कालीकोट बम विष्फोट घटनाका पीडितहरूलाई राहत उपलब्ध गराउन सरकारलाई इन्सेकको सुझाव

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरीे कात्तिक–१२ गते भएको बम विष्फोटको घटनाका पीडित मृतकका परिवारलाई राहत र घाइतेहरुलाई उपचार खर्च उपलब्ध गराउन इन्सेकले सरकारलाई सुझाब दिएको छ ।

इन्सेक, मानवअधिकार रक्षक जिल्ला सञ्जाल कालीकोट र पत्रकारहरुको सहभागितामा मंगलबार जिल्ला सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

घटनाका बारेमा कात्तिक २५ र २६ गते घाइतेहरुको अवस्थाका विषयमा इन्सेकले कात्तिक २५ र २६ गते स्थलगत अनुगमन गरी अभिभावकसँग भेटघाट समेत गरेको थियो । संकलन टोलीको प्रतिवेदनमा स्थानीय प्रशासनले घाइते बालबालिकाको उचित उपचार, राहत, उच्च शिक्षा, रोजगारी, तथा क्षतिपुर्तिका लागि तत्काल यथोचित कदम चाल्न तीनै तहका सरकारलाई सुझाव दिएको छ ।

प्रतिवेदनमा घटनामा मृत्यु भएकाको परिवारलाई राहत र घाइतेको उपचारका लागि जिल्ला सुरक्षा समितिले तत्काल कदम चाल्नु पर्ने सुझाव दिएको छ ।

साथै कार्यालयले यस्ता घटना दोहोरिन सक्ने भएकाले प्रहरी प्रशासन, सङ्घसंस्था, नागरिक समाज, स्थानिय सरकारले विष्फोटक पदार्थबाट हुने नोक्सानी, भेटिन सक्ने सम्भावित स्थलहरुमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, घटनाका घाइते बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा उपलब्ध गराउनुपर्ने सुझाव छ ।

नेपाल सरकारले द्वन्द्वकालिन समयमा बढी प्रयोग गरिएका स्थानमा बेवारिसे बमहरू फेला पर्नसक्ने सम्भावना भएकाले देशव्यापीरुपमा खोजी अभियान पुनः सञ्चालन गर्नुपर्ने, बाल अधिकारसम्बन्धी महासन्धि १९८९, नेपालको संविधान , बालबालिकासम्बन्धि राष्ट्रिय नीति, २०६९ ले बालबालिकालाई प्रदान गरेका विशेष अधिकार र संरक्षणको जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्ने समेत प्रतिवेदनले सुझाव दिएको छ ।

माओवादी र सरकारबिच ०५२ फागुन १ गतेबाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्दको अन्त्य भएको १६ वर्ष भइसक्दा समेत समय–समयमा विष्फोटका घटना हुनुलाई द्वन्द्वको अवशेषका रुपमा लिएको छ ।

सो घटनामा परी तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।

घटनामा घाइते चार जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको थियो । घाइते आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा प्रदेश अस्पतालमा उपचार पश्चात मंसिर १३ गते डिस्चार्ज भएका छन् ।

कात्तिक १२ गते बिहान ८ बजेको समयमा बेवारिसे अवस्थामा फालिएको बम केटाकेटीले खेलौना ठानी खेलाउँदा विष्फोट भएको थियो ।

बेवारिसे अवस्थामा राखिएका विष्फोटक पदार्थको प्रभावकारी रुपमा निष्क्रिय नहुँदा यस्ता घटना प्रत्येक वर्ष हुने गरेको इन्सेक कर्णाली प्रदेश कार्यालय संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।

घाइतेको तत्कालीन उपचार खर्च तिलागुफा नगरपालिकाले व्यहोरेको भएपनि मृतकका पररिवारले हालसम्म राहत तथा क्षतिपूर्ति नपाएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी मृतक तथा घाइतेका परिवारको आर्थिक अवस्था कमजोर रहेकाले घाइते बालबालिकाको उपचारमा सरकारी तथा गैरसरकारी निकायबाट नियमित सहयोग गर्नुपर्ने अध्ययन प्रतिवेदनबाट देखिएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख लोकनाथ बास्तोलाले मृतक तथा घाइतेका परिवारको अवस्था कमजोर रहेकाले विभेद नहुने गरी राहत दिलाउनका लागि केन्द्र सरकारसँग पहल गर्नेसमेत प्रतिबद्धता जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?