बिषु मनाउन घर फर्कंदै नेपाली

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । बिषु पर्व अर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्केका छन् । सुदूरपश्चिमवासीले मनाउँदै गरेको बिषु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर फर्केको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।

हेल्प डेस्कका अनुसार उनीहरु भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्ली लगायतका विभिन्न सहरबाट फर्केका हुन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको देखिएको छ ।

भारतको सुरतमा रोजगार गर्दै आउनुभएका कैलालीको ओलानीका राम टमटाले बिषु पर्व अर्थात् नयाँ साल मनाउन घर फर्केको बताउनुभयो । “बिषु मनाउन घरपरिवार प्रतिक्षामा गरिरहेका छन् । हिउँदेबाली पनि भित्रयाउनु पर्‍यो । त्यही भएर घर फर्किएँ”, उहाँले भन्नुभयो ।

खेतीपाती भित्र्याउने समय भएको र बिषु पर्व पनि आइरहेकाले आफू भारतको बैंङलोरबाट आएको डोटीको दीपायलका राम जोशीले बताउनुभयो । यसरी छिमेकीमुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् ।

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्रयाउने समयमा घर आउने यहाँको चलन छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् ।

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्दछन् ।

बिना भिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने गरेको कारणले पनि नेपालीहरुको प्रमुख रोजगारीको गन्तव्य स्थान छिमेकी राष्ट्र भारत बन्न पुगेको हो । बिषु पर्व अर्थात नयाँ वर्षका दिन तितेपातीले नुहाएर पूजाआजा गरी गतानि डुब्का, बटुक, माडालगायतका स्थानीय खानाका पकवान खाने प्रचलन रहीआएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?