
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन चाँडै पतन हुने दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मुलुकमा चुलिएको निराशा र सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेमा पनि विकल्प खोज्नुपर्ने छलफल चलिरहेको दाबी गर्दै वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दाबी गर्नुभएको हो ।
वर्तमान सत्ता गठबन्धनले मुलकका समस्यामा समाधानभन्दा झन् बढाउने काम गरिरहेको जिकिर गर्दै प्रवक्ता डा.महतले भन्नुभयो, ‘अप्राकृतिक गठबन्धन भएकाले एकले अर्कालाई अविश्वास गरिरहेको अवस्था छ । सत्ताको लोभले मात्र टिकेको अवस्था छ । देशमा निराशा चुलिएको छ । लगानीको वातावरण बन्नुको सट्टा झन् बिग्रिँदै गएको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेमा पनि विकल्प खोज्नुपर्ने छलफल चलेको छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गर्न पुग्नुभएको थियो । गठबन्धनमा भएको परिर्वतनसँगै एमाले सरकारमा सहभागी भएको थियो भने नेपाली कांग्रेस प्रतिपक्ष कित्तामा पुगेको छ ।
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखप्रति क्रुद्ध
नेपाली कांग्रेस गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनिएको छ । मुख्यमन्त्री नियुक्ति र त्यसपछिका प्रक्रियामा प्रदेश प्रमुखहरूले असंवैधानिक कार्य गरेको कांग्रेसको जिकिर छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले असंवैधानिक कार्य गरेको भन्दै पार्टीले राजनीतिक र कानुनी रूपमा विरोध गर्ने बताउनुभयो । प्रदेश प्रमुखहरूले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको महतले आरोप लगाउनुभयो । गण्डकी प्रदेश सभाको अधिवेशन आहृवान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको महतको भनाइ थियो । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८ (२) बमोजिम संविधानसम्मत गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखबाट बदनियतपूर्ण ढंगमा फेरि सरकार आहृवान गर्नु पनि असंवैधानिक कदम भएको टिप्पणी गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘मुख्यमन्त्रीका लागि प्रस्तावित सांसदका विषयमा समर्थन र समर्थन फिर्ताको प्रपञ्च रचियो । यसले संसदीय पद्धति र संघीय व्यवस्थाप्रति निराशा उत्पन्न गरेको छ । प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली कांग्रेसको ठहर छ । प्रदेश प्रमुखहरूबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैयाप्रति नेपाली कांग्रेस घोर आपत्ति प्रकट गर्दछ ।’
नयाँ सरकारप्रति जनतामा कुनै उत्साह नभएको दाबी
प्रवक्ता डा. महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको जिकिर गर्नुभएको छ । जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको उहाँको दाबी छ । सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको जानकारी दिँदै डा.महतले भन्नुभयो, ‘यो सरकारप्रति जनतामा कुनै आशा छैन, न उत्साह नै छ । यसको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरूले यो सरकारको विकल्पबारे छलफल थालिसकेका छन् ।’ प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगीसम्बन्धी आरोपमा गृह मन्त्रालयभन्दा फरक संयन्त्रबाट अनुसन्धान भए मात्रै विश्वास गर्न सकिने स्पष्ट पार्दै भन्नुभयो, ‘प्रहरीले अनुसन्धान गरेको छ, तर रवि लामिछाने दोषी देखिए पनि नचिनेको कुरा आएको छ । गृहमन्त्रीलाई प्रहरीले चिन्ने कुरै भएन, हामीले त्यही कारण यथार्थ के हो ? त्यसबारे फरक संरचनाबाट अनुसन्धान गरौँ भनेका हौँ ।’
परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार छौँ : पोखरेल
सत्तारूढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार रहेको बताउनुभएको छ । परिवर्तनलाई संस्थागत गर्नका लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्दै महासचिव पोखरेलले भन्नुभयो, ‘गणतन्त्र र लोकतन्त्रलाई सुदृढ र यसको संस्थागत विकासको लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार छाँै । तर, सत्ताको लागि लालायित छैनौँ । सत्ता प्राथमिकता हाम्रो विषय होइन । मुलुकलाई सही बाटो हिँडाउने प्राथमिकता दिएर हामी अगाडि बढेका छौँ । नयाँ सत्ता समीकरणमा महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर दाबी गरेनौँ । आलोपालोमा पनि दाबी रहेन । राम्रो काम गर्दा सरकारलाई निरन्तरता दिन तयार छौँ ।’ लोकतन्त्रमा संकट आउँदा कांग्रेससँग जहिले पनि मिल्दै आएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘लोकतन्त्रमाथि संकट आएमा त्यतिबेला कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छौँ । विगतमा पनि मिल्दै आएको स्पष्ट नै छ ।’
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : खनाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने दाबी गर्नुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने जिकिर गर्नुभयो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भएको र छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने उल्लेख गर्दै नेता खनालले भन्नुभयो, ‘वामपन्थीहरूको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिष्टबीच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच