काठमाडौं । ‘एसएमएस फ्रेण्डसिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल आज हुँदैछ । फाइनलमा नेपाल र गुजरात भिड्दैछन् । खेल दिउँसो पौने ३ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा हुनेछ । यस सिरिजमा अहिलेसम्म नेपालले एक खेल हारेको छ । लिग चरणको अन्तिम खेलमा नेपाल शुक्रबार बरोडासँग ३७ रनले पराजित भएको थियो । लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेलअगावै उपाधि होडबाट बाहिरिइसकेको थियो ।
बरोडासँगको खेलमा नेपालका लागि सन्दीप जोराबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले आजको खेल जित्न पहिलो क्रमका ब्याट्सम्यान चल्नै पर्ने हुन्छ । त्यही सोचका साथ नेपाल मैदानमा उत्रनेछ ।
नेपाली टोलीले लिग चरणको आफ्नो पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको थियो । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई आठ रनले हराएको थियो ।
नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसिसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुने आइसिसी टी-२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृंखला खेलेको हो ।
एसिसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसिसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एसिसी प्रिमियर कपको साबिक विजेता पनि हो ।
एसिसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराएको थियो । आइसिसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्वपूर्ण प्रतियोगिता हो ।
भारत भ्रमण र त्यसपछि एसिसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा र आकश चन्द हुनुहुन्छ । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच