✍️ केशव चौलागाईं
विश्व मानचित्रमा एसिया महादेशको एक भागमा सर्वोच्च हिमशिखर सगरमाथा भएको, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत, पूर्वमा मेची र पश्चिममा महाकालीसम्म फैलिएको एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रलाई नेपाल भनेर बृहत् नेपाली शब्दकाशले अथ्र्याएको छ । नेपालमा बसोवास गर्ने, नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपाली भनिन्छ । नयाँ भनेको नवीन, नूतन, नौलो, नव, भर्खरमात्र व्यवहारमा आएको भन्ने बुझिन्छ । एक वर्ष पूरा भएर अर्को वर्षको थालनी हुने समयलाई नयाँ वर्ष भनिन्छ । प्राचीन हिन्दु परम्परा तथा वैदिक समयांकनमा आधारित सौर्य पात्रो नै नेपाली विक्रम सम्वत्को पात्रो हो । यो पात्रो नै नेपालको आधिकारिक पात्रो हो । यसै पात्रोलाई पञ्चांग पात्रो भनिन्छ । यसै पात्रोका आधारमा हामीले दशैँ, तिहार, तीज, रामनवमी, शिवरात्रि, जनैपूर्णिमा जस्ता चाडपर्व मनाउँदै आएका छौँ । तिथि, श्राद्ध, व्रत, पूजापाठ, विवाह, व्रतबन्धको साइत पनि यसै पात्रोअनुसार जुराइन्छ । यही पात्रोअनुसार हरेक वर्ष वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ ।
नयाँ वर्ष आपसी खुसी एवं उल्लासमय वातावरणका साथ मनाउने गरिन्छ । यस दिन विभिन्न मनोरञ्जन गर्दै गत वर्षको कामको सफलता एवं असफलताको मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको संकल्प गर्ने चलन पनि रहेको छ । नयाँ वर्षका दिन बिहानै उठेर स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्ने, मन्दिर जाने, मीठामीठा परिकार खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने, वनभोज कार्यक्रम आयोजना गर्ने चलन रहँदै आएको छ । बिहानीले दिनको संकेत गरेजस्तै नयाँ वर्षले वर्षभरिको समयको आरम्भता बुझाउने भएकाले शुभ लक्षणले युक्त कार्य गरी जीवनलाई ऊर्जावान बनाउने सकारात्मक कार्यको थालनी गर्ने चलन रहेको पाइन्छ । पार्क, विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिकरूपले मनोरम स्थानहरू घुमफिर गरी मनोरञ्जन लिने चलन पनि छ । सरकारी, निजी एवं गैरसरकारी संघसंस्थाहरूले नयाँ वर्षका दिन सार्वजनिक बिदा दिने चलन छ । यसले नयाँ वर्ष मनाउन सजिलो हुनुका साथै थप ऊर्जा प्रदान गरेको छ ।
पाँचौँ-छैटौँ शताब्दीदेखि सलहेश राजाले मानिक दहमा स्नान गरेपछि यसै फूलबारीमा फूल टिप्न जाने गर्दथे भन्ने प्राचीन सांस्कृतिक मान्यता रहँदै आएको छ । फूल टिपेपछि महिसौथा गढमा रहेको राजमाता र कमलाजीको पूजा गर्ने गर्दथे । पूजा सकेर खानपिन गरी यसै फूलबारीमा आई आफ्नी पे्रमिका दीना मालिनीसँग विचरण गर्ने गर्दथे ।
पूर्वीय वैदिक ज्योतिषशास्त्रको प्रसिद्ध ग्रन्थ ‘सिद्धान्तशिरोमणि’मा भाष्कराचार्यले लंकामा सूर्योदय हुँदा सूर्यकै बार अर्थात् आइतबार र चैत शुक्ल पक्षको प्रतिपदा तिथि परेको लेखेका छन् । ३६५ दिनको वार्षिक चक्रको आरम्भ यही तिथिबाट गर्न थालिएको मानिन्छ । नयाँ वर्षसँगै वसन्त ऋतुको आगमन हुने हुँदा नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा, कोइलीको कुहुकुहु अनि चराहरूको चिरबिरले सजिएर नवीन उमंग एवं आशा लिएर विक्रम सम्वत्को नयाँ वर्षको आगमन हुन पुग्दछ । नयाँ वर्षका दिन नयाँ कामको सुरुवात गर्ने, पूजा लगाउने, यज्ञ गर्ने, दान दिने, मेला, पर्व, उत्सव, जात्रा मनाउने, स-साना केटाकेटीहरूलाई मन्दिर, पार्क, बगैँचा, मेला घुमाउने, पिङ खेलाएर मनोरञ्जन गराउने गरिन्छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम विक्रम सम्वत् शास्त्रीय सम्वत् भएको कुरा बताउनुहुन्छ । सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको सम्वत् नै विक्रम सम्वत् हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ । सूर्यको उपासकले चलाएकाले यस सम्वत्लाई विक्रम सम्वत् भनिएको हो । विक्रम सम्वत्मा महिनाका नामलाई नक्षेत्रको नामबाट राखिएको छ ।
विशाखा नक्षत्रमा पूर्णिमा भएको महिनालाई वैशाख, ज्येष्ठा नक्षत्रमा पूर्णिमा परेको महिनालाई जेठ, पूर्वाषाढामा पूर्णिमा भएको महिनालाई असार, श्रावण नक्षत्रमा पूर्णिमा भएको महिनालाई साउन, पूर्वभाद्रपदा नक्षत्रमा पूर्णिमा भएको महिनालाई भदौ, अश्विनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई कात्तिक, मृगशिरा नक्षत्रमा पूर्णिमा भएको महिनालाई मंसिर, तिष्य नक्षत्रमा पूर्णिमा परेको महिनालाई पुस, मघा नक्षत्रमा पूर्णिमा भएको महिनालाई माघ, पूर्वफाल्गुनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई फागुन र चित्र नक्षत्रमा पूर्णिमा परेको महिनालाई चैत नामाकरण गरिएको विज्ञहरूले बताउँदै आएका छन् ।
नयाँ वर्षमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले वैशाख संक्रान्तिका दिन स्नान, दान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेको पाइन्छ । पशुपतिनाथ, स्वयम्भूनाथ, बुढानीलकण्ठ, पाथिभरा, त्रिपुरासुन्दरीलगायत देशैभरका मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । बुढाबुढी, केटाकेटीदेखि लिएर युवायुवतीहरूसमेत भगवान्को दर्शन गरी मनलाई आत्मिक शान्ति प्राप्त गर्न एवं घुमफिर गरी आनन्द लिने गर्दछन् । मातृदेवो भवः, पितृदेवो भवः गुरुदेवो भवः, विश्वबन्धुत्वको भावना, सर्वे भवन्तु सुखिनः जस्ता विषयमा केन्द्रित भएर मानक संस्कारलाई अवलम्बन गर्नुपर्दछ । यस्ता कार्यहरूलाई पनि हामीले नयाँ वर्षसँगसँगै अगाडि बढाउन सक्नुपर्दछ ।
मिथिला नेपालको दक्षिणपूर्वी भागमा अवस्थित प्रसिद्ध सांस्कृतिक क्षेत्र हो । मिथिलालाई विदेह देशको राजधानीको नाम, जनकपुर भनिन्छ । त्यतिबेलाको समयमा मिथिला राज्यमा भारतको विहार राज्यका पूर्वी चम्पारण, पश्चिम चम्पारण, शिवहर, सीतामगढी, वैशाली, मुजफ्फरपुर, मधुवनी, समस्तीपुर, खगडिया, सहरसा, मधेपुरा, अररिया, कटिहारलगायतका जिल्लाहरू थिए । त्यसैगरी झारखण्ड राज्यका गोड्डा, देवघर, दुमका, साहिबगञ्ज, जामताडा, आपाकुड जिल्ला पर्दछन् भने नेपालको नयाँ प्रशासनिक विभाजनअनुसार मधेशअन्तर्गत रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौटहट, बारा र पर्सा जिल्ला तथा कोशी प्रदेशका मोरङ र सुनसरी जिल्ला मिथिला क्षेत्रमा पर्दछन् । मिथिलाका बारेमा सबैभन्दा पहिला रामायणमा उल्लेख भएको पाइन्छ ।
सलहेश फूलबारी पूर्व-पश्चिम महेन्द्र राजमार्गको ढल्केवरदेखि पूर्व सिरहा जिल्लाको लहान बजारदेखि ४/५ मिलोमिटर पश्चिमतिर तथा मूल राजमार्गभन्दा १ किलोमिटर दक्षिणको दूरीमा पर्दछ । यसको क्षेत्रफल झण्डै तीस-पैँतीस एकड क्षेत्रफलमा वर्गाकार रूपमा रहेको छ । पाँचौँ-छैटौँ शताब्दीदेखि सलहेश राजाले मानिक दहमा स्नान गरेपछि यसै फूलबारीमा फूल टिप्न जाने गर्दथे भन्ने प्राचीन सांस्कृतिक मान्यता रहँदै आएको छ । फूल टिपेपछि महिसौथा गढमा रहेको राजमाता र कमलाजीको पूजा गर्ने गर्दथे । पूजा सकेर खानपिन गरी यसै फूलबारीमा आई आफ्नी पे्रमिका दीना मालिनीसँग विचरण गर्ने गर्दथे । त्यसले यस फूलबारीको नाम सलहेश फूलबारी रहन गएको हो भन्ने मान्यता रहेको छ ।
यस सलहेश फूलबारीको उत्तरपश्चिम कुनामा सबैभन्दा महत्वपूर्ण मानिएको सलहेश राजाको मन्दिर छ । मन्दिरको ठीकपछाडि दीना मालिनीको सानो मन्दिर रहेको छ । यसै मन्दिरको पछाडि ‘हारम’ फूल रहेको छ । यो ‘हारम’ फूल चैत महिनाको अन्तिम दिनको राति ‘हारम’को रुखमा एउटामात्र चामत्कारिक फूल मालाकाररूपमा फुल्छ र वैशाख १ गतेका दिनभर र राति १२ः०० बजेसम्म रहन्छ । ‘हारम’ फूल पाँचौँ-छैटौँशताब्दीका लोकनायक सलहेश तथा उनकी रानी दीना मालिनीबीचको अमर प्रेमको जीवन्त प्रतीक विशिष्ट चामत्कारिक फूल हो । ‘हारम’ फूल प्राचीनकालदेखि नै नेपाल, भारतलगायत विश्वका विभिन्न देशका हजारौँ दर्शनार्थीहरूको आकर्षणको केन्द्र रहँदै आएको छ ।
जीवन ऊर्जामय, प्रगतिशील बनाउन सकारात्मक सोचाइमा लाग्ने, लोकोपकारी कार्यतर्फ ध्यान केन्द्रित गर्ने, विनयी, ज्ञानमय कुराहरू सुन्ने, धर्म, संस्कार र संस्कृतिको क्षेत्रमा लाग्ने, सत्मार्गमा अगाडि बढ्ने जस्ता कार्य गरी सबैले असल संस्कारको सुरुवात गर्ने गराउने दिन नै नयाँ वर्ष हो । हाम्रो जीवनलाई ज्ञान, ध्यान, चिन्तन र असल कर्मले महान् बनाउन सकिन्छ । सबैसँग मिठो बोल्ने मृदुभाषी मानिसलाई नै भाग्यले साथ दिन्छ । कर्मले नै भाग्य बनाउने हो । नयाँ वर्ष उल्लासका साथ नयाँ कर्ममा लाग्ने दिन हो । यस दिनलाई सकारात्मक, रचनात्मक कार्यमा लगाई जीवनलाई बदल्ने बाटोतर्फ अगाडि बढाउन सकिन्छ । यही सत्प्रेरणा हामी सबैमा नयाँ वर्षले दिन सकोस् ।
हामी सबैलाई व्यक्ति, परिवार, समाज हुँदै देशको विकासमा लाग्न अनि आफू र आफ्नो देशको पहिचानलाई संसारमा चिनाउन सत्प्रेरणा जागृत गराओस् । नयाँ वर्षले सबैलाई सुख, शान्ति, सन्तोष, खुसी, सुस्वास्थ्य, उन्नति, प्रगति प्राप्त होओस् । दिन र रातमा मंगल होओस् । रातिदन सदा मंगल होओस् । दिनको मध्याहृनमा पनि मंगल होओस्, रातको मध्याहृनमा पनि मंगल होओस् । सदासर्वदा त्रिरत्नको मंगल होओस् । सबैमा आशाको दीप प्रज्ज्वलित होओस् । वरत्र, परत्र, सर्वत्र मंगल होओस् । भवतु सर्व मंगलम् । (लेखक चौलागाईं रिलायन्स पब्लिक स्कुल, कपनमा नेपाली विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच