
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष भएको छ । पार्टी स्थापना भएको ७५ वर्ष अर्थात् नेपाली कम्युनिष्टले ७५औँ स्थापना दिवस मनाउँदै छन् । देशमा जहानियाँ राणा शासनको जगजगी चलिरहेकै समयमा २००६ साल वैशाख १० गते नेपालमा नेकपाको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्व (महासचिव)मा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । भारतको कोलकातास्थित एक घरमा पुष्पलालको नेतृत्वमा नीरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेको नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । तर, पार्टी स्थापना भएको भदौ ३० गने मात्रै सार्वजनिक गरिएको थियो । त्यसैले नेकपा स्थापनाको दिनलाई लिएर नेताहरूबीच मतभेद देखिन्छ । एकथरीले पार्टीको पहिलो पर्चा प्रकाशित भएको मिति वैशाख १० गतेलाई स्थापनाको दिन मान्छन् भने अर्काथरीले नेकपा सार्वजनिक भएको दिन भदौ ३० गतेलाई मान्छन् । नेकपाको पहिलो घोषणापत्र पुष्पलालले भदौ ३० गते नै सार्वजनिक गरिएको थियो ।
अहिलेसम्मको नेपालको कम्युनिष्ट आन्दोलनको वर्ग संघर्ष कम र फुट–विभाजन बढी भएको इतिहास बनेको छ । वि. सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी अहिलेसम्म आइपुग्दा जुटेको भन्दा फुटेको इतिहास धेरै छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना कालदेखि नै विवाद र विग्रहको भुमरीमा छ । कम्युनिष्टहरू पहिलोपटक २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुटेका थिए । दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बन्नुभयो । उहाँ सुरुदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्ने मत राख्नुहुन्थ्यो । उहाँकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलोपटक विभाजन भयो र कम्युनिष्ट आन्दोलनको एउटा धारा पहिलोपटक दरबार छिर्यो । स्थापनाको ७५ वर्षमा नेपाली कम्युनिष्ट पार्टी पटक-पटक विभाजनको शिकार भएका छन् । त्यसपछि केही अघिल्लो महिनासम्म यो क्रम जारी रह्यो । पछिल्लोपटक डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भएको थियो ।
अहिले नेपालमा सत्तामा, सत्ताबाहिर र व्यवस्था नै नमान्नेलगायत दर्जनौँ कम्युनिष्ट पार्टी सक्रिय छन् । अहिले संसद्मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै अस्तित्वमा छन् ।
संसद्बाहिर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, गोपाल किराती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लगायत दजैनौँ कम्युनिष्ट घटकहरू अस्तित्वमा छन् ।
माओवादी चिराचिरा, एमाले विभाजनको शिकार
कम्युनिष्ट पार्टी र यिनका सानासाना समूहहरू पटक-पटक विभाजन भएका छन् । यसमा हाल सत्तामा रहेको माओवादी केन्द्र चिराचिरामा विभाजित छ । एमालेको अवस्था पनि धेरै फरक छैन । एमालेले पनि पटक-पटक विभाजनको शिकार भएको छ । २०४७ पुस २२ मा मदन भण्डारी नेतृत्वको नेकपा (माले) र मनमोहन नेतृत्वको नेकपा (माक्र्ससवादी) मिलेर नेकपा (एमाले) गठन भएको थियो । एमालेले २०५४ सालमा पहिलो विभाजन बेहोर्यो । महाकाली सन्धि राष्ट्रघाती भएको भन्दै २०५४ सालमा सहाना प्रधान, वामदेव गौतमलगायत झण्डै ५० प्रतिशत नेता तथा कार्यकर्ताहरू एमालेबाट बाहिरिएका थिए । २०५६ को निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमा एक सिट पनि जित्न नसकेपछि २०५८ पुनः एमालेमा नै फर्किए । सिपी मैनालीले भने एमाले नफर्किई माले पुनर्गठन गर्नुभयो । माले पनि पटक-पटक विभाजनको शिकार बन्यो । २०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले दुई दुईपटक संसद् विघटन गरेपछि एमालेभित्र ओली र माधव नेपाल-झलनाथ खनाल समूहबीच अन्तर्विरोध चर्कियो । अन्ततः २०७८ भदौ २ गते एमाले फेरि विभाजन भयो । माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादी अहिले सरकारमा छ ।
धेरैपटक विभाजनको शिकार हुने पार्टी माओवादी हो । २०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र विद्रोहमा गयो । १० वर्ष सशस्त्र विद्रोहपछि २०६२ मंसिरमा भएको १२ बुँदे सहमतिपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । २०६५ साल पुसमा नारायणकाजी नेतृत्वको एकता केन्द्र माओवादीसँग एकता गरी नेकपा एकीकृत समाजवादी गठन भयो । शान्तिपूर्ण राजनीति कार्यदिशा अँगाल्ने कि विद्रोहको कार्यदिशा अँगाल्ने भन्ने विषयमा प्रचण्ड, वैद्य र बाबुरामबीच भएको विवादले माओवादी विभाजित भयो । २०६९ असारमा वैद्यसहित रामबहादुर थापा, देव गुरुङ, नेक्रविक्रम चन्द विप्लवलगायत नेताहरू बाहिरिनुभयो । २०७२ सालमा नयाँ संविधान जारी भएपछि असोज ९ गते बाबुराम भट्टराईले पनि माओवादी परित्याग गर्नुभयो । यता, पार्टी विभाजन भएको दुई वर्ष नपुग्दै वैद्यको पार्टीबाट विप्लव समूह अलग भए । विभाजनपछि एकीकृत जनक्रान्तिमा होमिएको विप्लव समूह २०७६ फागुनमा शान्तिपूर्ण राजनीतिमा आयो । उक्त समूहबाट धर्मेन्द्र बास्तोला नेतृत्वको अर्को समूह अलग भयो । बास्तोला समूह वैद्य समूहमा गाभिएर क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेको छ ।
७५ वर्षमा कम्युनिष्टका ६ प्रधानमन्त्री
स्थापनाको ७५ वर्षमा नेपालमा कम्युनिष्टका ६ जना प्रधानमन्त्री भए । तर, यसमध्ये कुनै पनि प्रधानमन्त्री एकल बहुमतमा भएनन् । विसं २०५१ सालमा एमाले अध्यक्ष मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री हुनुभयो र २०६४ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्टहरूकै मिलिजुली सरकारको प्रधानमन्त्री हुनुभयो । त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र केपी शर्मा ओली अन्य दलको समेत सहकार्यमा गठबन्धनका प्रधानमन्त्री हुनुभयो । हाल पनि कम्युनिष्ट प्रधानमन्त्री प्रचण्ड कायम हुनुहुन्छ । निरंकुशताविरुद्ध लोकतन्त्र, अशिक्षाविरुद्ध जीवनोपयोगी शिक्षा, सबै खाले विभेदविरुद्ध समानताको पक्षपोषण गर्दै वर्गीय मुक्तिको समाजवादी लक्ष्य तय गरेर नेकपा स्थापना भएको थियो । आज पनि नेपालमा कम्युनिष्टको जनमत धेरै छ । तर, लगातार टुटफुट र विभाजन हुँदै आजको दिनसम्म आउँदा सत्ताकेन्द्रित राजनीतिले कम्युनिष्ट प्रतिको भरोसा टुट्दै गएको छ ।
हीरक महोत्सवमा देउवादेखि महन्थ सम्मलाई निम्तो
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारूढ नेकपा (एमाले)ले हीरक महोत्सव आयोजना गर्दै छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना आज (सोमबार) गर्न लागिएको हीरक महोत्वसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको छ । हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व-प्रधानमन्त्रीहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई निम्तो दिइएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई पनि निम्तो दिइएको छ । समारोहमा एमालेले पार्टीको तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोह अवरोह समावेश गरिएको भिडियो डकुमेन्ट्री प्रस्तुत गर्दै छ । महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भ सहितको पार्टीको भावी कार्यक्रमबारे आफ्नो दृष्टिकोणहरू राख्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदक प्रदान गरिने
एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्वपार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पूर्व– राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मानित गर्ने निर्णय गरेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिनुभयो । मुलुकको लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन पु¥याएको योगदान र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागिएको उहाँले बताउनुभयो । ‘मुलुकको लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका व्यक्तिलाई सम्मान हाम्रो घोषित योजना थियो,’ उहाँले भन्नुभयो, ‘त्यही योजनाको आधारमा हामीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट पार्टीका पूर्वउपाध्यक्ष र दुई दुईपटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महŒवपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव पारित भएको छ ।’
सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह
एमालेले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न सत्तारूढ दलहरूलाई आग्रह गरेको छ । ललितपुरको गोदावरीमा आइतबार सम्पन्न महाधिवेशन केन्द्रीय परिषद्को बैठकले समसामयिक प्रस्ताव पारित गर्दै मुलुकलाई थप अस्थिरता र अन्योलतातर्फ धकेल्ने कामप्रति सजग रहन सत्तारूढ दलहरूलाई एमालेले आग्रह गरेको हो । राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरूलाई आहृवान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । एमालेले आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बीचमा नयाँ सत्ता समीकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । त्यसैगरी पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजको मुख्य समस्याहरूलाई समाधान गर्नेगरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले बताउनुभयो । विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ । बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आहृवान गरेको छ ।
सहकारी अपचलनका अपराधीलाई कारबाही गर्न माग
एमालेले सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्नेलाई छानविन गरी कानुनी कारबाही गर्न माग गरेको छ । जनता सडकमा पुग्ने अवस्था आएको जनाएको हो । सहकारीमा पैदा भएका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानविन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन एमालेले सरकारसँग माग गरेको छ । ‘देशका केही सहकारीमा बेथिति र गम्भीर समस्या देखापरेका छन् । जनताले दुःख गरेर जम्मा गरेको अर्बाैं रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ता सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको छ । लघुवित्तका ऋणी पनि समस्यामा परेका छन् । मिटरब्याज पीडितका समस्या पनि पूर्णरूपमा समाधान भएका छैनन्,’ बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यो बैठक केही सहकारीमा पैदा भएका यस्ता प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानविन गरी दोषीलाई कानुनको कठघरमा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ ।’ समसामयिक प्रस्ताव प्रस्तुत गर्दै उपमहासचिव विष्णु रिमालले मिटरब्याजपीडित र लघुवित्तका ऋणीका समस्या समाधानमा गम्भीर हुन सरकारसँग माग गरेको बताउनुभयो ।
१५ बुँदे समसामयिक प्रस्ताव
बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । बैठकको अन्तिम दिन उपमहासचिव विष्णु रिमालले पार्टी सचिवालयले तयार पारेको १५ बुँदे समसामयिक प्रस्ताव वाचन गर्नुभएको थियो । प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो । बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनसहित ६ वटा प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमा आइतबार समूहगत छलफल गरेर सुझावहरू पेस भएका थिए ।
बैठकको समापन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दसौँ महाधिवेशन यता पार्टीले गरेका काम कारबाही र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे वस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको बताउनुभयो । उहाँले परिषद् बैठकले गरेका निर्णयहरू पार्टीका लागि मार्गदर्शक बन्नसक्ने भन्दै यो बीचमा एमालेले थालनी गरेका कामहरूलाई एमालेले गर्नसक्ला भनेर प्रश्न गरे पनि थालेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताउनुभयो । अध्यक्ष ओली भने अस्वस्थ भएपछि दोस्रो दिनको बैठकमा जानुभएको थिएन । अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्नेजस्ता समस्या देखिएकाले घरमा आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच