नइका तीन कृति लोकार्पण

Read Time = 2 mins

काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति श्री वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो । उक्त कृतिका सम्पादक रहनु भएका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताउनुभयो ।

वानीरा फाउण्डेशनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्रा.डा.वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललित त्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘मोदनाथ प्रश्रित : भुइँदेखि शिखरसम्म’ नामक जीवनी ग्रन्थको पनि लोकार्पण गर्नुभयो । यी तीनवटै कृति नइ प्रकाशनद्वारा प्रकाशित भएका हुन् ।

वानीरा फाउण्डेशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित उक्त समारोहमा डा.मोदनाथ प्रश्रित, प्रा.डा.वीणा पौड्याल, अणुराज जोशी, वानीरा फाउण्डेशनका संरक्षक इन्जिनियर शंकर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईंबाट मन्तव्य प्रस्तुत भएको थियो ।

वानीरा फाउण्डेसनका कार्यक्रम संयोजक भगवती बस्नेतद्वारा सञ्चालित उक्त समारोह वानीरा फाउण्डेशन भवनमा सम्पन्न भएको थियो । नेपाली साहित्यको इतिहासमा जनस्तरबाट स्थापना भएको स्रष्टाको संग्र्रहालय वानीरा फाउण्डेशन नै पहिलो मानिन्छ ।

वैरागी काइँलाबाट फाउण्डेशन भवनको प्रांग्रणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?