
टोकियो । जापानको राजधानी टोकियो नजिकैको चिबा प्रान्तमा ११२ वर्षीय एक वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।
सन् १९११ को नोभेम्बर ६ मा जन्मिएका गिसाबुरो सोनोबे सन् २०२२ मा १११ वर्षमा देशकै सबैभन्दा वृद्ध व्यक्ति घोषित हुनुभएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै जापानको राष्ट्रिय समाचार संस्था क्योदोले जनाएको छ ।
सोनोबे बस्ने तातेयामाको नगरपालिका सरकारले उहाँको परिवारको अनुरोधमा उहाँको मृत्युको मिति र कारण खुलाएको छैन ।
बुधबार गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्ट पेरेजको ११४ वर्षको उमेरमा भेनेजुएलामा निधन भएको जनाएको थियो । सोनोबे विश्वकै वृद्ध व्यक्तिका रूपमा अर्को उपाधि धारक हुने अपेक्षा गरिएको थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गर्नुभएको छ । राष्ट्रपति निकोलस मदुरोले भन्नुभयो, “जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । उहाँ अमर रहनुहुनेछ । शोक सन्तप्त मृतकका परिवारजनमा गहिरो समवेदना ।” पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालिन समयमा जीवित व्यक्तिहरूमध्ये उहाँको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो ।
एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए । टिओ भिसेन्टे को नामले चिनिने भेनेजुयली किसान पेरेज मोराको जन्म २७ मे १९०९ मा एन्डियन राज्य ताचिराको एल कोब्रे शहरमा भएको थियो र उहाँ १० सन्तानमध्ये नवौं सन्तान हुनुहुन्थ्यो ।
सन् २०२२ को गिनिज स्टेटमेन्टमा भनिएको छ, “पाँच वर्षको उमेरमा उहाँले आफ्ना बुबा र दाजुहरूसँग कृषि पेशामा संलग्न हुन थाल्नुभएको थियो । उहाँको परिवार उखु र कफी उत्पादनका लागि काम गथ्र्यो । शुरूमा कृषकका रूपमा भूमि र पारिवारिक विवादहरू समाधान गर्न जिम्मेवार पेरेजले कानुन अधिकारीका रूपमासमेत काम गर्नुभएको थियो ।
रासस/सिन्ह्वा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच