माघ लाग्यो : न पानी पर्‍यो, न हिउँ झर्‍यो !

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । यस वर्ष माघ महिना लागिसक्दा पनि हिउँदे वर्षा र हिमपात नहुँदा किसानहरू चिन्तित भएका छन् । हिमालहरू काला पहाडजस्ता देखिन थालेका छन् । समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दीका किसान हिउँदेबाली राम्रो नहुने हो की भन्ने चिन्तामा छन् ।

विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि नै हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र र मुस्ताङमा यस वर्ष माघ लागिलाग्दा पनि हिउँ र पानी नपर्दा गहुँ,तोरी,आलु लगाएत हिउँदे बाली सप्रिन नपाएकोले किसान चिन्तित बनेका हुन् ।

पानी नपरेपछि किसानले लगाएको हिउँदे खेती सिंचाइको अभावमा खेत वारीमा नै सुक्दै गएको मालिका गाउँपालिका २ का कृषक पदमबहादुर विकले बताउनुभयो । “विगतमा यतिबेला खेतबारी र डाँडापाखा हिउँले ढाकिने गरेकोमा यसवर्ष पानी समेत परेको छैन,खेतबारीमा लगाएको बाली सुक्न थालेको छ” बिकले भन्नुभयो ।

म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष पुस वितिसक्दा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरूकाे गुनासाे छ ।

पानी र हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएका बाली सुक्दै गएको धवलागिरि गाउँपालिका १ गुर्जाका किसान सोमबहादुर विकले बताउनुभयो । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गतवर्ष भन्दा धेरै चिसो महसूस भएको उच्च लेकाली क्षेत्रका बासिन्दाहरुको भनाइरहेको छ ।

हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रम समेत बढ्दै गएकाले यहाँका बासिन्दाहरूमा चिन्ता थपिएकाे छ । वनजंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जन लगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।

काला पहाडमा परिणत हुँदै हिमाल
बितेका वर्षहरूमा मंसिरमा नै हिमपात हुने जिल्लामा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा डाँडापाखा तथा हिमालहरू कालो पहाडमा परिणत हुँदैै गएको छ भने बालीनाली सुक्न थालेका छन् ।

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमिजस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । तर यसवर्ष हिउँ नपर्दा बाली सुक्न थालेको छ भने डाँडाकाँडा उजाड लाग्दा बन्दै गएको मालिका गाउँपालिका ६ का देवबहादुर सिउथानीले बताउनुभयो ।

जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिमपात भएको थियो । तर यसवर्ष हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको किसान बताउँछन् ।

यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएका स्थानीयवासिन्दाहरुले बताएका छन् । “यहाँका हिमालहरू कालो पहाडमा परिणत हुँदै गएका छन् भने मौसम झनभन्दा झन चिसो हुँदै गएको छ” मालिका गाउँपालिका ५ देविस्थानका टेकबहादुर पुनले बताउनुभयो ।

समयमा हिमपात नहुँदा लेकाली क्षेत्रबाट देखिने सेताम्मे हिमालहरू समेत कालो बन्दै गएको स्थानीयवासिन्दाहरुको भनाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?