काठमाडौं । लगानी बोर्डले पाँचवटा विद्युत् आयोजनाको करिब एक खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले तीन जलविद्युत् र एउटा सौर्य विद्युत्सहित पाँच सय ९७ मेगावाटका उल्लेखित आयोजनामा लाग्ने ९९ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले एक सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाको लगानी स्वीकृत गरेको छ । जुन आयोजना निर्माणमा खर्च हुने ३४ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत भएको हो ।
त्यसैगरी ४२ मेगावाट माथिल्लो मोदी ‘ए’ को १० अर्ब आठ करोड लगानी स्वीकृत भएको छ । उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत् निर्माण गर्दैछ । बुटवल पावर कम्पनीले चिनियाँ लगानीकर्तासँग मिलेर बनाउन लागेको १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी आयोजनाकोे ३३ अर्ब ४१ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ भने राइजेन इनर्जी सिंगापुरले लगानी गर्ने दुई सय ५० मेगावाटका (कोहलपुर तथा वाणगंगा) सौर्य विद्युत् आयोजनाको २१ अर्ब १० करोड लगानी पनि स्वीकृत भएको छ ।
त्यस्तै हृवासिन सिमेन्ट नारायणी आयोजनाको छ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गरेको छ भने अपर मस्र्याङ्दी जलविद्युत् आयोजना र सौर्य ऊर्जाका कोहलपुर तथा वाणगंगा आयोजनाको विकास सम्झौता (पिडिए) का लागि विकासकर्तासँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ । उल्लेखित आयोजनाको आगामी लगानी सम्मेलनमा आयोजना विकास सम्झौता गर्ने तयारी रहेको बोर्डले जनाएको छ । बोर्डले दाङ सिमेन्ट आयोजनाको सेयर खरिदबिक्री सम्झौता पनि स्वीकृत गरेको छ । सेयर बिक्रीबापतको करिब ६२ करोड रुपैयाँ फिर्ता लैजान बोर्डले स्वीकृति दिएको हो ।
रासायनिक मल कारखाना स्थापनाका लागि मलेसियन कम्पनी रे-निकोलालाई अध्ययन अनुमतिपत्र जारी गर्न बैंक जमानत पेश गर्ने अनुमति दिने निर्णय भएको छ भने तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको अध्ययन गर्न गठित समिति र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको खाका एवं आयोजना विकास तथा लगानीको ढाँचासम्बन्धी अध्ययन गर्न गठित समितिको म्याद आगामी आर्थिक मसान्तसम्म थप गर्ने निर्णय भएको छ । त्यसैगरी, सार्वजनिक निजी-साझेदारी तथा लगानी ऐन, २०७५ को संशोधन मस्यौदा तयार गर्न गठित समितिले बुझाएको प्रतिवेदन बोर्डमा पेश भएको छ भने काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन आयोजना (प्याकेज-१) अघि बढाउन नेपवेस्ट प्राइभेट लिमिटेडसँग सम्झौता प्रक्रिया थाल्न पनि बोर्डले निर्देशन दिइएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच