विधा जुनसुकै होस् अभिव्यक्ति चमत्कारपूर्ण हुनुपर्छ : शीतल कादम्बिनी

Read Time = 11 mins

शीतल कादम्बिनी प्रसिद्ध गजलकारका साथै प्रसिद्ध गीतकार पनि हुनुहुन्छ । उहाँको २०६२ मा ‘सुगन्ध यात्रा’ गजलसंग्रह प्रकाशित छ भने ‘कादम्बिनी’, ‘शीतल’ र ‘निर्झरी’ उहाँका प्रसिद्ध एल्बम हुन् । ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’, ‘धेरैचोटि मरेँ म त, धेरैचोटि बाँचेँ’, ‘झुमा झुम्कावाली’ जस्ता दर्जनौं लोकप्रिय गीतकी सर्जक कादम्बिनीको पहिलो आख्यान कृति ‘सिन्का पाउँरू’ पाठकमाझ आएको छ । नेपाली गजल लेखन र गीत लेखनमा छुट्टै पहिचान बनाउनुभएकी शीतल विधा जुनसुकै होस् अभिव्यक्ति चमत्कारपूर्ण हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । ‘गीत गजल मेरा प्रिय विधा हुन् । तर, लेख्नुपर्ने कुराहरू मसँग धेरै थिए, जो गीत गजलमा मात्र अटाउन सकेनन्, त्यसैले उपन्यास लेखेँ,’ भन्नुहुने शीतल कादम्बिनीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

हालै नयाँ उपन्यास ‘सिन्का पाउँरू’ पाठकमाझ लिएर आउनुभएको छ , कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
सम्पूर्ण पाठकहरूको हातमा पुग्नै भ्याएको छैन । जति जनाले पढ्नुभएको छ उहाँहरूबाट अत्यन्तै मिठो, सुन्दर र सकारात्मक प्रतिक्रिया पाइरहेकी छु ।

यो कस्तो उपन्यास हो ?
यो उपन्यासले सिंगो मानव जगत् र जीवनलाई नै सम्बोधन गरेको छ । नारीहरूले पढ्दा नारीवादी जस्तो, पुरुषहरूले पढ्दा आफ्नै छवि देख्नेछन्, यो गुरुङ संस्कृतिमा लेखिएको हो तर योभित्र सिंगो नेपाली समाज छ ।

कसरी जन्मियो सिन्का पाउँरू ?
म गुरुङकी छोरी भएको नाताले मैले आफ्नो संस्कृत्तिलाई चिनाउने खालको, यसको उत्थान र श्रीवृद्धिका लागि केही काम गर्छु भन्ने लागिरहेकै थियो । मेरा गीत गजल सुनेर, साहित्यिक कार्यक्रमहरूमा मेरो वाचन सुनेर मेरा अग्रज साहित्यकारहरूले ‘नानी तिम्रो लेखनशैली विशिष्ट छ । तिमी गीत गजल जस्ता फुटकर विधामा मात्र सीमित रहनुहुन्न । कथा, निबन्ध, उपन्यास जस्ता विधामा पनि कलम चलाउनुपर्छ’ भन्नुहुन्थ्यो । तर, मैले उल्टो बुझ्थेँ र सोच्थेँ ठूला साहित्यकारहरूले गीत गजललाई हेलाँ गरेका हुन् । पछि गएर बल्ल मेरो चेत पस्यो अग्रजहरूले गीत गजललाई हेलाँ गर्नुभएको हैन रहेछ, मलाई माया गर्नुभएको पो रहेछ । त्यसपछि यो उपन्यास जन्म्यो ।

‘सिन्का पाउँरू’ले सिंगो मानव जगत् र जीवनलाई नै सम्बोधन गरेको छ । नारीहरूले पढ्दा नारीवादी जस्तो पुरुषहरूले पढ्दा आफ्नै छवि देख्नेछन्, यो गुरुङ संस्कृतिमा लेखिएको हो तर योभित्र सिंगो नेपाली समाज छ ।

गीत गजल लेखनमा एक खालको उचाइ चुम्न सफल हुनुभएकी यहाँ उपन्यासतर्फ कसरी आकर्षित हुनुभयो ?
गीत गजल मेरा प्रिय विधा हुन् । तर, लेख्नुपर्ने कुराहरू मसँग धेरै थिए, जो गीत गजलमा मात्र अटाउन सकेनन् । त्यसैले उपन्यास लेखेँ । नढाँटी भन्दा सुविन भट्टराई, नयनराज पाण्डे, अमर न्यौपाने, राजन मुकारुङ, बुद्धिसागरलाई पढेर, उहाँहरूको लेखनको पर्वतीय उचाइलाई हेरेर पनि म लोभिएकी हुँ ।

यो उपन्यासको अलिकति रचना गर्भ ?
२०७२ सालको भुइँचालोपछि म चितवन गएर तीन महिना बसेँ । गोर्खा, लमजुङ, पोखरा, चितवन डुलेँ । गुरुङ संस्कृतिका लागि म गुरुङकी छोरी हुनाले धेरै मिहिनेत परेन । तर, मैले नजानेका केही कुराहरू मेरा आदरणीय दाजु खेमजुङ गुरुङसँग सुनेँ, बुझेँ र जानकारी प्राप्त गरेँ । त्यसपछि गह्रौं जिउ लिएरै अर्थात् गर्भिणी भएर काठमाडाँै फर्किएँ । अनि जन्म भयो ‘सिन्का पाउँरू’को ।

पुस्तक लेख्न कति समय लाग्यो ?
म असाध्यै अल्छी छु । सरासर लेखेको भए पहिल्यै निस्किसक्थ्यो । विस्तारै विश्राम लिँदै गरेकाले लगभग ६ वर्ष नै लाग्यो ।

पुस्तक लेख्ने बेला लक्षित पाठक को-को हुन् भन्ने सोच्नुभएको थियो ?
त्यस्तो हिसाबकिताबको मामिलामा म एकदम कमजोर छु । केवल देखेको, भोगेको, सुनेको र जानेको कुरा मात्र कहेको हुँ मैले त । तर, धेरैभन्दा धेरैले पढिदिएहुन्थ्यो भन्ने चाहिँ लाग्दो रैछ ।

पुस्तक कुन उमेर समूहका लागि हो जस्तो लाग्छ ?
सबै उमेर समूहका लागि हो यो उपन्यास । बालक, वृद्धदेखि वैंशले उन्मत्त सबैले आफूलाई भेट्टाउनेछन् ।

पाठकलाई के भन्न चाहनुहुन्छ ?
मैले आफ्नो कृति तपाईंहरूको हातमा सुम्पेकी छु । यो मेरो पहिलो प्रयास हो । पुस्तक पढ्ने बेला ठूलो अपेक्षा नराख्नुहोला । जसरी तपाईंकी आमाले तपाईंसँग कुरा गर्नुहुन्छ त्यस्तै सामान्य तर प्रेमपूर्ण छ । मेरा कोरा भावलाई मथेर निचोड निकालिदिनुहोला । मेरा गीत गजलबाट जति स्नेह पाएँ यो उपन्यासलाई पनि उत्तिकै माया गर्नुहुनेछ भन्ने आशा राखेकी छु । र, मेरा दुर्बल पक्षहरूलाई औंल्याइदिनुहोला ।

यहाँका कति जति गीत गजलहरू रेकर्ड भएका छन् ?
गीत गजलहरू धेरै रेकर्ड भएका छन् । तर, मान्छेले जस्तै सिर्जनाहरूले पनि आ-आफ्नो भाग्य लिएर आउँछन् । थोरै बाचे, धेरै शहीद भए ।

यहाँलाई साहित्य सिर्जनाका लागि केले प्रभावित गर्छ ?
मैले बाचेको परिवेश, मैले भोगेको जीवन, मेरै गुन बैगुन, मेरो आँसु र मुस्कान, मेरा खुसीहरू, दुःख पीडाहरू, अभावहरू, असल र खराब मानिसहरूसँगको उठबस सबै, सबैबाट मैले लेख्ने प्रेरणा प्राप्त गर्छु ।

कहिलेदेखि लेखन कार्य सुरु भयो ?
६/७ कक्षा पढ्दैदेखि सुरु गरेको हुँ लेख्न । धेरै वर्ष छुट्यो पछि फेरि निरन्तरता दिएँ ।

लेखनमा यहाँको प्राथमिकतामा के पर्छ ?
मलाई साहित्यका सबै विधा उत्तिकै मन पर्छ । लेख्न मज्जा चाहिँ गीत गजल र कविता हो । सुन्न र पढ्न सबै विधा मन पराउँछु । विधा जुनसुकै होस् अभिव्यक्ति चमत्कारपूर्ण हुनुपर्छ । म सोही कोसिसमा छु ।

शीतल कादम्बिनी को हो ?
शीतल कादम्बिनी भनेको आफ्नो गोहो आफैं निर्माण गरेर हिँडिरहने एउटा यात्री हो । ऊसँग संसारलाई दिन प्रेमबाहेक अर्को चिज केही छैन । उसको कलमले घृणा, गाली, कुण्ठा, गुनासा, आक्रोश लेख्न रुचाउँदैन ।

जीवन के हो ?
जीवन अमूल्य उपहार हो । कसैले चिन्छन्, कसैले चिन्दैनन् । जीवन पीडामा पनि प्यारो लाग्छ मलाई त ।

गीत, गजल र कविता के हो ?
गीत, गजल र कविता हृदयको सुमधुर संगीत हो । सरस, सुन्दर, सरल अनि उक्तिवैचित्र्यपूर्ण अभिव्यक्ति नै गीत गजल र कवितामा रूपान्तरित हुन्छन् । र, यी तीनै विधा साहित्यका सर्वोत्कृष्ट काव्य विधा हुन् ।

तपाईं कसका लागि लेख्नुहुन्छ ?
म आफैंलाई पोख्दै बटुल्दै गरिरहेकी हुन्छु । लेख्नु भनेको आफैंलाई पोख्नु हो । बटुल्नु भनेको आफूले लेखेका सिर्जनाहरू आफैंले केलाउनु पर्गेल्नु हो त्यहाँ आफू छ कि छैन हेर्छु । लेखिसकेपछि म एकदम फूलझैं हुन्छु हलुंगो । राम्रो लेख्दा यति खुसी हुन्छु कि के भनम ? सब थोक बिर्सिदिन्छु । एउटा सिर्जना जन्मेपछि म रुन्छु, रमाउँछु । तसर्थ, म मेरै लागि लेख्छु, पछि सबैको भइदिन्छ ।

सिन्का पाउँरुसित जोडिएको कुनै रोचक प्रसंग ?
यो आधुनिकताको चरम युगमा मैले मेरो उपन्यास हातले नै लेखेकी हुँ । टाइप सिकेको पनि छैन, ल्यापटप किनेको पनि छैन । चिनेका जतिलाई तपाईंको ल्यापटपमा टाइप गरिदिनुहोस् न भन्दै हिँडेकी थिएँ म ।

अन्त्यमा सिन्का पाउँरू उपन्यासले दिन खोजेको वास्तविक सन्देश के हो ?
सम्पूर्ण जिम्मा पाठकलाई दिएँ । मेरो भन्नु केही छैन । जसले जुन अर्थ लगाए पनि हुन्छ । यो उपन्यासभित्र धेरै कुराहरू छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?