रोयललाई बास्केटबल उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२-१२ को फराकिलो अन्तरले पराजित गर्‍यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोड्नुभयो ।

रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३-२ को अग्रता लिएको रोयल दोस्रोमा ६-६ को बराबरीमा रोकियो । रोयलले तेस्रोमा १७-० र चौथोमा ६-४ को प्रदर्शन गर्दै जित अन्तर फराकिलो बनायो । रोयलले २५ हजार तथा जेभियरले १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । सानागाउँस्थित आयोजक रोयलकै कोर्टमा भएको प्रतियोगितामा रोयलकी मिना गुरुङ ‘मोष्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । आइएसए नेपाल उदीयमान टिम चुनियो ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र जिएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । साताव्यापी प्रतियोगितामा चार टिमले राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइइ नकआउट बास्केटबल शनिबारदेखि हुनेभएको छ । प्रतियोगितामा आठ छात्र टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबड, संस्कृति, आयोजक पाठशाला र हृवाइटफिल्ड रहेका छन् ।

विजेताले १५ हजार र उपविजेताले आठ हजार नगद पुरस्कार पाउनेछन् । तीन दिने प्रतियोगिताका खेल बानेश्वरस्थित आयोजक पाठशालाकै कोर्टमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?