काठमाडौं । पछिल्लो समय बालबालिकामा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम बालबालिकाको जन्मजात नै एउटा विशिष्ट अवस्था हो र यो कुनै रोग होइन । सामान्यतः दुईदेखि तीन वर्षको अन्तरालमै बालबालिकालाई अटिजम भएको पहिचान हुनसक्छ खासगरी, अभिभावकलाई ।
जसमा बालबालिकाले अन्य सामान्य बालबालिका भन्दा फरक व्यवहार देखाउने गर्दछन् र यो कुरा विशेषतः बाबुआमालाई राम्रोसँग थाहा हुन्छ । तर, दुर्भाग्य हाम्रो समाजमा अभिभावक अर्थात् बाबुआमाले यसलाई लाज, हिनतावोध र सामाजिक अप्ठ्येरोपनले समयमै स्वीकार गर्न सक्दैनन् ।
समयमै आफ्नो बालबालिकाको यस्तो अवस्थालाई स्वीकार गर्दा उसको आफ्नो मौलिक क्षमता, विविधता र सीपलाई व्यावहारिक रूपमा बुझाउन र सिकाउन सकियो भने उनीहरूको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ । यही भावनाले ‘तिमीसँग आन्विका’ अभियानका अभियन्ता नरेश प्रधान र स्टुडियो साउण्ड मिलकी संस्थापक गायिका बुनु श्रेष्ठले विगत केही वर्षयता गीतसंगीतको माध्यमबाट सचेतना फैलाउने काम गर्दै आउनुभएको छ । स्वीकारका गीतकार नरेश प्रधान आफैं मस्तिष्क पक्षाघात बालिकाको अभिभावकसमेत हुनुहुन्छ ।
आफ्नो सन्तानमा देखिएको उक्त समस्यालाई नजिकबाट भोग्नुभएकाले उहाँले यस क्षेत्रमा विभिन्न तरिकाले कार्य गर्दै आउनुभएको छ । समाजमा जनचेतना फैलाउन यस्तो विषयमा गीत-लेख रचना लेखेर विभिन्न माध्यममा प्रकाशन तथा प्रशारण गर्दै आउनुभएको छ ।
अटिजम प्रभावितहरूको अवस्थालाई समयमै स्वीकार गरी राम्रो सामाजिक वातावरण दिनुको साथै उनीहरूमा अन्तरनिहीत प्रतिभालाई चिन्दै उनीहरूको विकासमा टेवा पु¥याउने हेतु विश्व अटिजम सचेतना दिवस, २०२४ को अवसरमा स्वीकार सन्देशमूलक म्युजिक भिडियो स्टुडियो साउण्ड मिल, काठमाडौं र अवानी फाउण्डेशन, काठमाडौंको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको सभापतित्वमा विमोचित भएको छ । अवानी फाउण्डेशन संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान तथा मनोविज्ञानकी विद्यार्थी अदीति पौडेलको उपस्थितिमा इमेज एफ.एम.९७.९को प्रस्तुति मेचीदेखि महाकालीसम्म उक्त गीतको अडियोको विशेष चर्चासहित सार्वजानिक गरिएको थियो ।
समालोचक, निर्देशक, लेखक एवं सञ्चारकर्मी प्रकाश सायमीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अवानी फाण्डेशन संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान, समाजसेवी दिनेश खनाल, राष्ट्रिय अपांग महासंघ सचिव सिर्जना केसी, सिपी सेन्टरका कार्यसमिति सदस्य विमललाल श्रेष्ठलगायतले भनाइ राख्नुभएको थियो ।
उक्त सन्देशमूलक गीत ‘स्वीकार’मा पावका शर्माको गीत कन्सेप्ट, हरि लम्सालको संगीत तथा संयोजन, पुष्पन प्रधानको स्वर रहनुको साथै मिक्सिङ मास्टरिङ महेश्वरमान राजभण्डारीको छ । उक्त म्युजिक भिडियोमा बालकलाकार शुभम बर्तौला, कलाकारहरू खगेन्द्र लामिछाने र मेनुका प्रधानले अभिनय गर्नु भएको छ भने छायांकन अंशु बस्नेतको छ । म्युजिक भिडियोको निर्देशन लोकेश बज्राचार्यले गर्नुभएको छ । यस गीतले सामाजिक सचेतनामा परिवर्तन ल्याउन ठोस टेवा पुग्नेछ भन्ने विश्वासका साथ यो गीत ल्याइएको गीतको परियोजना संयोजक गायिका बुनु श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच