✍️ तोयनाथ भट्टराई
स्वर्गीय पदमप्रसाद ढुंगानालाई कतिले झिल्केबाजे भन्ने उपनामबाट पनि चिन्थे । उहाँलाई मैले २०१६ सालतिर एक कुशल गायक तथा नृत्यकारका रूपमा सर्वप्रथम देखेर चिनेको हुँ । तेह्रथुम नागदहको अपेक्षाकृत सम्पन्न लप्टन छविलाल ढुंगानाको परिवारको झिंगटिको छानो भएको घरमा बसेर पनि गरिब जनताको लोकतान्त्रिक भावनाको प्रतिनिधित्व गर्दै गीत रचेर आफैं गाउँदै नाच्दै नाच्न सिकाउँदै जाँदा सोह्र सालमा हाम्रो घरगाउ सुर्केमा एउटा कार्यक्रममा उहाँलाई लोक गीत गाउँदै गर्दा देखेको थिएँ त्यस बेला म आठ नौ वर्ष को थिएँ । अहिले विचार गर्दा उहाँ लोकभाकाको संकलन गरेर लोकतान्त्रिक विचार भर्दै लोकलयमा गीत गाउनु हुँदो रहेछ ।
शिक्षाको दृष्टिले निकैपछि परेको हाम्रो गाउँमा एक फुर्तिला, राजा त्रिभुवनको अनुहार बिर्साउने व्यक्ति फिरिक्क फिरिक्क घुम्दै गीतको तालमा नाच्दै थिए । नजिकैको एउटा खाटमा ग्रामोफोन राखिएको थियो । अर्को एकजना ठिटाले त्यो ग्रामोफोन सञ्चालन गथ्र्यो, रेकर्ड बजाउने ठिटो पछि बुझ्दा उनका भानिज छवि निरौला रहेछन् । ती मामा भानिज आफ्नो नाता पर्ने सुर्केका एक गन्यमान्य व्यक्तिको घरमा बिहाको निम्तो मान्न आएका रहेछन् ।
पदमप्रसाद ढुंगाना जीवनपर्यन्त लोकतान्त्रिक विचार र आचरणप्रति आस्थावान रहनुभयो । उहाँको संगत तत्कालीन कांग्रेस नेता बीपी कोइराला र कोइराला निवासमा ठोक्किने पूर्वेली कांग्रेस जनसँग भएको देखिन्छ । उहाँ तारिणीप्रसाद कोइरालाबाट पनि प्रभावित हुनुहुन्थ्यो ।
मान्छेको स्वरैमात्र सुनिने मान्छे भने नदेखिने त्यस सानो ब्रिफकेसजस्तो रूपको ग्रामोफोनका घुम्ने सियाले घोच्ने रेकर्डमार्फत बजेका गीतसँगै बाजाका धुन पनि बज्थे । अहिलेको जमानामा त्यो कुरा गर्दा नयाँ पुस्तालाई बुझ्न गाह्रो हुन्छ तर त्यसदिन झिल्के बाको एकल प्रस्तुतिले बिहा हेर्न आएका सबैजना मन्त्रमुग्ध भएका थिए । तरुनी तन्देरीले गीत र भाका तुरुन्तै टिपेर वस्तु हेर्न र गोठाला खेताला जाँदा गाउँदै हिँड्न थाले ।
लोकगीतको कत्रो शक्ति ! यस्तै तरिकाले गीत गाउँदै गाउँगाउँ पुगेर उहाँले प्रचार गरिदिएकै कारण पनि लेखपढ गर्न नजान्ने जनताले कांग्रेस पार्टीलाई विजयी मत दिएर जिताए । हाम्रो क्षेत्रका उम्मेदवारमा तेजमान तुम्बाहाम्फ विजयी हुनुभयो । तुम्बाहाम्फेको लोकतान्त्रिक शिक्षाप्रद तथा अनुकरणीय व्यक्तित्व र आचरणसमेतका बारेमा पनि मेरा संस्मरण छन् । उहाँ मेरा लागि केही थोरै प्रेरणास्रोतमध्ये एक हुनुहुन्छ । अरू कुरा पछि लेखौँला । झिल्के बाले सुर्केमा त्यस दिन मुखैले गाउनुभएको गीतको मुख्य बोल मैले सम्झेसम्म यस्तो थियो :
‘नेपाली हौ नेपाली झिक न तिम्रा कोदाली, पहाड खन्न जाऊँ है...’
रीत पुर्याएर क्रिम कलरका औपचारिक दौरा सुरुवाल कोट पालिस्दार देशी छालाका जुत्ता पहिरेर खिपवाला चौडा पेटी र त्रिभुवन कट जुल्फीमाथि एकातिर केशको थुँगो निकालेर लागेको ढाकाको टोपी समेतमा सजिएका हेर्दैमा कुनै महाकाव्यको नायक जस्तो लाग्ने झरझर बाल्ने युवाको नाच अद्वितीय थियो । त्यस्तो नाच सुर्केमा पछि त्रिभुवन ग्राम विकास योजनाका कार्यकर्ता धनकुटा निवासी गणेश श्रेष्ठले २०१८ सालतिर र धेरै पछि २०२४ सालतिर गैरिगाउँका मास्टर नारायण पहाडी गड्तौलाले देखाएका थिए ।
मैले मेरी आमा तुलसालाई ती ग्रामोफोनका गीत र आफैंले गएका गीतमा नाच्ने मान्छे को हुन् भनेर सोध्दा आमाले भन्नुभयो : ‘झिल्के ढुंगाना भनेका मान्छे तिनै हुन्/हाम्रा घरमा बास बस्दा तिमीलाई पढ्न लगाउने एमपी तेजमान तुम्बाहाम्फेका साथी हुन ।’ जवाहरलाल नेहरूले छोरी इन्दिरालाई लेखेका चिठीको संकलनको नेपाली अनुवाद ‘छोरीलाई बाबुका पत्रहरू’ का पाठ अंश तेजमानले हाम्रो घरमा बास बसेको बेला मलाई पढ्न दिनुहुन्थ्यो र सुन्नुहुन्थ्यो किनकि मैले केही संस्कृत पुस्तक पढिसकेको कारण राम्ररी वाचक चलिसकेको थियो । पछि एसएलसी कोर्समा त्यो किताबको अंग्रेजी भर्सन पढ्दा म तेजमानको अनुहार सम्झन्थेँ ।
आमाले त्यसरी चिनाउनुभएका झिल्के बाको परिवारवृत्त र हाम्रो परवारबीच सम्बन्ध बनेको बेला उहाँका भानिज छवि प्रेम निरौलाले कुनै बखत उहाँको पिप्लेस्थित घरमा मलाई सुर्केमा बजेका ग्रमोफोनका पूरै रेकर्ड दुई दिन लगाएर सुनाउनु हुँदा अत्यन्तै मनोरञ्जक र ज्ञानबद्र्धक लागेको थियो तर ती गीत र ग्रामोफोन अहिले खोजिमर्दा पाइँदैनन् भन्दा दुःख लाग्छ । झिल्के बाले रचेका र संकलन गरेका गीतका सानासाना पुस्तक पनि ऊ बेला देखिन्थे ती पनि नभेटिएकोले केवल सम्झनाको भरमा उहाँको यो शब्द चित्र लेख्नुपरेको छ । यसैबीच उहाँका ज्वाइँ अम्बिका निरौला र भानिज छवि, प्रेम निरौला इतिहासका प्राध्यापक हुनुभएको सुखद् स्थितिमा झिल्के बाको बारेमा विधिपूर्वक ऐतिहासिक खोजपूर्ण कथाहरू बाहिर आउने अपेक्षा गर्नु स्वाभाविकै होला । म उहाँहरूलाई विनम्रतापूर्वक क्षमायाचना गर्दै यो कामतर्फ ध्यानाकर्षण गर्दछु ।
पदमप्रसाद ढुंगाना जीवनपर्यन्त लोकतान्त्रिक विचार र आचरणप्रति आस्थावान रहनुभयो । उहाँको संगत तत्कालीन कांग्रेस नेता बीपी कोइराला र कोइराला निवासमा ठोक्किने पूर्वेली कांग्रेसजनसँग भएको देखिन्छ । लोकतान्त्रिक अन्तरवस्तु बोकेका रचनालाई लयबद्ध गरी गाउने र भारतको कलकत्तासम्म पुगेर ग्रामोफोन रेकर्ड गराउने कामको सिको उहाँले विराटनगरमा तारिणीप्रसाद कोइरालाको रेडियो नेपाल स्थापनाको कसरतका सिलसिलामा गर्नुभएको अनुमान हुन्छ । तिनताका तेह्रथुमबाट विराटनगर पुग्न चार पाँच दिन हिँड्नुपथ्र्यो र त्यस किसिमका कामको लागि खर्च निकाल्न उहाँहरू जस्तै मुखिया परिवारको एक्लो छोरोले मात्र सक्ने कुरा हो ।
त्यसमाथि कलकत्ता जाँदा बस्दाको खर्च छविलाल लप्टनका जन्तरे छोरा गोविन्दप्रसादका एकमात्र छोरा झिल्केबाहेक अरूलाई गाह्रै थियो । आफ्नी आमा मादीका दाहालकी छोरी र जन्तरी ठूलीआमा दिङ्लाका चापागाईंकी छोरी हुनाले मादीका कांग्रेस नेता लीलानाथ दाहाल र दिङ्लाका कांग्रेसजन मुक्ति चापागाईको संगतबाट उहाँलाई कांग्रेसको सदस्यता प्राप्त भएको अनुमान हुन्छ । उहाँ कांग्रेसको प्रतिबद्ध कार्यकर्ता रहेको कुरा २०१५ सालको आमचुनावमा कांग्रेस दलको पक्षमा प्रचारार्थ उहाँको कण्ठबाट गाइएको निम्न गीतबाट स्पष्ट हुन्छ :
‘भोट दिने भोट र बक्सको रूखको चिहृन नेपाली कांग्रेसको’ ग्रामोफोन रेकर्डमा भरिएको उक्त गीत हामी केटाकेटी सबैलाई मुखाग्र थियो । पश्चिम उत्तरमा हाल संखुवासभाको संखुवा र सभा उत्तर तथा पूर्वउत्तरमा हाल ताप्लेजुङको यांरूपसम्म झिल्के बासँगै सहयात्रा गर्नुभएका तत्कालीन युवा कांग्रेस सूर्यनारायण ढुंगाना उक्त गीत र यस्तै कार्यक्रमले ग्रामीण भेगमा अत्यन्त ठूलो प्रभाव परेको कुरा बताउनुहुन्थ्यो । मादीका लीलानाथ दाहाललाई एमपी निर्वाचित गराउनसमेत त्यस निरक्षर जमानामा मौखिक गान र ग्रामोफोनजस्ता प्राविधिक श्रव्य साधनको प्रभाव निश्चय गहिरो थियो भन्न सकिन्छ । उहाँका सानो किताबमा एउटा यस्तो गीत थियो :
चम्कन चम्क नेपाली चम्कन तर भएर
लम्कन लम्क अगाडि साहासी वीर भएर
गोठाला जाँदा हाम्रा अग्रज गोठालाले गाउँदा यो गीत मैले सुनेको थिएँ । उहाँका यी र यस्तै अरू गीतहरू मात्र संकलन गरेर प्रकाशन गर्न सके उहाँप्रति ठोस श्रद्धाञ्जलि हुन सक्दछ । २०१७ सालमा राजा महेन्द्रबाट प्रथम निर्वाचित संसद र त्यसबाट बनेको सरकार विघटन गरी राजनीतिक दलहरूलाई प्रतिबन्ध लागेपछि उहाँका गीत गाउनसमेत स्थानीय प्रशासनले रोकेको थियो । दलका कार्यकर्ता भागाभाग भए । पौठाक निवासी हरिप्रसाद दाहाल र झिल्के बाजस्ता कुनै पदमा नरहेका तर आस्था र आचरण पञ्चायतको पक्षमा नबदल्नेलाई पनि खेदो नै गरियो । वामपन्थमा लग्नुभएका नेत्र गुरागाईलाई त मारियो नै । त्यसैले उहाँले पहिले भूमिगत भएर र २०३६ सालपछि सास दवाएर झापामा जीवनयापन गर्नुभयो । जब २०४६ सालमा दलमाथिको प्रतिबन्ध हट्यो उहाँले पनि मुक्तिको सास फेर्नुभयो । उहाँ कदापि हिंसात्मक काममा लाग्नु भएन ।
२०४६ सालको पहिलो जनआन्दोलनताका पञ्चायती सरकारले झिल्के बालाई तीन दिन थुनेछ । स्थानीय भलादमी लक्ष्मीकान्त ढुंगानाले हाजिर जमानी दिएर निकाल्नुभएको रहेछ । आन्दोलनकारी र राजा वीरेन्द्रबीच सम्झौता भएपछि दलहरूमाथिको प्रतिबन्ध हट्यो र उहाँ पनि पुनः कांग्रेस राजनीतिमा सामेल हुनुभयो । राजनीतिक जीवनमा २००७ सालमा मुक्ति चापागाईंमार्फत कांग्रेसको सदस्यता ग्रहण, २०१२ सालमा महासमिति सदस्य, २०१७ सालतिर गोर्खाकाण्ड अध्ययन समिति सदस्य, २०३९ सालमा प्रतिबन्धित कांग्रेसको पूर्वाञ्चल क्षेत्रीय समितिको संयोजक र २०४८ सालमा केही समय तेह्रथुम कांग्रेस जिल्ला समितिको सदस्य भई काम गर्नुभएको बताइन्छ ।
त्यस अतिरिक्त उहाँ प्रजातन्त्र सेनानी संघको केन्द्रीय प्रतिनिधि र जेष्ठ नागरिक सभाको सदस्य पनि रहनुभएको देखिन्छ । तत्पश्चात, करिब १८ वर्ष अर्थात् जीवनका अन्तिम वर्षसम्म उहाँ कंग्रेसको आदर्शमा आस्थावान रहेरै २०६४ सालमा ८० वर्षको उमेरमा दिवंगत हुनुभयो । लप्टनका जन्तरे छोरा गोविन्दप्रसाद र बुहारी चन्द्रमायाको कोखबाट यी लोकगायक तथा प्रजातन्त्रका अभियन्ताको जन्म सम्वत् १९८४ सालमा भएको जानकारी परिवार सूत्रबाट पाइन्छ । पारवारिक जीवनतर्फ दुई श्रीमती कमला र दुर्गामा जेठी कमलाको असामयिक निधनबाट पत्नीशोक, छोरा पाँच भाइमध्ये एक भाइको अल्पायुमा निधन भएकोले पुत्रशोक व्यहोर्नुपरेको थियो । जीवित छोराहरू जेठी कमलापट्टिबाट जयप्रसाद र तुलसी कान्छी दुर्गापट्टिबाट नरेन्द्र र भरत छोरीहरूमा कमलापट्टि तारा र दुर्गातर्फ अम्बिका हुन् ।
एउटा सुखद् संयोगकै पदमप्रसाद ढुंगानाको पारिवारिक वृत्तमा हाम्रो परिवारका वैवाहिक सम्बन्ध स्थापित हुँदै जाने क्रममा मेरो विवाह उहाँका साइलो ठुलोबुबा पुण्यप्रसादकी नातिनी दाजु लक्ष्मीकान्तकी कान्छी छोरी रमासँग भएकोले उहाँको परिवारका बारेमा जानकारी र भेटघाटको अवसर मिल्छ । २०४६ सालको आन्दोलनपछि दलहरू फुकुवा भएपश्चात् जीवित रहनुहुँदासम्म मेरो उहाँसँग भेट हुन्थ्यो । कांग्रेस दलका लागि जीवनभर समर्पित रहे पनि दलका अरूले पाएसरहको सहयोग दलबाट हुन नसकेको अनुभूति मलाई हुन्थ्यो यद्यपि उहाँले यसतर्फ मलाई कहिल्यै पनि केही संकेत गर्नुभएन ।
झिल्के बाका एक दुई गीत यस्ता छन् :
डाँडा माथि म्याँग्लुङको बजार माया लाउने दुनियाँ हजार
झ्याउँ झ्याउँ झ्याउँकिरी र सारंगीको गाना
गुन्द्रुक र मकै भटमास खेतालाको खाना
रोई रोई जीवन नफाल जन्मभुमि छोडेर नेपाल
‘धुरु धुरु नरोऊ आमा तिम्रो आँसु पुछेरै छाडौंला’
सप्त रंगे इन्द्रेणीको हार लगाई दिउँला
तिमीलाई संसारकी राम्री बनाई दिउँला
धुरु धुरु नरोउल आमा .................’
यो गीत बज्दा जन्तरी हजुर आमा (चन्द्रमाया)का आँखाबाट बरबर आँसु झर्थे । हामी पनि पग्लिन्थौँ । ‘झिल्के काका लोकतन्त्र र देशभक्तिको लागि मरि मेट्नुहुन्थ्यो । महिला र बालबालिकालाई सम्मान गर्नुहुन्थ्यो । हाम्रो छोरा प्रकाश चार वर्ष जतिको हुँदा मावल नागदह मसँगै गएका थिए । उनले कुनै पाठ्यपुस्तकको एउटा देशभक्तिको चेतना जागरण गर्ने ‘धन बहादुरको चिठी’ नामको चिठीको व्यहोरा अरूले पढेको सुनेकै भरमा कण्ठै गरेका थिए र कसैले भन्न लगाए तुरुन्तै भनिदिन्थे । त्यसो गर्दा उनलाई त्यो अझ कण्ठ हुन्थ्यो ।
लोकगीतकार तथा लोकगायक स्व. पदमप्रसाद ढुंगाना उहाँको समयका एक प्रतिभाशाली व्यक्ति हुनुका साथै प्रजातन्त्र र देशभक्तिका लागि समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैगरी तेह्रथुमकै अर्का लोकगायक तथा रचनाकार स्व.गंगाप्रसाद ढुंगानाको पनि स्मरण गर्नु यहाँ सान्दर्भिक हुन आउँछ ।
चार वर्षको बालकले फरररै त्यो चिठी पढेको सुन्दा काकालाई आनन्द आउँदो रहेछ । बजार जाँदा र फर्कंदा ‘नाति, चिठी पढ त’ भनेर बाल सुलभ ढंगले प्रकाशले त्यो चिठी पढेको सुनेरमात्र जानुहुन्थ्यो । चिठीको मोटामोटी ब्यहोरा यस्तो थियो : ‘प्रिय नानी छोरा, आज तिमी बाह्र वर्षदेखि बिरानु मुलुकमा अर्काको नोकरी गरेर बसिरहेका छौं । अब हाम्रो मुलुकमा प्रजातन्त्र आइसकेको छ । अब तिमी घरै आई काम गरेर बस । उही तिम्रो बाबु धनबहादुर ।’ प्रकाशले त्यो पढिसकेपछि उहाँको मुहारमा मुस्कान छरिन्थ्यो अनि धन्यवाद नाति भनेर बाटो लाग्नुहुन्थ्यो ।
रमाका यी स्मृतिपछि म लोकगीतकार तथा लोकगायक स्व. पदमप्रसाद ढुंगानाका लोकगीतहरूका अतिरिक्त पुस्तकाकार रूपमा प्रकाशित ‘चेतना रत्न’ र ‘देशप्रेम’ भन्ने पुस्तिका सम्बन्धमा सानो टिप्पणी गर्न चाहन्छु । ती पुस्तक/पुस्तिका फेला पार्न सकिएन भन्ने ज्येष्ठपुत्र जयप्रसादको भनाइ थियो । ग्रामोफोन र रेकर्ड त झन् कस्तो अवस्थामा पुगिसके होलान् । उहाँका लोकगीत धेरै पहिले रेडियो नेपालले पनि बजाउने गरेको मलाई याद छ । सबै नभए पनि केही त त्यहाँ पनि फेला पर्थे कि ? अन्त्यमा, सुगम ठाउँमा हुने गीतकार वा गायकले यसरी हराएका रचना तथा कृतिलाई आफ्नो पारेका पनि हुन सक्छन् । त्यस्तोमा सप्रमाण दाबी गर्नुपर्ने पनि हुनसक्छ ।
निष्कर्ष :
लोकगीतकार तथा लोकगायक स्व. पदमप्रसाद ढुंगाना उहाँको समयका एक प्रतिभाशाली व्यक्ति हुनुका साथै प्रजातन्त्र र देशभक्तिका लागि समर्पित व्यक्तित्व हुनुभएको कुराका पर्याप्त सूचक देखिएका छन् । त्यसैगरी तेह्रथुमकै अर्का लोकगायक तथा रचनाकार स्व. गंगाप्रसाद ढुंगानाको पनि स्मरण गर्नु यहाँ सान्दर्भिक हुन आउँछ । उहाँको एउटा गीत मेरो कानमा गुञ्जिरहन्छ :
‘किन हेला गरेको होला नेपालमा बनेका खाडीलाई’
धर्मराज थापा र गोकुलप्रसाद जोशी पनि यस्तै विधाका कृतिकार हुन् । धर्मराज थापाबारे काठमाडौं र पोखरामा धेरै काम भए । गोकुलप्रसाद जोशीका बारेमा मैले २०३४ सालमै वेदना पत्रिकामा लेख लेखेको छु । यस्तै लेखक सुनसरीको बराह क्षेत्र भेगका मानबज्र बज्राचार्य पनि हुन् । उनको एक हरप गीत यस्तो रहेको कुरा म सम्झन्छु :
पिता-माता घाम छेल्ने छाता सुमेरु झैँ गृहमा शोभित ।
मानबज्र बज्राचार्यलाई उनको जन्म जिल्लाबाट सम्मान गरिएको समाचार सुनेको छु । अब सामाजिक जागरणका अभियन्ता हुनका साथै लोक गीत र साहित्यमा योगदान दिनु हुने मोफशलका स्व. पदमप्रसाद ढुंगाना तथा स्व.गंगाप्रसाद ढुंगानाजस्ता स्मरणीय स्रष्टाको कदर र सम्मान गर्नुपर्छ कि पर्दैन ? सबैलाई यो मेरो खुला प्रश्न पुगोस् । स्व.ढुंगानालाई मेरो हार्दिक श्रद्धाञ्जलि !
(लेखक भट्टराई संसद् सचिवालयमा लामो समय सेवा गरी सचिव पदबाट निवृत्त हुनुहुन्छ र उहाँ लेखन तथा साहित्य साधनामा सक्रिय हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच