मानसिक समस्याको निःशुल्क औषधी उपलब्ध गराउने प्रयास गर्ने छु : मन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 6 mins

-मन्जु मैनाली

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले मानसिक समस्याको औषधि तथा उपचार निःशुल्क गराउने प्रयास गर्ने बताउनुभएको छ । मन्त्रालय मार्फत मानसिक समस्या भएका बिरामीका लागि निशुल्क औषधि उपचारको कार्यक्रम ल्याउन पहल गरिने उहाँले बताउनुभयो ।

मंगलबार कोशिश नेपाल मकवानपुरले मनोसामाजिक स्वास्थ्य समस्याका बारेमा गम्भीर हुन माग अनुरोधसहितको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले मानसिक समस्या सानो समस्या नभई यस बारे सबै जनमानस सचेत हुन आवश्यक भएको बताउनुभयो । मानसिक रोग लाग्ने प्रमुख कारण तनाव व्यवस्थापन गर्न नसकेर लाग्ने भएकाले तनावबाट टाढा रहने, सकारात्मक विचार गर्नै, स्वस्थ जीवनशैली अपनाउन आम नागरिकलाई स्वास्थमन्त्री श्रेष्ठले सुझाव दिनुभयो । यदि स्वस्थ रहँदा रहदै पनि यस्ता समस्या देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्यचौकीमा गएर चिकित्सकसंग आवश्यक सल्लाह सुझाव लिई रोग प्रारम्भिक चरणमै भएमा सामान्य परामर्शबाट उपचार हुने उहाँले बताउनुभयो ।

आफूले स्वास्थ्य मन्त्रालय सम्हाल्ने बितिकै पहिलो निणर्यको रुपमा नै यो कामको थालनी गरेको बताउनुहुँदै मन्त्री श्रेष्ठले अबको २ साता भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुलाई उपचारका लागि वेड नै छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “मैले आफैं पनि प्राथमिकतामा राखेको क्षेत्र हो, झन ज्ञापन पत्र दिनुभएपछि मलाई दरिलो आधार पनि बन्यो, अब कार्यान्वयनमा झनै सजिलो भयो” मन्त्री श्रेष्ठले भन्नुभयो । बीमाबाट उपलब्ध औषधीको व्यबस्थापन गरी समस्या भएको व्यक्तिकाे आवश्यकता अनुसार अति आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्ने समेत मन्त्री श्रेष्ठले प्रतिवद्ध जनाउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै कोशिश नेपालले मानसिक स्वास्थ्य सेवामा टेलिमेडिसिन सेवालाई स्थानीय तहका अस्पतालमा जोड्ने कार्यक्रमहरु लागु गर्न माग गरेको छ । प्रदेशअन्तर्गतका निकायहरुमा एक कार्यालय एक मनोविमर्शकर्ताको व्यवस्था गर्न समेत माग गरिएको छ । मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुको उपचार, समस्याको सम्बोधन तथा सुनुवाईमा समस्या भएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । प्रदेश अन्तर्गत रहेका अस्पतालहरु तथा केन्द्रद्धारा सञ्चालित अस्पतालहरुबाट नै भर्ना गरी मानसिक स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउन कोशिश नेपालले माग गरेको छ ।

प्रदेशले मानसिक स्वास्थ्य सम्बन्धी कर्मचारी र स्वास्थ्यकर्मीहरुका लागि (महिला स्वास्थ्य स्वयम सेविका) सम्बन्धी तालिम प्रदान गर्नसमेत माग गरिएको छ । पछिल्लो समय आत्माहत्याको अवस्था बढ्दो रहेको र मानसिक स्वास्थ्य समस्या यसको मुख्य कारण भएकोले रोकथामका लागि सरकारी, गैह्रसरकारी तथा निजि क्षेत्रसंग बहुक्षेत्रीय समन्वय तथा सहकार्यकोसमेत अनुरोध गरिएको छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा कुल जनसंख्याको २ दशमलब २ प्रतिशतमा अपाङ्गता भएका व्यक्तिहरु छन् । कुल अपाङ्गताको ४ दशमलब २८ प्रतिशतमा मनोसामाजिक अपाङ्गता छ । अर्थात संख्यागत रुपमा हेर्दा मनोसामाजिक अपाङ्गताको विवरणमा नेपालमा महिला १३ हजार ७२ जना र पुरुष १४ हजार ९७३ जनामा मनोसामाजिक स्वास्थ्य समस्या छ । बागमती प्रदेशमा मात्रै महिला २ हजार ७९७ पुरुष र २ हजार ८६३ जना छन् ।

मकवानपुर जिल्लामा महिला २३० पुरुष २९४ र हेटौंडा उपमहानगरपालिका महिला ७८ पुरुष १०७ जनामा मनोसामाजिक स्वास्थ्य समस्या छ । तथ्याङ्क अनुसार प्रत्येक ४ मध्ये १ जना व्यक्तिले आफ्नो जीवनकालमा कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने आँकलन गरिएको छ । साथै अपाङ्गता गराउने विभिन्न प्रमुख १० कारणहरु मध्ये ५ वटा मानसिक स्वास्थ्य समस्याबाट हुने गरेको देखाएको छ ।
नेपालको परिपेक्षमा ६० लाख मानिसहरु अर्थात कुल जनसंख्याको २५ देखि ३० प्रतिशत मानिसहरु कुनैन कुनै किसिमको मानसिक स्वास्थ्य समस्यमा रहेका छन् । नेपालमा नसर्ने रोगको भारको १८ प्रतिशत मानसिक रोगले ओगटेको छ । त्यस्तै विश्वव्यापी रुपमा नेपाल वार्षिक आत्महत्याको दरमा सातौ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?