनामी आउनसक्ने चेतावनी जारी गरेको थियो । तर, पछि उक्त चेतावनी पनि स्थगित गरियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना जारी गर्दै सुनामीको खतरा टरेको जनाएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउण्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । भूकम्पले घर लगायतका भवन भत्किएका छन् । मानिसहरूलाई भग्नावशेषबाट उद्धार गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । उद्धारमा सेना खटिएको छ ।
भूकम्पका कारण पहाडी भेगका ठाउँठाउँमा पहिरो गएको छ । ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले सयौँ परकम्प मापन गरिएको जनाएको छ । भूकम्पपछि ४ म्याग्निच्युड वा सोभन्दा माथिका अरू परकम्प मापन गरिएको अधिकारीहरूले जनाएका हुन् । भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजिएन प्रान्तमा पनि महसुस गरिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ । जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन् ।
ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन् । सन् १९९९ मा, ७.७ म्याग्निच्युडको भूकम्पले ताइपेईको ९३ माइल दक्षिणमा क्षति पुर्याएको थियो । करिब दुई हजार चार सय जनाको मृत्यु र १० हजार घाइते भएका थिए । ताइपेईमा भूकम्प र त्यसपछि सुनामी आउँदा सुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको थियो । ताइवान प्यासिफिक रिङ अफ फायरमा अवस्थित छ । यो प्रशान्त महासागरको छेउमा छ । यस टापुमा नियमित रूपमा भूकम्प जान्छ ।
सन् २०१८ मा हुवालिन नजिकै ६.२ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए । मार्च ११, २०११ मा, जापानको उत्तरपूर्वी तटमा ९ म्याग्निच्युडको भूकम्प आएको थियो । जुन जापानमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ । यसपछि विनाशकारी सुनामी आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच