म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले पछिल्लो समय आफ्नो क्षेत्र भित्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र पुनःनिर्माणमा चासो देखाउन थालेका छन् ।
संरक्षण र मर्मत सम्हारको अभावमा वर्षौदेखि अलपत्र अवस्थामा रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको मर्मत,पुनःनिर्माण,संरक्षण तथा तिनको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्र बनाउन यहाँका स्थानीय तहहरु लागिपरेका हुन् ।
तत्कालिन पर्वत राज्यको मुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर,ढोलठान,डढेकोट ताकम र ज्यामरुककोटमा रहेको कतिपय ऐतिहासिक देवल र पुरातात्विक सम्पदाहरु पुननिर्माण भइसकेको छन् भने कतिपय सम्पदाहरुको पुननिर्माण तथा मर्मत सम्हारको काम भैरहेको छ ।
संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल,मठ मन्दिर,कुवा,धारा,ओखल आदि सम्पदाहरुप्रति स्थानीय तहका जनप्रतिनिधि र समुदायले चासो देखाउन थालेपछि प्रदेश र संघीय सरकारले समेत आवश्यक बजेट दिन थालेको यहाँका जनप्रतिनिधिहरु बताउछन् ।
कतिपय स्थानीय तहहरुमा रहेका ऐतिहासिक,प्राकृतिक,धार्मिक र पुरातात्विक सम्पदाहरु स्थानीय तहबाट नै बजेट विनियोजन गरी सुधार, मर्मत सम्हार तथा पुननिर्माण समेत गरिएको छ ।
बेनी नगरपालिका वडा नं ७ र वडा नं ६ मा रहेका ऐतिहासिक तथा प्राकृतिक महत्वका चौतारी,मठ,झोलुङेगे पुल,पोखरी,पाटी पौवा आदि नगरपालिकाको बजेटबाट नै पुननिर्माण भएका हुन् ।
त्यसैगरी धवलागिरि गाउँपालिका वडा नं ७ ताकममा रहेको ऐतिहासिक ताकम कोतको पुननिर्माण पछि यो ऐतिहासिक कोत अहिले जिल्लाकै आकर्षक पर्यटकीय स्थल बनेको स्थानीय गोपाल आचार्यले बताउनु भयाे ।
त्यस्तै तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोट स्थित खड्गभवानी कोतलाई गण्डकी प्रदेश सरकार,बेनी नगरपालिका र समुदायले पर्यटकीय स्थल बनाउनका लागि लगानी गरिरहेका छन् ।
यहाँ पूर्वाधारहरु निर्माण हुन थालेपछि सामरिक र ऐतिहासिक स्थल ज्यामरुककोटको अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकहरु आउन थालेका हुन् ।
विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।
करिव ६ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकाको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन् । विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन् ।
अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नविग्रने गरी पुनः निर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुनः निर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनु भयो ।
‘पुनः निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ । पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ’, वडाध्यक्ष कार्कीले भन्नुभयो ,‘ऐतिहासिक कोतको गर्वगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ ।’
खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनु भयो । उहाँका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।
समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब छ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएका कार्कीको भनाइ छ ।
म्याग्दीका विभिन्न ठाउँहरुमा ढुंगैढुंगाले बनेका शिखर शैलीका थुम्का,देवल र मठहरु रहेका छन् । त्यसैगरी पर्वते मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएका ओखल र कुवाहरु पनि यहाँ रहेका र ती सम्पदाहरुको संरक्षणमा पनि स्थानीय तहहरुले चासो दिनुपर्ने स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।
विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको म्याग्दीका इतिहासकार तथा २०७७ सालको मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गर्नुभएको छ ।
चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिकैमा रहेको छ । यहाँ प्रशस्तै ऐतिहासिक सम्पदाहरु रहेका र ती सम्पदाहरुको संरक्षण गर्न पहल सुरु भएको स्थानीय यामबहादुर बानियाँले बताउनुभयो ।
ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दासमेत रहनुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले बताउनुभयो ।
समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर बानियाँले जानकारी दिनुभयो ।
बानियाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेको भए पनि बल्ल यस ठाउँको स्वरुप फेरिन थालेको छ । ढोलठान क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ ।”
ढोलठानबाट पूर्वोत्तरतर्फ माछापुच्छ्र्रे, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमालका लर्कनहरु आँखैअगाडि ठिंग उभिएको देखिन्छ । ढोलठानको शिरमा पर्ने केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले अति पवित्रतम गाजने गाउँ मादक पदार्थ र मांसाहार निषेधित नेपालकै उदाहरणीय गाउँ हो । यस गाउँमा नै प्रशिद्ध जगन्नाथ मन्दिर रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच