सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडाैं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले स्थापनाको १४ औँ बार्षिकोत्सव समारोह प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा बैशाख १० गते सोमबार सम्पन्न गरेको छ ।

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहितबहादुरतामाङज्यूको प्रमुखआतिथ्यतामा आयोजित कार्यक्रममा ‘नेपाल सङ्गीततथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०८०’ घोषणा, स्रष्टा सम्मान तथा विविध साँस्कृतिक प्रस्तुुतिहरु सहित प्रज्ञा-प्रतिष्ठानले १४ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि माननीय मन्त्री हितमान तामाङले वार्षिकोत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेका उपलब्धीहरु, सम्पन्न गर्न बाँकी रहेका कामहरुको बारेमा समीक्षा गर्नुपर्ने बताउँनुहुँदै प्रज्ञा प्रतिष्ठानका लागि मन्त्रालयबाट आगामी आर्थिक वर्षमा सम्बोधन गरिनुपर्ने विषयमा आफू र मन्त्रालय सकारात्मक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रि प्रज्ञा पुरस्कार-२०८०’ का लागि छनौट हुनु भएका स्रष्टा तथा सर्जकहरुको नामावली सार्वजनिक गर्नुभयो । पुरस्कारको नामावली सार्वजनिक गर्दै कुलपति निशा शर्माले प्रज्ञा-प्रतिष्ठान स्रष्टा तथा सर्जकहरुको संस्था भएकाले उहाँहरुको सल्लाह र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय कृष्ण अधिकारी, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय जनसांस्कृतिक संघ नेपालका कार्यवहाक अध्यक्ष भिम कुमाखी मल्ललगायतले वार्षिकोत्सवका अवसरमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानको अवसर र चुनौतिका बारेमा चर्चा गर्नुहुँदै प्रज्ञा प्रतिष्ठानसँग विविध कार्यक्रम आयोजना गर्नका लागि सुविधा सम्पन्न प्रेक्षालयको अभाव रहेको बताउनुभयो ।

पुरस्कारका लागि छनौट हुनुभएका स्रष्टाहरु रङ्गमञ्च विधातर्फ वरिष्ठ नाट्यकर्मीतथा अभिनेता हरिहर शर्मा, शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक चन्दन कुमार श्रेष्ठ, सङ्गीत विधा तर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य विधातर्फ जोगेन्द्र के.सी., नाटक विधातर्फ नाट्यकर्मी गोपाल देवान र लोक सङ्गीत विधातर्फ बमबहादुर कार्की रहनुभएको छ ।

वार्षिकोत्सव कार्यक्रमका अवसरमा नाटक, नृत्य र सङ्गीतका क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रुपमा योगदान पुर्‍याएका संस्था तथा स्रष्टाहरुलाई सम्मान गरिएको छ । संस्थागततर्फ नृत्य निर्देशक संघ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भए भने व्यक्तिगततर्फ वरिष्ठ नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, के.पी पौडेल, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाल, वरिष्ठ गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, वरिष्ठ सङ्गीतकर्मी संगीता प्रधान, वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ नाट्यकर्मी अविनाश श्रेष्ठ, वरिष्ठ नाटक निर्देशक अशेष मल्ल, सङ्गीतकर्मी रुपकुमार राई, वरिष्ठ नाट्यकर्मी बद्री अधिकारी र सङ्गीतकर्मी विष्णु अधिकारीलगायत प्रशंसा पत्र सहित सम्मानित हुनुभएको छ ।

प्रज्ञा-प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराद्वारा सहजीकरण गरिएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको १४ वर्षे यात्राको छोटो भिडियो सामाग्री प्रसारण गरिनुका साथै प्राज्ञ परिषद सदस्य कर्ण बहादुर गौतम तथा गायिका केशरी घर्तीले गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाकाको गीत प्रस्तुत गर्नु भएको थियो । त्यस्तै नृत्य निर्देशक संघ नेपालका कलाकारहरुद्वारा राष्ट्रिय भावनाको गीत तथा लोक गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकाकुलपतिभुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुमकेली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य बखत बहादुर हमाल, डक्टर राई, टिका पुन, प्राज्ञ सभा सदस्य राधा राई, पुरु लमसाल, शान्ति कठायतलगायत वरिष्ठ सङ्गीतकर्मी, नृत्यकर्मी तथा नाट्यकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?