काठमाडौं । विभिन्न वहानामा भारतले नेपाली वस्तु निर्यातमा पटक-पटक अवरोध गर्दै आएकोमा फेरि नेपाली चिया रोकेको छ । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको हो । भारतले विगतमा नेपाली अदुवा पनि बिनाकारण रोक्ने गरेकोे थियो ।
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटंकी नाका पुगेका १७ ट्रक तयारी चिया भारतीय भन्सार अधिकारीले रोकिदिएका हुन् । चिया निर्यात अनुमति नपाएर रोकिएका ती ट्रकहरू पानीटंकीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी रोशन अग्रवालले बताउनुभएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले पनि भारतीय भन्सारमा नेपाली चिया रोकिएको पुष्टि गर्नुभएको छ । तथापि उक्त अवरोध खुलाउन पनि स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ । भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारीपछि पानीटंकीस्थित भन्सार कार्यालयका समकक्षीसँग भेटेर समस्या समाधानका लागि आग्रह गरिएको उहाँले बताउनुभएको छ ।
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चिया निर्यात रोकेको हो । भारतले विगतमा नेपाली अदुवा पनि बिनाकारण पटक-पटक रोक्दै आएकोे थियो ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चिया निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको बखेडा झिकेको भन्दै तत्काल समाधान नखोजिए नेपाली चिया उद्योग संकटमा फस्ने बताउनुभएको छ । चिया व्यवसायीका अनुसार पानीटंकीस्थित भारतीयस्थल भन्सारले हरेक ट्रकमा नेपाली चियाको अलग-अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यात रोकेको हो ।
यसअघि एउटा कम्पनीले एउटा नमुनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउने गरेकोमा अहिले भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमुनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने जनाएको छ । भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिँदैन भने पानीटंकी भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने भए पनि नेपाली व्यवसायीका लागि सहज नभएको बताइएको छ ।
भारतीय भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया लोड भएर गएका ट्रक खुला सडकमा अलपत्र परेका छन् । अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राती चोरी हुन सक्ने जोखिम छ । अलपत्र ट्रकमध्ये नेपाल चिया विकास निगमका छवटा ट्रक र अन्य हिमालयन रेञ्जलगायत चिया उद्योगका रहेको बताइएको छ । सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएका छन् । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ भने निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका हुँदै भारत जाने गरेको छ ।
नेपाली चिया गुणस्तरीय हुँदाहुँदै पनि बजारीकरण हुन नसक्दा विश्व बजारमा अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन । तथापि पछिल्लो समय स्वदेशमै पनि नेपाली चियाको खपत समेत बढ्दै गएको छ । राष्ट्रिय चिया तथा कफी बोर्डका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा तीन अर्ब ७९ करोड ७१ लाख बराबरको ११ हजार नौ सय २० मेट्रिकटन चिया निर्यात भएकोमा २०७८/०७९ मा तीन अर्ब ४३ करोड ४३ लाख बराबरको १२ हजार चार सय ९४ मेट्रिकटन चिया निर्यात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार आठ सय २५ मेट्रिकटन रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा बढेर १३ हजार आठ सय ८५ मेट्रिकटन पुगेको छ । जसले गर्दा अघिल्ला वर्षमा भन्दा चियाको आयात पनि ४० प्रतिशतभन्दा बढीले घटेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच