
काठमाडौं । सन् २०२४ अर्थात् विश्व निर्वाचन वर्ष । अमेरिका, भारतलगायत झण्डै ७० देशले यो वर्ष निर्वाचन गर्दै छन् । विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र मानिएको छिमेकी मुलुक भारतमा शुक्रबार (अप्रिल १९) बाट लोकसभा चुनाव सुरु भएको छ । डेढ महिना लामो समय चल्ने चुनावको मतगणना जुन ४ मा थालिने छ ।
५४३ सिटको भारतको तल्लो सभा लोकसभाको सदस्य चुन्न देशभर सात चरणमा चुनाव सम्पन्न हुँदै छ । यसका लागि ५५ लाख भोटिङ मेसिनको प्रयोग हुँदै छ । भारतका झण्डै एक अर्ब जनसंख्याले मतदान गर्ने यस चुनावलाई विश्वले नजिकबाट नियालिरहेको छ । वर्तमान परिवेशमा उच्च आर्थिक विकाससहित विश्वको पाँचौँ अर्थतन्त्रको स्थान सुरक्षित गरेको भारतमा जारी चुनावले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति तथा अर्थतन्त्रमा महत्वपूर्ण अर्थ राख्ने भएकाले पनि त्यहाँको चुनावलाई उदार, अनुदार, विकसित, अल्पविकसित सबै किसिमका राष्ट्रले चासो दिएका छन् ।
चुनावको केन्द्रविन्दुमा छन् प्रधानमन्त्री नरेन्द्र मोदी । सन् २०१४ मा पहिलोपटक र सन् २०१९ मा दोस्रोपटक निर्वाचित मोदी तेस्रो कार्यकालका लागि डटेर लागेका छन् । उनले आफ्नो जितको सुनिश्चितताका साथ चुनावी अभियानलाई प्रभावकारी बनाएका छन् । आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो पार्टीका एजेण्डा, कार्यक्रम र योजना प्रस्तुत गर्न उनी माहिर छन् । मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) खडा छ । जवाहरलाल नेहरुको जस्तै लगातार तेस्रो पटकको प्रधानमन्त्री कार्यकालको लक्ष्यसहित अघि बढेका मोदीका अगाडि विपक्षी दल भारतीय कांग्रेस र उसको चुनावी गठबन्धन (आइएनडिआइए) निकै कमजोर देखिन्छ ।
प्रधानमन्त्री मोदीका गतिविधि अन्य दलका लागि ठूलो चुनौतीका रूपमा खडा भएका छन् । आफ्नो तेस्रो कार्यकालमा भारतलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रूपमा विकास गर्ने महत्वाकांक्षी लक्ष्य मोदीको छ । उनले यो घोषणा विश्वको प्रथम अर्थतन्त्र अमेरिका र विश्वका अन्य मञ्चहरूमा सुनाइसकेका छन् र सोहीअनुरूप गतिविधि बढाउँदै छन् । भारतले सन् २०४७ सम्ममा आफूलाई मध्यम आय भएको देशबाट विकसित देशमा रूपान्तर गर्ने योजना राखेको छ । मोदीको पालामा सम्भव भएको ‘चन्द्रायन’ले स्पेस टेक्नोलोजीमा भारतको उपस्थितिबाट विश्व चकित भएको थियो ।
त्यसैगरी, कोभिड संकट र रसिया-युक्रेन युद्धको परिणामस्वरूप विश्वको अर्थतन्त्र तहसनहस हुँदा पनि भारतको आर्थिक वृद्धिदर कायम राखी अर्थतन्त्र सन्तुलित राख्न सफल मोदी सरकारले प्रशंसा बटुलेकै छ । अमेरिकाबाट प्रकाशन हुने म्यागजिन ‘फरेन पोलिसी’ले त हालको अंक मोदीमय बनाएको छ ।
हिन्दूवादी संस्था राष्ट्रिय स्ययंसेवक संघको दरिलो पृष्ठभूमिका साथ देशको पुरानो दल भारतीय कांग्रेसको विरुद्धमा स्थापना भएको भाजपाले मोदीकै नेतृत्वमा आएर मात्रै बहुमतको सरकार बनाउन सफल भएको थियो । मोदीको बढ्दो लहरले लामो समय सत्तामा बसेको कंग्रेसले सन् २०१४ मा नराम्रो पराजय बेहो¥यो जुन सन् २०१९ को चुनावमा दोहोरियो । अर्कोतिर भाजपाको चुनावी ग्राफ बढ्दै गयो, मोदीले प्रभाव पार्दै गए । सन् २०१४ र २०१९ को लोकसभा चुनावमा उल्लेख्य जित हासिल गरेको उनको दल भाजपा अहिले पनि आरामले बहुमत प्राप्त गर्ने र तेस्रो कार्यकाल सुनिश्चित र सफल बनाउने ध्याउन्नमा छ । यस लोकसभा चुनावमा एक करोड ८० लाख भारतीयले पहिलोपटक मतदान गर्दै छन् ।
मोदीले अवलम्बन गरेको राष्ट्रवादी, हिन्दूवादी तथा संरक्षणवादी सिद्धान्त र व्यवहारलाई भारतको ठूलो हिस्साको समर्थन देखिए पनि यसप्रति एकथरीको आलोचनात्मक धारणा छ । उनीमाथि कानुन हातमा लिएर आफ्ना राजनीतिक प्रतिरोधीहरूलाई दुःख दिएको, भ्रष्टाचारको मुद्दा लगाई कमजोर बनाएकोे, सन् २०१४ मा सत्तामा आएदेखि नै स्वतन्त्र नागरिक आवाज, प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको, मुस्लिमलगायत धार्मिक अल्पसंख्यकमाथि ज्यादती गरेको, धार्मिक कट्टरता सहितको हिन्दू अतिवाद बढाएको जस्ता आरोप लाग्ने गरेका छन् । राहुल गान्धीमाथि संसदीय कारबाही, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भ्रष्टाचार मुद्दा र हिरासत यसका उदाहरण हुन् ।
भारतीय मिडियाका अनुसार, कार्यान्वयन निर्देशनालयले मुख्यमन्त्री केजरीवाललाई लिक्वर (रक्सी) नीति घोटालाको विषयलाई लिएर संघीय राजधानी दिल्लीबाट गत मार्च २१ तारिखमा पक्राउ गरी हिरासतमा राख्यो । मुख्यमन्त्री केजरीवालले सो नीति तर्जुमामा मुख्य भूमिका खेलेको र घुस लिएर लिक्वर (रक्सी) व्यवसायका लागि लाइसेन्स दिएको छानविन निकायको भनाइ छ । केजरीवालले आफ्नो पक्राउविरुद्ध अदालतमा निवेदन दिए पनि सुनुवाइका लागि अझै केही दिन लाग्नेछ । केजरीवाल कंग्रेस र भाजपाको गतिविधिविरुद्ध सुशासन अभियान चलाएर स्थापना भएको नयाँ दल हो । अन्ना हजारेको अभियानमा सम्मिलित भई छोटो समयमै भ्रष्टाचारविरोधी कार्यक्रमलाई संगठित गरी चर्चा बटुलेका र नयाँ दिल्लीको मुख्यमन्त्री केजरीवालको पक्राउ र हिरासतलाई आफ्ना विरोधीलाई सक्ने मोदीको प्रपञ्चका रुपमा पनि लिइएको छ । मोदी फेरि पनि प्रधानमन्त्री चुनिए भारतको प्रजातन्त्र मासिने कंग्रेस नेता राहुल गान्धीको जिकिर छ ।
यसैबीच अलजजिरा लेख्छ, ‘भारत विश्वमै द्रुत गतिमा अघि बढेको एक ठूलो अर्थतन्त्र भए पनि आफ्ना जनताका लागि प्रशस्त रोजगार सिर्जना गर्न अझै सफल भएको छैन । अन्तर्राष्ट्रिय श्रम संगठन र मानव विकास संस्थाका अनुसार भारतका धेरै युवा बेरोजगार छन् ।’
शुक्रबार सुरु भएको प्रथम चरणको चुनावमा भारतका तमिलनाडू, उत्तराखण्ड, अरुणाचल प्रदेश, मेघालय लगायतका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा मतदान भएको छ । जुन १ मा समापन हुने चुनावको मतगणना जुन ४ मा सुरु हुनेछ ।
प्रथम चरणको मतदानपश्चात् प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एप्समा लेखेका छन्, ‘पहिलो चरण धेरै राम्रो रहृयो । आज मतदानमा सहभागी सबैलाई धन्यवाद । आजको मतदानको अत्यन्त राम्रो प्रतिक्रिया आइरहेको छ । यो स्पष्ट छ कि भारतभर एन्डिएले अत्यधिक मत पाइरहेको छ ।’
मोदीले कस्मीरको विशेष स्थानलाई वैधानिक रूपमा समाप्त पार्न धारा ३७० हटाएका थिए, पाँच सय वर्ष देखिको विवादमा रहेको अयोध्या राममन्दिर निर्माण गराई प्राणप्रतिष्ठासमेत गराएका थिए । उनले महिला, अल्पसंख्यक, पिछडा वर्गका लागि विशेष सहुलियतका कार्यक्रम सञ्चालन गरेका छन् । भ्रष्टाचारविरुद्ध मोदीको सरकारको नारा भारतमा चलेको सुनिन्छ । यो नारा कति सफल हुनेछ फरक विषय हो । मतदान भर्खर सुरु भएको हुनाले करिब डेढ महिनापछि मात्रै यसको निक्र्योल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच