सौन्दर्यबोध !

डा. नारायण चालिसे
Read Time = 14 mins

मानवीयभाव र अनुभूतिका विषयमा लेख्न बस्दा तत्-तत् विषयका भावगत र विषयगत सामग्रीहरूले साथ दिँदै आएका हुन्छन् । केही समय पहिले मैले मानिस फगत एक्लो छ । मानिसमात्र होइन यस धर्तीमा सबैको अवतरण एकल छ र उसको अस्तित्वको यात्रा पनि एकल नै हुन्छ । धर्तीमा अवतरण भएपछि जोडिएका नाता, सम्बन्ध, कुलकुटुम्ब, आफन्त, इष्टमित्र, गुरु, स्वजन र परजनसमेतको सदिच्छा, सद्भाव, प्रेम, स्नेह, शुभकामना, घृणा, तिरस्कार, मान, अपमान, सुखदुःख, हर्ष, विष्मात् हौसला, प्रेरणा आदि सहायक सामग्रीले साथ दिएका हुन्छन् । तर, यी सम्बन्धहरू क्षणिक महत्वका हुन् मानिस एक्लै जन्मिएको हो र एक्लै नै उसले आफूलाई व्यवस्थित गर्ने अभ्यास गर्नुपर्छ भनेर लेखेँ ।

कतिपय मानिसले स्वयं नै एक्लो भएर यस्तो विलाप गरेको त होइन भनेर सहानुभूति प्रकट गरेर प्रतिक्रियाहरू दिए । कहिले कुन कुराले मनलाई उत्साहित पारेको हुन्छ भने कहिले कुन कुराले निराश बनाएको हुन्छ । जीवनका यी अनिवार्य अवस्थाहरू नहुँदा हुन् त जीवनको गति पनि समाप्त हुन्थ्यो । यसरी निन्तर लेखिरहँदा एक प्रकारको आदत नै बनेको हुँदोरहेछ । आखिर हामीले लेख्ने विषय यिनै त हुन् मानिसको जीवनका वरिपरि गरिरहने । गत हप्ता शोकको विषयमा लेखेँ । यस्ता विषयहरू उठाएको बेला धेरैमा आत्मानुभूतिको बोध भए पनि कतिपय पाठकहरूले आफ्नैमात्र अनुभूति हुन् कि भनेर बुझ्ने गरेको पनि पाइन्छ ।

राम्रो बनाउने तत्वलाई सौन्दर्य भनिँदो रहेछ । सौन्दर्यका धेरै अर्थ, तात्पर्य र परिभाषाहरू छन् । सौन्दर्यकै विषयमा व्याख्या र विवेचना गरिएका शास्त्रहरू नै छन् जसलाई सौन्दर्यशास्त्र भनिन्छ । कुनै वस्तुलाई देखेर हाम्रो मनमा जुन आनन्ददायिनी अनभूति हुन्छ त्यो सौन्दर्य हो ।

तर, यी विचार एकल अनुभूति होइनन् यी त प्रतिनिधि अभिव्यक्ति हुन् । त्यस्ता अनुभूति वा घटनाको विषय कहीँ म हुन सक्छु कहीँ कोही अर्को हुनसक्छ । जीवनसँग जोडिएका यी तत्वहरू जीवनका अङ्ग हुन् अनि गतिशील जीवनका यी सौन्दर्यहरू हुन् । हामीले चाहेर नचाहेर स्वीकार गर्नुपर्ने यिनै अवस्थाहरूको गहिरो बोध, विषयप्रतिको आस्था र त्यसबाट प्रकट हुने अनुभूति वा दृश्य नै सायद त्यस विषयको सौन्दर्य हो । चाहे दुःखको होस् चाहे सुखको होस् ।

हामी सौन्दर्यपूर्ण अवस्थामा पुगेपछि नै अनुभूतिलाई तीव्रता दिन सक्छौँ । सुखको सौन्दर्य, दुःखको सौन्दर्य । अभावको सौन्दर्य, भावको सौन्दर्य । विपन्नताको सौन्दर्य, सम्पन्नताको सौन्दर्य । भोकको सौन्दर्य, रोटीको सौन्दर्य । यसरी सौन्दर्यका प्रकारहरूमा कहिले कुन कहिले कुन सौन्दर्यले साथ छोडेको हुँदैन । भोकले छट्पटिएको बेला रोटीको व्यवस्था हुनुभन्दा सुन्दर अर्को अवस्था हुँदैन ।

राम्रो बनाउने तत्वलाई सौन्दर्य भनिँदो रहेछ । सौन्दर्यका धेरै अर्थ, तात्पर्य र परिभाषा छन् । सौन्दर्यकै विषयमा व्याख्या र विवेचना गरिएका शास्त्रहरू नै छन् जसलाई सौन्दर्यशास्त्र भनिन्छ । कुनै वस्तुलाई देखेर हाम्रो मनमा जुन आनन्ददायिनी अनभूति हुन्छ त्यो सौन्दर्य हो । सौन्दर्यको स्वरूप र स्वभावको विवेचना अनि जीवनका अन्यान्य अनभूतिहरूका साथ उसको समन्वय स्थापित हुने अवस्था नै वास्तवमा सौन्दर्य हो । तर, आजको अवस्थामा सौन्दर्यको कलावादी परिभाषा परिमार्जन भएको छ आनन्दात्मक अवस्था मात्र सौन्दर्य होइन ।

सुखात्मक अवस्था जस्तै दुःखात्मक अवस्थाको पनि अनिर्वचनीय रूपलाई पनि दुःखको सौन्दर्य भनिन्छ । सौन्दर्यको वस्तुवादी परिभाषा अहिले सान्दर्भिक भएर आएको छ । जीवनका ती यावत् अवस्थाका अनुभूतिहरू चाहे ती सुखात्मक हुन् चाहे ती दुःखात्मक हुन् जीवनलाई गहिरो प्रभाव दिने अवस्थाहरू आफैँमा सौन्दर्यका रूप हुन् । तिनैको प्रेरणा वा प्रताडनाले नै त जीवनले गति पाउन सम्भव छ । सौन्दर्य परिधि, परिस्थिति एवं अनुभवको प्राकृतिक एवं कृत्रिम दुई स्रोतबाट सामेल हुन्छ ।

हामी ती स्रोतहरूका बारेमा के धारणा बनाउँछौँ वा बनाउन सक्छौँ भन्ने कुरामा सौन्दर्यको कला निर्भर रहन्छ । सौन्दर्य सुन्दरताको भाव र अनुभूति त हो तर के सौन्दर्य भनेको सबै बने बनाए राम्रो हुनु वा राम्रो पार्नु हो त ? भनेर सोधियो भने उत्तर फरक-फरक आउन सक्छन् । विचार, दर्शन र दृष्टिको सैन्दर्य नै वास्तविक सौन्दर्यमूल्य हो । यसलाई माक्र्सवादी सौन्दर्यशास्त्रमा अझ राम्ररी व्याख्या गरिएको छ । श्रमको सौन्दर्य, क्रान्तिको सौन्दर्य, मूल्यबोधको सौन्दर्य, अस्तित्वबोधको सौन्दर्य इत्यादि सौन्दर्यका आधुनिक चेष्टाहरू हुन् ।

सौन्दर्यको प्रतिरोधी रूपलाई हे¥यौँ भने हामीले सौन्दर्यको नवीन स्वरूप देख्न र अनुभव गर्न सक्ने छौँ । सौन्दर्यशास्त्रको कसीमा दाँजेर हेर्ने हो भने सौन्दर्य र असौन्दर्यका धेरै प्रकारका व्याख्या पाइन्छन् । कुनै न कुनै किसिमले राम्रो लाग्ने विषय त्यस विषयको सौन्दर्य हो । भोकका अगाडि सिस्नो र ढिँडो सौन्दर्य हो । नाङ्गो आङका लागि लाज ढाक्ने पहिरन सौन्दर्य हो । बेघरबारको निम्ति शीत र पानीमा ओत लाग्ने छाप्रो सौन्दर्य हो । विभिन्न विचारमध्ये बहुजन हितायको विचार सौन्दर्य हो ।

सौन्दर्य विलाशिताको विषय बनेपछि सौन्दर्यका परिभाषाहरू केही थपिए, केही फेरिए । सामान्य अवस्थामा जुन वस्तु सौन्दर्य हो भन्ने लाग्दै आएको थियो विशेष अवस्थामा त्यो वस्तु ज्यादै कुरूप बन्न सक्छ । पेटभरि खानपाएको खुशी त्यो जति सुन्दर अर्को केही हुन सक्छ भन्ने नै लाग्दैनथ्यो । भोकको सौन्दर्य भोजनमा, रोगको सौन्दर्य उपचारमा । सौन्दर्य पनि उमेर र अवस्थाअनुसार हुँदो रहेछन् । जीवनका उकाली ओरालीमा धेरै ठाउँ बिसाइयो, धेरै हिँडियो पनि । राम्रा र रमाइलाका कुरा आए । कहिले के सुन्दर लाग्यो कहिले के सुन्दर लाग्यो ।

हिजो सुन्दर लागेका कति कुरा आज हिजो जत्तिकै सुन्दर लाग्दैनन् । आज तीभन्दा भिन्दै कुरा सुन्दर लाग्छन् । सुन्दरताको विषय र चेतना क्रमशः परिवर्तनीय रहृयो तर कुनै समय पनि बिसाएर टक्क बसेन । सबै समयले केही दिएर गयो, केही सिकाएर गयो, केही लिएर गयो । आजसम्म समय फर्किएको थाहा छैन । ती बितेका समयका खातभित्र कति सौन्दर्य फुले, ओइलाए, कति खुशी हाँसिए कति खुशी दबिए । कतिपय दुःख थपिए कति दबिए । दुःख पनि आजको दिनमा सम्झिँदा मीठा बनेर आउँदा रहेछन् भने खुसी र राम्राका कुरा त झन् कति धेरै मोहक लाग्छन् । सौन्दर्यको परिभाषामा नअटाउने गरी आए कतिपय खुशी । त्यस्तै दुःखले पनि केही न केही सिकाएरै गएको हो ।

आजजीवनको यो मोडमा उभिएर आफैँमा सौन्दर्य खोज्ने यो रहरको प्रारम्भ पनि समयको शिक्षा नै हो । दिनहरू फरक किसिमले आउँदै जाँदै रहे । आज यसो आफैँलाई ऐनामा हेरेँ सौन्दर्य रूपमा खोज्न । आधाभन्दा बढी कपाल फुलिसकेछ । कञ्चटमा फुलेका सेता रौँ देखेँ ती असाध्यै सुहाएको लाग्यो । यही कपाल आजभन्दा दश वर्ष पहिला फुलेको हुन्थ्यो भनेँ सायद मलाई त्यति राम्रो लाग्ने थिएन तर आज राम्रो लाग्यो । त्यही फुलेको कपाललाई अलिकति काँटछाँट पारेर आजको समयको म उभिन मन लाग्यो ।

मोतीविन्दुको अप्रेसन गरेका आँखामा चश्मा लगाएको छु । त्यो पनि ठीकै, राम्रै लागेको छ । अलिकति औषधि खाना खानुभन्दा पहिले केही औषधि खानापछि खानुपर्छ बाँच्नको लागि । तर, पनि दुःख छैन कम्तीमा औषधि खाएर त बाँच्न पाइएको छ ।

आँखाका छेउ अलिकति छाला खुम्चियो तर यत्तिको सम्म त ठिकै छ अहिलेलाई । यसभन्दा बढी नखुम्चियोस् अहिलेलाई त्यति भए पुग्छ भन्ने लाग्यो । आँखाको ज्योति अलि कम भएको छ । चालिसे लागेको भन्दा रहेछन् यसलाई । मोतीविन्दुको अप्रेसन गरेका आँखामा चश्मा लगाएको छु । त्यो पनि ठीकै, राम्रै लागेको छ । अलिकति औषधि खाना खानुभन्दा पहिले केही औषधि खानापछि खानुपर्छ बाँच्नको लागि । तर, पनि दुःख छैन कम्तीमा औषधि खाएर त बाँच्न पाइएको छ । अभ्यास बनेको छ औषधि ।

जीवनमा भेटघाट गर्नैपर्ने इष्टमित्र वा साथीजस्तो बनेको छ दबाई तर मलाई कत्ति पनि गुनासो छैन । यही अभ्यास सुन्दर लागेको छ । केही दिनपहिले आदरणीय गुरु प्राध्यापक दयाराम श्रेष्ठसँग भेट भयो, सञ्चोबिसञ्चो सोधेँ । उमेरले असीको वरपर पुग्नुभएका उहाँको परिवारमा पनि त्यति सन्तोषको अवस्था छैन । गुरुआमा बित्नुभयो गुरुलाई दुःख छ । उहाँले भन्नुभयो केही रोगको उपचार भइरहेको छ । केही रैथाने रोग छन् तिनको औषधि खानैपर्छ । उमेरअनुसार जीवन ठीकै छ भनेर सन्तोषपूर्ण उत्तर दिनुभयो । जुन कुरा जीवनप्रतिको सुन्दर समालोचना थियो ।

आखिर हामीले चाहेको जस्तो जीवन त कहाँ बाँच्न पाएका छौँ र ? भएको जीवनलाई आत्मसात गरेरै तापनि चित्त बुझाएका छौँ र त्यसैलाई सुन्दर मानेका छौँ । प्रिय सञ्चेतना ! यसरी भित्रैदेखि आउँदो रहेछ सौन्दर्यको मोह । उमेरअनुसार सौन्दर्य व्यवस्थापनको चेतना । अनि भित्रैदेखि फेरिँदा रहेछन् चाहना र इच्छा । अनि भित्रैदेखि फेरिँदो रहेछ सौन्दर्यको परिभाषा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?