नमागिएको सल्लाह :
प्रसूति हुने समयमा मज्जाले कम्लाएकी जर्सी गौमाता ढुंग्यान बाटोमा ढलक÷ढलक गरेर हिँडेको जस्तो थियो हाम्रो काठमाडौंदेखि चितवनसम्मको पर्यटक बसको यात्रा । नागढुंगाबाट ओरालो लागेपछि मनकामना मन्दिर नजिक रमाइलो डाँडासम्म लगभग सबै स्थानमा बाटो भत्किएको छ, भत्काइएको छ । लाग्दछ-हाम्रो देशका सडकसँग सम्बन्धित अधिकारीहरूले भत्काउँने काममा विद्यावारिधिमात्र होइन दैवी वरदान प्राप्त गरेका छन् र निर्माण लथालिंग पार्न दैवी श्राप । तत्काल बनाउने अवस्था र क्षमता छैन भने भत्काएर यात्रुलाई कठिनाइ, प्रकृतिलाई कुरूप र वायुमण्डललाई प्रदूषित किन बनाएको होला ? यस्ता प्रश्न गर्दै हाम्रो दशजनाको काशी, अयोध्यासम्म गन्तव्य भएको धार्मिक पर्यटकहरूको टोली चैत १८, २०८० को दिनको गन्तव्य चितवन बनाएर अघि बढेको थियो ।
राजधानी काठमाडौं जोड्ने बाटो निर्माणमा काम गरेको जस्तो देखाउँन लगाइएका कामदार र अल्छीलाग्दो कार्य वातावरण देख्दा यसपालिको वर्षायाममा ती बाटाहरू कति कठिन, कुरूप र प्रदूषणकारी होलान् सहजै अनुमान लगाउँन सकिन्छ । विकास बजेट खर्च भएन भन्ने आलोचना टार्न बिलको परिमाण बढाउँन हो कि किन हो भत्काएर निर्माण कार्यलाई लथालिंग पार्ने काम गर्ने सम्बद्ध पक्षलाई कत्ति पनि लज्जाबोध र नैतिक दबाब नहुनु विस्मयकारी छ । अन्यत्रको अभ्यास हेरे हुन्छ-सर्वसाधारणलाई न्यूनतम असुविधा हुनेगरी रात्रिकालीन समयमा वैकल्पिक व्यवस्था गरेर काम गरिएको हुन्छ, त्यसरी काम गर्ने परिपाटी हामीले किन स्थापित गर्न सकेनौं, हामीले सरकारी खर्चमा विदेशको व्यवस्था जानेर बुझेर त्यस ज्ञानलाई आफ्नो देशमा किन प्रयोग गर्न सकेनौँ, यसमा केले र कसले बाधा गर्यो ? यस्ता प्रश्नको जवाफ खोजेर सम्बद्ध पक्ष नसुध्रिएसम्म विकास र समृद्धिको कुरा गफाडीको गफमा सीमित बन्ने निश्चित छ ।
सर्वसाधारणलाई न्यूनतम असुविधा हुनेगरी वैकल्पिक व्यवस्था गरेर काम गर्ने परिपाटी हामीले किन स्थापित गर्न सकेनौ ? यस्ता प्रश्नको जवाफ खोजेर सम्बद्ध पक्ष नसुध्रिएसम्म विकास र समृद्धिको कुरा गफमा सीमित बन्ने निश्चित छ ।
बिहानी खाजा र शौचालय सुविधाका लागि भनेर गाडी रोकिएका स्थानमा उपयोग गरिएका शौचालयको अव्यवस्थाको दोष व्यवस्थापकलाई मात्र दिएर उम्किने अवस्था यस कारण थिएन कि-पानीको उपलब्धताको बाबजुद शौचालय प्रयोगपछि गरिने सामान्य सरसफाइमा पनि बेवास्ता गरिएको थियो । होटेल, रेष्टुरा व्यवस्थापक पनि कहाँ कम हुनु-पर्यटकलाई सुविधा होला भनेर होला हातधुने बेसिनको गहिरो भागसम्मै नआइपुग्ने धारा लगाएर आफ्नो अव्यावसायिकताको परिचय दिइरहेका थिए । हाम्रा राजधानी जोड्ने राजमार्ग भन्ने गरिएका मृत्यमार्ग, बाटोमा पर्ने होटेल रेष्टुराको खाना र सरसफाइको अवस्था र सबैतिरको बेथिति देखेर बसका सहयात्री विदेशी नागरिकसँग नेपाली नागरिकको नाताले मुख देखाउँन लज्जाबोध भइरहेको थियो । उनीहरूको अपरिचितसँग आँखा नजुधाउँने बानीको कारण केही सजिलो भने महसुस भयो ।
चितवन जिल्ला प्रवेश गरेपछिको अवस्था तुलनात्मक रूपमा सहज छ । यद्यपि, वर्षायाम सुरु हुने समय नजिकिएसँगै मुग्लिन- रामनगरबीचको पहिरो व्यवस्थापन र बाँकी पुल, कल्भर्ट निर्माणमा देखिएको अल्छीपन नमज्जा लाग्ने थियो । झलक्क हेर्दा जाँगर चलाउँने हो भने केही महिनामा नै त्यस बाटोका समस्यालाई निवारण गर्ने सम्भावना देखिन्थ्यो ।
चितवन जिल्लामा भ्रमण गरिएका स्थानहरू :
चितवनमा बासको प्रबन्ध गरेपछि मौलाकालिका देवीको दर्शन हाम्रो प्राथमिकतामा रहृयो । पहिले पनि पैदल यात्रा गरी केही पटक देवीको दर्शन गरिएको भए पनि केवलकार चढेर जाने इच्छा पूरा गर्दै देवीको पूजा, आराधना र दर्शन सम्पन्न भयो । केबलकारमा गरिएको लगानीको अनुपातमा दर्शनार्थीको उपस्थिति कम भएकाले लगानी प्रतिफल अनुपातको असन्तुलनको कारण आयोजनाको दिगो व्यवस्थापनमा समस्या आउला कि भन्ने विषयमा हाम्रो टोलीका सदस्यबीच हल्का कुराकानी पनि भयो । मौलाकालिका मन्दिर नवलपुर जिल्लाको गैडाकोट क्षेत्रको नारायणी नदी उत्तर मौला डाँडामा रहेको छ । समुद्री सतहबाट ५६१ मिटरमाथि रहेको यो मन्दिर १६औं शताब्दीमा पाल्पाका राजाले देवी कालिकाको प्रतीक स्थापना गरेपश्चात प्रचलनमा आएको विश्वास गरिन्छ । हिन्दु धर्मशास्त्रीय विश्वास अनुसार काली र कालिका माईलाई शक्तिकी देवीको रूपमा पूजा गरिन्छ ।
यस मन्दिरलाई पटक पटक पुननिर्माण गरिएको छ । यहाँबाटसिधैं देवघाट जाने पदमार्ग रहेको छ । हालैका दिनमा मन्दिर व्यवस्थापन समितिले पशु बलि दिने कार्यलाई निषेध गरेर प्रशंसनीय काम गरेको छ । पहिले धेरै पटक गएको कारण यस पटक प्रसिद्ध देवघाट धामलाई अर्को भ्रमणको गन्तव्य बनाउने सल्लाह भयो । चितवन जिल्लाको बसेनीमा अवस्थित गणेश मन्दिर पनि हाम्रो धार्मिक पर्यटनको छनौटको स्थान रहृयो । बाइपास रोडसँगै रहेको यो मन्दिरको मूल संरचना पाल्पाका राजा मणिमुकुन्द सेनले बनाएको विश्वास गरिन्छ । चितवन जिल्लाकै टाँडी क्षेत्रको जिरौनास्थित कृष्णप्रणामी मन्दिरको संरचना भव्य र मनमोहक रहेको छ । त्यहाँको सफा र शान्त वातावरणमा गरिएको पूजाआराधना पश्चात् मानसिक शान्तिको अनुभव भयो ।
यसै गरी नेपालको माओवादी आन्दोलनले सिर्जना गरेको द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित शक्तिखोर क्षेत्रमा रहेको विजयकालिका भनिने कालिका भगवती मन्दिरको दर्शन हाम्रो यात्राको स्मरणीय पक्ष बन्नपुग्यो । नारायणी नदी तरेर यात्रा गर्दा नदीमा नौका विहार गर्ने रहर यसपटक पूरा भयो । केटाकेटीपन देखाएर रमाउँदै गरेको नौका विहारले यात्राको थकानलाई मेटाइदिएको थियो । ननस्टार भए पनि नामै स्टार भएको होटेलको अतिथि सत्कारले हाम्रो आगामी यात्रालाई अझ ऊर्जावान बनाएको थियो । विद्यार्थी कालमा सिकेको पौडीको आनन्द चितवन बसाइको अर्को स्मरणीय पक्ष बनेको थियो ।
भ्रमण टोलीका एक सदस्य खजुरीको नेपाल कम्पनीका महाप्रबन्धक भएको कारण उक्त संस्थाका बारेमा जानकारी लिने अवसर प्राप्त भयो । सन् १९९० देखि ललितपुर, चापागाउँ क्षेत्रका महर्जन परिवारद्वारा स्थापित यो उद्योग हाल खजुरीको ब्राण्डको रूपमा परिचित भएको छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा, हङकङ, जापान, भारतलगायतमा निर्यात गर्ने हैसियत बनाएको यो उद्योगको उत्पादन प्रक्रियाको अवलोकन, त्यहाँका सुपरभाइजरसँगको अन्तक्र्रिया हाम्रा लागि केही सिक्ने र प्रेरणा लिने अवसर थियो । ९० प्रतिशत भन्दा बढी महिला कामदार राख्ने नीति रहेको र सोको कार्यान्वयन गरिएको अवस्थाले भुँइबाट उठेर चितवनबाहेक हेटौंडा, काठमाडौंमा समेत विशिष्टीकृत उत्पादन केन्द्र स्थापना गरी सफलताको सिँढी चढिरहेका महर्जन परिवारप्रति श्रद्धाभाव जागृत भएर आयो ।
चितवनबाट काशी/वनारस
चितवनबाट दस जनाको टोली चितवन जिल्लाको भ्रमण सकेर वनारस जाने क्रममा माइक्रो बसमार्फत नेपाल–भारत सीमाना रक्सौलतर्फ अघि बढ्यो । नेपालको सीमामा गाडी रोकेर तीनपांग्रे सवारी साधनमा सीमाको पुलसम्म पुगेपछि केही मिनटको ठेलमठेल पैदल यात्रापछि भारतीय क्षेत्रमा अर्को तीनपांग्रे सवारीबाट रेलवे स्टेसनमा पुगेपछि सीमाक्षेत्रमा हुने झन्झटबाट उन्मुक्त भएको महसुस भयो । रेलको नाममा सोपिसका लागिमात्र रेल भएको देशका रेल्वे संस्कृति नबुझेका हाम्रा लागि निर्धारित समयभन्दा पाँच घण्टाअगाडि स्टेसन पुग्दा पनि राहत नै अनुभव भएको थियो ।
काशी, वनारस, वाराणसी धेरैले सुनेको नामबाहेक वनारसलाई अभिमुक्त क्षेत्र, आनन्द कानन, महाश्मशान, रुद्रावास, काशिका, तपस्थली, मुक्त भूमि, शिवपुरी, त्रिपुरारिराज नगरी, विश्वनाथ नगरी पनि भन्ने गरिन्छ । वनारसले सीमित क्षेत्रलाई जनाउँछ भने काशीले व्यापक हिन्दू संस्कृति र सभ्यतालाई प्रतिबिम्बित गर्दछ ।
रातिको २२.५५ बजे ट्रेन नं. १४०१५, सद्भावना एक्सप्रेसको थर्ड एसी बि ४ कोचमा बसेर कुनै बेला सुतेर ४४९ किलोमिटरको यात्रा तय गर्दै बिहान ११.३५ बजे लगभग निर्धारित समयमा वनारसको रेलवे स्टेसनबाट ओर्लेर अर्को सवारीसाधनमार्फत वनारसको शिवाला रोडस्थित होटल विश्वनाथमा पुगी तीन दिनको बासको प्रबन्ध मिलाएपश्चात् केही समय आराम गरेर वनारसको भ्रमण प्रारम्भ गर्ने सल्लाह भयो ।
वनारस
काशी, वनारस, वाराणसी धेरैले सुनेको नामबाहेक वनारसलाई अभिमुक्त क्षेत्र, आनन्द कानन, महाश्मशान, रुद्रावास, काशिका, तपस्थली, मुक्त भूमि, शिवपुरी, त्रिपुरारिराज नगरी, विश्वनाथ नगरी पनि भन्ने गरिन्छ । वनारसले सीमित क्षेत्रलाई जनाउँछ भने काशीले व्यापक हिन्दू संस्कृति र सभ्यतालाई प्रतिबिम्बित गर्दछ । विश्वकै जुनसुकै कुनामा बसेको हिन्दूले पनि काशीका बारेमा सुनेको हुन्छ केही न केही बुझेको हुन्छ । वनारस गंगा नदीको किनारमा अवस्थित उत्तर भारतको उत्तर प्रदेश राज्यमा पर्दछ । तीर्थ यात्रा, मृत्यु संस्कार, श्राद्ध आदिका लागि यो शहर विश्वभरिका हिन्दूका लागि परिचित नाम हो । भारतको राजधानी दिल्लीबाट ६९२, लखनउबाट ३२० र प्रयागराजबाट १२१ किलोमिटर दूरीमा रहेको वनारसमा आठौं शताब्दीमा आदि शंकराचार्यले वाराणसीमा शिव पूजनको परम्परा स्थापित गरेर शिवभक्तिको परम्परालाई बढावा दिएको विश्वास गरिन्छ ।
तुलसीदास, कविर र रविदासजस्ता विद्वानहरूले भक्ति अभियानलाई बढावा दिएको पाइन्छ । सन् १७७५ मा ट्रिटी अफ फैजावादबाट वनारस अधिराज्य इष्ट इण्डिया कम्पनीअन्तर्गत रहेकोमा स्वतन्त्रतापश्चात उत्तर प्रदेश राज्यअन्तर्गत आएको हो । पुरातन कालदेखि नै वनारस शिक्षा र संस्कृतिको केन्द्रका रूपमा रहेको छ । बीसौं शताब्दीमा वनारस घरानाको हिन्दुस्तानी क्लासिकल म्युजिकको विकास भएको थियो । प्रेम चन्द, विस्मिल्ला खाँनजस्ता विशारद व्यक्तित्वहरू वनारससँग सम्बन्धित थिए । सन् १७९१ मा बम्बैका गभर्नर जोनाथन डुंकनले हिन्दु दर्शनको अध्यनका लागि संस्कृत कलेजको स्थापना गरेकोमा पछि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालको रूपमा परिणत भएको थियो ।
मदनमोहन मालबीयले सन् १९१६ मा वनारस हिन्दु युनिभर्सिटीको स्थापना गरे भने १९२१ मा काशी विद्यापीठको स्थापना भएको थियो । यस्तो हिन्दु संस्कार, संस्कृति, सभ्यता र देवभाषा संस्कृत भाषाको केन्द्र रहेको वनारसको पहिलो दिन हाम्रो भ्रमण टोलीले दशाश्वमेध घाटबाट गंगा आरतीको आनन्द लियो । श्रुति परम्परा अनुसार ब्रहृमाद्वारा दस अश्वमेध यज्ञ गरेको कारण यसको नाम दशाश्वमेधघाट भनिएको भन्ने भनाइ छ भने अर्को श्रुति परम्पराले ब्रहृमाले शिवको स्वागतका लागि यो घाट बनाएको बताइन्छ । वनारसका ८४ घाटमध्येको महत्वपूर्ण यो घाट यसको सुन्दरता र गंगा आरतीका लागि प्रसिद्ध छ । यसलाई काशीको मोक्षदायिनीघाट पनि भनिन्छ ।
यसमा स्नान गर्नाले सात जन्मको पाप नाश हुने विश्वास गरिन्छ । यसको जल लिएर पवित्र काममा प्रयोग गर्ने प्रचलन पनि रहेको छ ।
यसरी हाम्रो भ्रमण टोली, यात्राको चौथो दिन वनारस पुगेर डुँगामा शयर गर्दै दशाश्वमेधलगायतका घाटहरूबाट गंगा आरतीको दर्शन गरेर अनुगृहीत बन्यो । आरती दर्शनबाट प्रफुल्लित बनेको मनलाई निद्रादेवीको शरण पर्न होटेल विश्वनाथको शयनकक्षको सहारामा पुगेर वनारसवासको पहिलो दिनको समाप्ति भयो । पहिलो दिनको काशीवास हाँसो र खुशीमा बितेकोमा भ्रमण टोलीका सबै सदस्य पुलकित बनेका थिए । बाँकी आगामी अंकमा क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच