लक्ष्यभन्दा ३९ प्रतिशत कम राजस्व असुली

Read Time = 3 mins

अनिल पोखरेल/हिटा
राजविराज । राजविराज भन्सार कार्यालयले लक्ष्यभन्दा ३९ प्रतिशत कम राजस्व संकलन गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा चार करोड १७ लाख ६४ हजार राजस्व संकलन गरेको हो, जुन लक्ष्यभन्दा ३९ प्रतिशत कम हो । कार्यालयले ६ करोड ८४ लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । भन्सार कार्यालयका अधिकृत दीपेन्द्रकुमार झाका अनुसारले कर्मचारी समस्या, कोरोना महामारी, खुला सीमा, सडकको समस्या, स्थानीय तह निर्वाचनलगायत कारण लक्ष्य अनुसारको सफलता नमिलेको बताउनुभएको छ ।

गत आव २०७७/०७८ मा छ करोड ३३ लाख ६२ हजार लक्ष्य रहेकोमा चार करोड ६२ लाख १९ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको थियो । भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा सात करोड ९७ लाख ३४ हजार नौ सय ३३ रुपैयाँ संकलन गरेको थियो । तर आठ करोड ६९ लाख ३७ हजार रुपैयाँको लक्ष्य रहेको थियो ।

लक्ष्य हासिल गर्न नसकेपछि कार्यालयले आर्थिक वर्ष २०७९/०८० का लागि लक्ष्य नै घटाएको छ । भन्सार अधिकृत झाका अनुसार चालु आवमा कार्यालयले पाँच करोड ९९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आब २०७८/०७९ मा सशस्त्र प्रहरीले सर्वाधिक पाँच सय ८७, नेपाल प्रहरीले चारसय सय ६३ र भन्सार कर्मचारीबाट १४ गरी कुल एक हजार ६४ लिलामी मुद्दा कार्यालयमा बुझाइएकोमा दुई सय मुद्दाको लिलामी कार्य सम्पन्न भइसकेको र चार सय ९९ मुद्दा पनि छिटै टुंगिने झाको भनाइ छ ।

जिल्लामा मुख्य भन्सार कार्यालय एक र छोटी भन्सार सातसहित आठ भन्सार कार्यालय रहेका छन् । जसमध्ये बेल्ही र पातो छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?